गृहपृष्ठ भुटान एयरलाइन्सका फ्लाईटहरु भदौ ३० गतेबाट सुचारु हुने
भुटान एयरलाइन्सका फ्लाईटहरु भदौ ३० गतेबाट सुचारु हुने

थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३) ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ ।
उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था) ले यसको जानकारी दिएको हो ।
यी उडानहरु भाद्र ३० गतेबाट आइतवार, सोमबार, बुधबार, र शनिबार गरि साप्ताहिक रुपमा ४ चोटि हुने भएका छन् । यी उडानहरुले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रुपमा जोड्नेछन् ।
निर्धारित फ्लाईटहरु पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः सुचारु हुने भएको हो ।
“थन्डर ड्रागनको भूमि” भनेर चिनिने भुटानले पर्यटन प्रवद्र्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ बाट भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौँ उडानको शुरुवात गरेको थियो ।
भुटान–काठमाडौं फ्लाइट पुनः सुचारु भएकोमा खुशी व्यक्त गर्दै भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले भने, “एक निजी एयरलाइन्स भएका कारण हामीले कोभिड–१९ महामारीको समयमा उडानहरू रद्द गर्ने वा रिरुट गर्ने जस्ता कठिन निर्णयहरू लिनुपर्ने जस्ता चुनौतीहरूको सामना गर्नुपरेको थियो।
यसले अवश्य पनि हाम्रा ग्राहकहरुलाई असुविधा भएको थियो र हाम्रो विश्वसनीयतामा पनि प्रश्न उत्पन्न भएको थियो भन्ने हामीलाई अवगत छ । यिनै कुराहरुलाई मध्यनजर गर्दै यसपटक भने हामी उडान तालिका नियमित राख्न प्रतिबद्ध छौँ ।
हामी हाम्रा सम्पूर्ण ग्राहकहरुलाई यो विश्वास दिलाउन चाहन्छौँ कि हामी जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि उडानहरु अब नियमित राख्नेछौँ र विश्वसनीय वायुसेवाको रुपमा आफुलाई स्थापित गराउनेछौँ ।”
प्रकाशित समय : १९:२५ बजे