गृहपृष्ठ मोहनबहादुरको शासनमा कान्तिद्वारा अबोध बालिकाको हत्या
मोहनबहादुरको शासनमा कान्तिद्वारा अबोध बालिकाको हत्या

यो देशमा मोहनबहादुर बस्नेत नाम गरेका एकजना स्वास्थ्यमन्त्री छन् । देउवाको आशिर्वाद पाएपछि स्वास्थ्यमन्त्री भएका यीनलाई सम्भवतः नागरिकले कसरी उपचार पाइरहेका छन् भन्ने पनि थाहा छैन । मन्त्री भएपछि रणभूल्ल भएका यीनीलाई काठमाडौं महानगरका मेयर बालेन शाहले झस्काएका थिए । गरिब विपन्न नागरिकले उपचारमा छुट नपाएको गुनासो लिएर बालेन यीनकै कार्यकक्षमा पुगेपछि निद्राबाट ब्युँझिएजसरी यीनी रेकी गर्न एक दुईवटा अस्पताल पनि धाए । तर उपलब्धी केही देखिएन । सम्भवतः प्रचण्ड क्याविनेटका असफलमन्त्रीको सूचीमा अहिले यीनको नाम अग्रभागमा छ । यीनकै माताहतमा रहेको कान्ति बाल अस्पतालले सोमबार एक पाँच बर्षिया बालिकाको ज्यान लिएको छ । दुई घन्टा पालो कुर्दा पनि उपचार नपाएर अस्पतालको इमर्जेन्सी कक्षमै मकवानपुरको थाहा नगरपालिका–१० कि रेजिशा गोपालीले प्राण त्यागेकी छन् ।
रेजिशाको मृत्युपछि आफन्तीले अस्पतालमा हुलदंगा गरेका छन् । निरन्तरको बान्ता र ज्वरोले थलिएपछि रेजिशालाई उनकी आमा र हजुरबुबाले अस्पतालको इमर्जेन्सीमा पुर्याएका थिए । तर कर्मचारीले डाक्टर कहाँ पठाउनुकोे सट्टा टिकट काटेर पालो कुर्न अह्राए । रेजिशाको अवस्था गम्भीर हुँदैछ भन्ने पनि नबुझेपछि हजुरबुबाले हारगुहार गरेका थिए । नातिनी काखमा रोइरहेकी थिइन । गार्डले जतिसुकै गाह्रो भए पनि लाइनमै बस्न भनेपछि कुर्नुबाहेकको विकल्प थिएन । तरपनि नातिनीको शिथिल अवस्था देखेपछि उनले गार्डलाई हातै जोडेर छिटो पालो मिलाइदिन बिन्ती गरे । सेक्युरिटी गार्डले उल्टै झपारेपछि कृष्णको केही चलेन । ईमरजेन्सीमा कार्यरत कसैले पनि उनीहरुको गुहारलाई वास्ता गरेनन् । झण्डै ५ बजे अस्पतालको इमर्जेन्सीमा लगिएकी अबोध बालिकाले अन्ततः हजुरबुबाको काखमा तड्पिँदै ७ बजेर १० मिनेट जाँदा प्राण त्यागिन् । अहिले हजुरबुबा रेजिशाको अन्तिम संस्कारका लागि मकवानपुरस्थित घर फर्किएका छन् । आफ्नी नातिनीले ब्यहोरेको नियती कसैले ब्यहोर्न नपरोस् भन्दै गुहार गरिरहेका छन् ।
रेजिशाको मृत्यु अस्पतालकै लापरबाहीले भएकोमा दुईमत छैन । यसको स्वीकार अस्पतालले पनि गरिसकेको छ । अझ उल्टै डाक्टरहरुले ‘हामीबाट गल्ती भयो, आईन्दा यस्तो हुँदैन’ भन्ने आशयमा एक कागज गरेका छन् । के डाक्टरले माफी माग्दैमा रेजिशा फेरि जिउँदो हुन्छिन् ? आफन्तीहरु अहिले यो प्रश्न गर्छन । किनकि यसको जिम्मेवारी उठाउन अस्पतालले आनाकानी गरिरहेको छ । अहिले यो विषयमा सांसदहरुले संसदमै आवाज उठाएका छन् । आफ्नै पार्टीका स्वास्थ्यमन्त्रीमाथि प्रश्न उठाउँदै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अत्यावश्यक सेवामा लाइन लाग्नु नपर्ने नियम नै भएको भन्दै बिरामीको मृत्युबारे अस्पताल गम्भीर नभएको दाबी गरेका छन् ।
