गृहपृष्ठ विद्युत वक्यौता नबुझाउने ठूला उद्योग, २० अर्बमध्ये शिवम् सिमेन्ट एक्लैको २२८ करोड
विद्युत वक्यौता नबुझाउने ठूला उद्योग, २० अर्बमध्ये शिवम् सिमेन्ट एक्लैको २२८ करोड

कुलमानलाई काँधमा बोकेर लोडसेटिङ अन्त्यको जस खाँदै दिनमा दशपटक झ्याप्पझ्याप्प लाइन काट्ने सरकारका प्रधानमन्त्री हुन्, पुष्पकमल दाहाल प्रचण्ड । र प्रचण्डकै वरिपरि सुटेडबुटेड भएर उभिएका यी दर्जन जतिपात्र विद्युत वक्यौता नतिर्ने उद्याेगीका नेता हुन् । यीनीहरु यहाँ उद्योगहरुले तिर्न बाँकी रहेको झण्डै २० अर्ब रोकिदिन माग गर्दै प्रधानमन्त्रीलाई सेतो कागज बुझाईरहेका छन् ।
लगत्तै प्रधानमन्त्रीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फोन गर्छन्, र भन्छन्, ‘त्यो उद्योगबाट उठाउनुपर्ने २० अर्ब छ नी, त्यो रोकिदिनुपर्यो ।’ उहाँहरु मेरोसम्मै आईपुग्नुभयो क्या । रोकिदिनुस् है । विद्युत नकाट्नुस् ।’
प्रधानमन्त्रीको फोन लगत्तै कुलमान पनि आफैले दिएको १५ दिने अल्टिमेटमबाट पछि हट्छन् । भदौ १७ मा सूचना जारी गर्दै प्राधिकरण दिएको अल्टिमेटम असोज १ मा सकिँदैछ । तर वक्यौता हाललाई नउठाउने सहमति भइसक्यो । यसको मतलब, विद्युत वक्यौता तिर्न आनाकानी गरिरहेका उद्योगीहरुलाई ‘के खोज्छस् दृष्टिविहिन आँखो’ भने जस्तै भइरहेको छ । तर देशलाई भने २० अर्बको नोक्सानी हुँदैछ । किनकि शक्तिकै आँडमा पटकपटक कुलमान जस्ता राष्ट्रसेवकलाई झुक्यानमा पार्दै आएका उद्योगीहरुले विद्युत खपत बाफतको तिर्नु पर्ने महशुल तिरेका छैनन् । जबजब कुलमानहरुले उर्दी चलाउँछन्, प्रधानमन्त्रीको दैलो ढुक्न उद्योगीहरु पुगिहाल्छन् । जसको नोक्सान देशले ब्यहार्नु परेको छ । ‘६२ वटा ग्राहकहरुको विद्युत महशुल बाफत पैसा उठाउन बाँकी छ ।’, नेपाल विद्युत प्राधिकरणका उप-प्रवन्ध निर्देशक मनोज सिलवालले भने, ‘रकम करिब २० अर्ब हो । उहाँहरुको जुन वक्यौता छ, त्यो अहिले नियमित तिर्दै गएका वक्यौतामा कट्टा हुँदै जाने हो । र नियमित विलमा जरिवाना बढ्दै जाने भएकाले वक्यौता पनि बढ्दै गएको छ ।’
उद्योगीहरुले राज्यलाई तिर्न बाँकी रहेको वक्यौता रकम हेर्दा कहालीलाग्दो तथ्यांक छ । कुलमान पनि नउठेको पैसा देखाएर प्राधिकरणलाई नाफामा पुर्याएको जस खाँदैछन् । तर गतबर्षभन्दा यो बर्ष नाफा घटेको छ । गत वर्षको तुलनामा एक अर्ब ४ करोड रुपैयाँ नाफा घटेको छ । उठाउनुपर्ने डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकमसमेत कुलमानले उठाउन सकिरहेका छैन । जबकि यो विद्युत सर्वसाधारणको भागबाट काटेर उद्योगीलाई दिइएको हो । अर्थात् सर्वसाधारणको घरमा लोडसेडिङ हुँदा उनीहरुको उद्योगमा बत्ति जाँदैन थियो । अहिले बत्ति गइरहने समस्याले सर्वसाधारणलाई हैरान बनाउँदा उद्योगहरुमा बत्ति जाँदैन । यसैलाई डेडिकेटेड र ट्रंक लाइन भनिएको हो । तर आमसर्वसाधारणको भाग खोसेर उनीहरुमाथि थुपारिएको सुविधाकै पैसा राज्यले पाएको छैन । योभन्दा ठूलो देशप्रतिको बेइमानी अरु के हुनसक्छ ।
अब यो तथ्यांक हेरौं ।
उद्योगहरुबाट उठ्न बाँकी रहेको झण्डै २० अर्ब रुपैयाँ मध्ये २ अर्बभन्दा धेरै वक्यौता शिवम सिमेन्टले तिर्न बाँकी छ । यो श्री शिवम सिमेन्ट लिमिटेडले १५ हजार केभिए डेडिकेट फिडर प्रयोग गरेबाफत राज्यलाई तिर्नुपर्ने रकमको विवरण हो । उसले २ अर्ब २८ करोड ४२ लाख १ हजार पाँच सय ८२ रुपैयाँ ७३ पैसा वक्यौता तिर्न बाँकी छ । यो वक्यौता २०८० साउन ४ सम्मको मात्रै हो । यो रकममा थप शुल्क र जरिवाना जोडिएको छैन ।यत्रो सिमेन्ट उद्योगले राज्यबाट विद्युतको सेवा लिएबाफत महसुल नतिर्नु लज्जास्पद छ । यो सिमेन्ट उद्योगका अध्यक्ष गौरव गोयल हुन् । यसका म्यानेजिङ डाईरेक्टर रघुनान्दन मारु हुन् । रोहित गुप्ता निर्देशक रहेको यो उद्योगमा शारडा ग्रुपका गौरभ शारडा पनि निर्देशक छन् जसले राज्यलाई नै बठ्याई गरेर ठग्ने नियत देखाएका छन् ।

