गृहपृष्ठ ‘रेमिट्यान्स धेरै आयो भनेर सरकार मख्ख छ, देशको अर्थतन्त्र डामाडोल भइसक्यो’
‘रेमिट्यान्स धेरै आयो भनेर सरकार मख्ख छ, देशको अर्थतन्त्र डामाडोल भइसक्यो’

अहिले बैंकहरुमा केही सुधार भएको भनिएता पनि बैंकहरुको भित्रि अवस्था निकै कठिन छ । कोभिड–१९ का कारण होस् वा हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण, अथवा विश्वव्यापी आर्थिक मन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ । व्यवसायीहरु देशको नीति र बैंकहरुले गर्ने नियम परिवर्तनलाई लिएर एकदमै संवेदनशील भएका छन् । बैंकहरुमा अहिले पर्याप्त रुपमा निक्षेप संकलन भइरहेको छ । तर कर्जा प्रवाह भने सोचेजस्तो रुपमा हुन सकेको छैन । कर्जा प्रवाहका लागि बैंकहरुले विभिन्न किसिमका स्किमहरु ल्याउँदा पनि कर्जा प्रवाहमा खासै उत्साह देखिएको छैन । यसबाट के प्रष्ट हुन्छ भने अहिले मानिसहरु खर्च गर्न डराइरहेका छन् । व्यापार व्यवसाय दिनदिनै घट्दो अवस्थामा छ । जसका कारण बैंकले ऋण दिन खोज्दा पनि व्यवसायीहरु त्यसप्रति आकर्षित हुन सकेका छैनन् ।
यसको प्रभाव देशको राजश्वमा परिरहेको छ । राजश्व कुनै पनि देशको आम्दानीको मुख्य स्रोत हो । तर अहिले सरकारको राजश्व संकलन निकै कम मात्रामा भइरहेको छ।
अहिलेको अवस्था सिर्जना हुनुमा सरकार नै मुख्य जिम्मेवार रहेको पूर्वबैंकर तथा एनआरएन डेभलपमेन्ट फण्डका कार्यकारी अधिकृत अनलराज भट्टराईको भनाइ छ । अहिले सबै क्षेत्रमा भएको आर्थिक मन्दीका कारण देशको अवस्था डामाडोल भएको उनी बताँउछन् । ‘सरकारले अहिले ल्याएको नीति संशोधनले पनि खास फरक पार्दैन’, उनले भने, ‘कर्जाको दायरा केही फराकिलो बनाए पनि अहिले कुनै क्षेत्रमा पनि व्यवसाय नभएको र पैसाको चक्र नघुमेकाले यसले केही प्रभाव पार्दैन ।’
उनले अहिले निजी क्षेत्रका व्यवसायीहरुले मनोमानी रुपमा नीति ल्याउनेभन्दा पनि व्यवसाय गर्ने सहज वातावरण निर्माण गर्नुपर्ने समय आएको न्युजकारोबारलाई बताए । अघिल्लो वर्ष ४० प्रतिशतले बढेको कर्जा प्रवाह गत वर्ष भने ३ प्रतिशतले मात्र वृद्धि भएको छ । ‘अहिले कर्जा लिन ऋणीहरु डराइरहेको अवस्था छ । पहिले लिएको कर्जा नै तिर्न सकिरहेका छैनन्, व्यवसाय चलायमान छैन । उद्योगहरु लगातार बन्द हुने अवस्थामा छन् । घरजग्गाको कारोबार ठप्प छ । यस्तो अवस्थामा कसैले पनि ऋण लिन चाहँदैनन् । बरु मान्छेहरु थारै खाँउ पुरानै लगाउ भन्ने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘मान्छेहरुले खर्च नगरेपछि निक्षेप त बढेको छ तर व्यवसाय भरपुर मात्रामा चलायमान हुन सकेको छैन ।’