त्यस्तै नेकपा एमालेका सांसद महेश बर्ताैलाले अस्पतालको चरम गैरजिम्मेवारपनले पाँच बर्षिया बालिकाको ज्यान गएको भन्दै अविलम्ब न्याय र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
इमर्जेन्सीमै बालिकाको मृत्यु भइसकेपछि अस्पतालका निर्देशक डा. पंकज रायले बुधबार एक सूचना जारी गर्दै पाँचदिनको समय दिएर छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । तर कान्तिकै विषयले स्वास्थ्य क्षेत्र बद्नाम भइसक्दासमेत सरकारबाट कुनै पहल थालिएको छैन । यसअघि यो अस्पतालको निरीक्षण स्वास्थ्यमन्त्री बस्नेतले पनि गरेका थिए । आफ्नो कार्यकालको सय दिन पुरा भएपछि प्रधानमन्त्रीलाई साक्षी राखेर उपचार नपाएर कोही नमर्ने उद्घोष पनि गरेका थिए । तर त्यो बोली उनको उद्घोषमै सीमित बनेको छ ।
अब यसको नैतिक जिम्मेवारी उठाउने पालो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतकै हो । तर उनी यतिबेला देशमा छैनन्, विदेशमा सयर गरिरहेका छन् । यसैपनि मन्त्री बस्नेत विगतदेखि विवादित छबिका पात्र हुन् । सरुवा नदिए मर्छु भन्ने कर्मचारीलाई ‘डोरी किन्दिन्छु मेरै ढोकामा आएर झुण्डिनू’ भन्ने अभिव्यक्ति दिने पनि यीनै हुन् । अब यीनको पालामा बिरामी उपचार नपाएर मर्नु वा कर्मचारी झुण्डिएर, एकै बनेको छ ।
प्रधानमन्त्रीले अब हरेक क्षेत्रमा लाइन लाग्ने अवस्थाको अन्त्य हुन्छ भनेको प्रधानमन्त्री भएकै भोलिपल्ट हो । तर अहिले पनि लाइन बिना काम हुँदैन । यातायातमा लाइसेन्स लिँदा लाइन बसौंला ठिकै छ । पासपोर्ट बनाउँदा पनि लाइनमै बसौंला ठिकै छ । तर अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा लाइन लागेरै मर्नु पर्ने अवस्थाको अन्त्य हुनु नपर्ने हो ? त्यो पनि इमरजेन्सी कक्षमै पनि लाइन लाग्नुपर्ने ? कि अस्पतालको गैरजिम्मेवार व्यवहारकै कारण रेजिशाले ज्यान जानु मृतकको सूचीमा अर्काे एक नाम थपिनु मात्रै हो ? आज पनि हरेक दिन अस्पतालको लापरबाहीकै कारण ज्यान गुमाउनेको संख्या उल्लेख्य छ । यसरी अकालमा ज्यान गुमाएका परिवारका लागि यो अपूरणीय क्षति हो । रेजिशाकी आमा रिताको कोख रित्तिएको छ । छोरीलाई राम्रो शिक्षा दिएर सुन्दर भविष्य कोर्न एक वर्षदेखि परदेशमा पसिना बगाइरहेका बुबाको सपना उजाडिएको छ । उपचार नपाएर कर्णाली र सुदूरका जनता त मरिरहेकै छन् । सुदूरबाट दुईचार पैसाको जोहो गरि काठमाडौं छिर्नेहरु पनि के उपचार नपाएरै मर्नुपर्ने विडम्बनाको अन्त्य कहिले होला ? कसले गर्ला ?
प्रकाशित समय : ०९:०० बजे