अरुत अरु सरकारकै स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगले समेत ५ करोड ७५ लाख १४ हजार ६ सय ७७ रुपैयाँ १३ पैसा तिर्न बाँकी छ । त्यसमा थप दुई लाख ३४ हजार तीन सय ८७ रुपैयाँ ७४ पैसा पनि हेटौडा सिमेन्टकै नाम वक्यौता रहेको छ ।यी दुई सिमेन्ट उद्योगको मात्रै २ अर्ब ३४ करोड १९ लाख ५ हजार ६ सय ४७ रुपैयाँ ६० पैसा विद्युत वक्यौता बाँकी छ । त्यसमा घोराही सिमेन्ट, जगदम्बा सिमेन्ट, युनाइटेड सिमेन्ट लगायतका अधिकांश उद्योगहरुले समेत विद्युत महशुल बापतको राज्यलाई तिर्नु पर्ने बक्यौता तिरेका छैनन् ।
विराटनगरको रघुपति जुटमिलको २० करोड ४९ लाख ६६ हजार ७ सय ४९ रुपैयाँ ५३ पैसा वक्यौता उठ्न बाँकी छ । विराटनगरकै बाबा जुटमिलको ५ करोड ४६ लाख २४ हजार ७ सय ४३ रुपैयाँ ९८ पैसा बाँकी छ । यसैगरि विराटनगर जुटमिलको १ करोड १० लाख ६९ हजार १ सय २० रुपैयाँ ३८ पैसा तिर्न बाँकी छ । गएको असार मसान्तसम्मको मात्रै हो । यी त केही प्रतिनिधिमात्रै हुन्, औद्योगिक क्षेत्रको मात्रै १९ अर्ब ५४ करोड ९८ लाख ८७ हजार ४ सय ५३ रुपैयाँ रहेको छ । जसमध्ये सबैभन्दा धेरै शिवम सिमेन्टको देखिएको छ ।

देशलाई टाट पल्टाउने त यीनीहरु पनि रहेछन् । सर्वसाधारणलाई अन्धकारमा राखेर उद्योगी व्यापारीलाई डेडिकेटेड तथा ट्रंक लाइनबाट विजुली दिने र वक्यौता नतिर्दाा पनि कानमा तेल हालेर बसेको भन्दै संसदबाटै कुलमान घिसिङलाई निलम्बन गर्न माग गरिएको छ ।
०००
प्रकाशित समय : १६:०० बजे