भूकम्पले शिथिल भएको परिवेशलाई सरकारले पनि केही सहजता प्रदान गरेपछि सहज भएको व्यवसाय पुनः कोरोनाले थप मारमा परेको उनको भनाइ छ । ‘कोरोनाकालमा पनि बैंकहरुले र सरकारले दिएका स्किमहरुले गर्दा अब केही सुधार होला भन्ने थियो । तर त्यहीबेला सरकारले सबै पोलिसी कटौती गरिदियो । जसको प्रभाव अहिले बजारमा देखिएको छ,’ उनले भने ।
व्यापारमा शिथिलता आएका कारणले नै अर्थतन्त्रमा त्यसको प्रभाव परेको भट्टराईले बताए । अहिले काठमाडौंका करिब ५० प्रतिशत सटरहरु बन्द भएका छन् । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोडमा टुलेट लेखेर टाँसिएका छन् । व्यापार नहुँदा व्यवसायीहरुलाई पहिले लिएको कर्जा नै चुक्ता गर्नका लागि गाह्रो भइरहेको छ । यसले खराब कर्जाको अनुपात पनि बढ्दै गइरहेकाले यस्तो अप्ठ्यारो आएको भट्टराईले बताए । उनी भन्छन्, ‘अहिले म सुनिरहेको हुन्छु, अनलाइन व्यापारले गर्दा सटरहरु बन्द भएको भनेर । तर वास्तविकता त्यो होइन । अहिले अनलाइनमा नै निर्भर हुने अवस्थामा नेपाल पुगिसकेको छैन । किनकि नेपालमा अहिले पनि बजार गएर नै सामान खरिद गर्ने परम्परा रहेको छ ।’
कहिले हुन्छ सुधार ?
अहिलेको अवस्थामा म ठीक अरु गलत भन्ने धारणाले गर्दा यो समस्या आएको भट्टराई बताउँछन् । अब यो समस्या सुधार हुनका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्ने उनको भनाइ छ । ‘यो चाडपर्वको समयमा व्यवसाय केही चलायमान हुन्छ कि भन्ने आश हो ।’, उनले भने, ‘फेरि यो कसले गर्छ भनेर मुख ताक्दा ताक्दै पनि सुधारको पाटो नखोजिएको जस्तो पनि लाग्छ । सरकार पनि रेमिट्यान्स धेरै आयो भनेर मख्ख परेर बसेको छ । देशको आन्तरिक अवस्था दयनीय भएको वास्ता गरेको छैन । सञ्चिति धेरै छ भनेर दंग परेर बसेको छ ।’ रेमिट्यान्सले मात्रै अर्थतन्त्र चलायमान नहुने उनी बताउँछन् ।
यस्तै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि कुनै सुझाव दिँदा पनि सरकारले त्यसमा स्वार्थ मात्रै देखेको बताएका छन् । निजी क्षेत्रका तर्फबाट देशको अर्थतन्त्रमा भएका समस्याहरुको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिरहँदा व्यापारीले आफ्ना लागि मात्र कुरा उठाए भन्नेजस्ता व्यवहार गर्ने गरेको उनको भनाइ छ । जसले गर्दा देशको अर्थतन्त्र थप समस्यामा परेको उनले बताए ।
अध्यक्ष ढकालले भने, ‘विगतमा पनि कहिले नेपाल श्रीलंका हुने भयो भन्ने त्रास देखाउने र अनावश्यक नीति अख्तियार गर्ने काम भयो । कहिले निर्यात प्रतिबन्धजस्ता कुरामा हामीले सरकारलाई सुझाउँदा व्यापारीले आफ्ना मात्र कुरा गरे भन्ने आरोप लाग्यो । जसले गर्दा यस्तो अवस्था आएको हो ।’ अब सबै क्षेत्रसँग छलफल गरी समग्र देशको अर्थतन्त्रका विषयमा आवश्यक नीति नियम बनाएर अघि बढ्नुपर्ने उनको सुझाव छ ।
प्रकाशित समय : ११:०० बजे