गृहपृष्ठ सरकारले १० अर्ब आन्तरिक ऋण उठाँउदै, आइतबार बोलकबोल
सरकारले १० अर्ब आन्तरिक ऋण उठाँउदै, आइतबार बोलकबोल

सरकारले फेरि १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार सरकारले विकास ऋणपत्र २०८६ ‘झ’ मार्फत ६ वर्ष अवधिको आन्तरिक ऋण उठाउने भएको हो ।
ऋणपत्रको बोलकबोल भदौ २४ गते ३ बजेसम्म हुनेछ भने निष्कासन भदौ २५ गते हुनेछ । ब्याजदर बोलकबोलबाटै तय हुनेछ ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट(अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने विभागले जनाएको छ ।
घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्नेछ ।
बैंक तथा वित्तीय संस्था, गैर(बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद कार्यमा सहभागी हुन सक्नेछन् ।
ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । तर, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ८।५ अर्ब र १।५ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।
प्रकाशित समय : १२:३१ बजे