गृहपृष्ठ अब पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पदमै बसिरहने ?
अब पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पदमै बसिरहने ?
गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुनिरहने समय सकिएको छ । गृहमन्त्रीले भने, ‘कुनै टार वा कोटलाई छोड्दिन्न ।’ हामी पत्यायौं । गृहमन्त्रीले भने, ‘दोषी उम्किँदैन, निर्दाेष फस्दैन ।’ तैपनि हामीले पत्यायौं । सुनिरह्यौं । तर भूमिका देखिएकाहरुलाई समेत उनले अनुसन्धानको दायरामा ल्याउन सकेनन्, चाहेनन् । अब पनि उनीलाई पत्याईरहनुको औचित्य के ? हामीलाई पुरापुर विश्वास थियो । प्रचण्ड नेतृत्वको सरकारमा दर्जन दल सामेल छन् । २५ जनामन्त्री छन् । तर आशा भरोशा भएको अनुहार नारायणकाजीमात्रै थिए । यो क्याविनेटमा कसैमाथि विश्वास थियो भने, त्यो नारायणकाजीमाथि मात्रै थियो । तर विश्वास, विश्वासघातमा बदलिएको छ । आशामा एकाएक कालो बादल मडारिएको छ । किनकि देशलाई भ्रष्टाचारको कालो जालोबाट निकाल्ने काममा नारायणकाजी एकपछि अर्काे खराब साबित भइरहेका छन् । यो हामीले आत्तिएर, प्रभावित भएर वा प्रतिशोध साँधेर पटक्कै भनेका होइन । तर कारण जेसुकै होस्, नारायणकाजी अब हामीले विश्वास र आश गरेको भूमिका छैनन् । सुन तस्करीमा आफ्नै डिजीको भूमिका प्रस्ट देखिँदा पनि पक्राउ गर्नुको साटो मन्त्रालय भित्र्याएर सुनपानी छर्किने काम भएपछि अब भरोशा गर्नुको तुक छैन । यसकारण हामी भन्दैछौं, नारायणकाजी अब पनि पदमा बसिरहने ?
गृहमन्त्री नारायणकाजी श्रेष्ठ पदमा नबस्नु पर्ने १० कारणहरु
१. तस्करसँग डिल गर्ने डीजीलाई मन्त्रालय तानेर बचाएको
२. आफ्नै मताहातका डीजीको तस्करसँगको डिल बाहिरिँदा पनि चुप बसेको
३. भ्रष्टाचारको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरुवा गरेको
४. ललिता निवासमा माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई बचाएको
५. कृष्णबहादुर महरालाई नौं किलो सुनतस्करीमा बचाएको
६. सुन तस्करीको अनुसन्धान राजस्वबाट खोसेर सीआईबीलाई जिम्मा लगाएको
७. नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई अनुसन्धानमा नतानेको
८. सांसद सुनिल शर्मालाई अपरिपक्क ढंगबाट पक्राउ गरि प्रतिशोध साँधेको
९. सक्कली डाक्टरलाई नक्कली भनि प्रतिष्ठामै आँच पुर्याउने काम गरेको
१०. गोरु काटेर भोज चलाउँदा पनि कानुनी दायरामा नल्याएको
गृहमन्त्री नारायणकाजी श्रेष्ठका कुरा धेरै सुनियो । कुनै कोट वा टारलाई नछोड्ने उद्घोष पनि बोलीमै सीमित बन्यो । अन्तिममा खुट्टा कमाएर बस्नुभन्दा नारायणकाजीका लागि पदविहिन भएरै बस्नु अब उचित बन्न थालेको छ । किनकि घट्नाक्रमले त्यस्तै प्रमाणित गर्न खोजेको छ । कुनैबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्ने गर्थे, भ्रष्टाचारीको मुख हेरिँदैन, मुख हेरेर भ्रष्टाचारीको छानबिन पनि गरिँदैन । तर ओलीले जे बोले ठ्याक्कै त्यसको विरुद्ध गएर काम गरे । अहिले ओलीकै चेलो बनेर सत्ताको सिको गरिरहेका नारायणकाजीको पनि बोली एउटा काम अर्काे भइरहेको छ ।
केही बुँदागत रुपमै विश्लेषण गरौं
कारण नम्बर एक : नारायणकाजी श्रेष्ठ नेतृत्वको गृहमन्त्रालयअन्तर्गत अध्यागमन विभाग छ ।विमानस्थलबाट सुन छिराउने मुख्य भूमिका उनकै देखिने गरि तस्कर दावा छिरिङसँग महानिर्देशक झलकराम अधिकारीले डिल गरेको वीच्याट कुराकानी सार्वजनिक भएको छ । सार्वजनिक भएकै भोलिपल्ट नारायणकाजीले अधिकारीलाई मन्त्रालय तानेका छन् ।
कारण नम्बर दुई : डीजीले तस्करसँग डिल गरेको प्रष्ट आधार हुँदाहुँदै पनि पक्राउ नगर्नु र अनुसन्धानको दायरामा ल्याउनु भ्रष्टाचारीको संरक्षण हो । यसले उनी पनि यसमा सामेल छन् कि भन्ने शंका दिएको छ । अब उनकै भूमिकामाथि प्रश्न उठेको छ । हिजो विमानस्थल र सरकारकै उच्चअधिकारीको संलग्नताबिना तस्करी सम्भव छैन भन्ने आवाज उठ्दा जनता नारायणकाजीमाथि प्रश्न उठाउने आधार भेटाएका थिएनन् । अब पुरापुर बलियो आधार भेटिएको छ । नत्र पक्राउ गरि अनुसन्धान गर्नुपर्नेलाई काजीले किन बचाउँथे ?
कारण नम्बर तीन : नक्कली भुटानी शरणार्थी प्रकरणको उजागर गरि पूर्वमन्त्रीहरुलाई समातेर कारबाही गर्ने प्रहरी अधिकृतलाई नारायणकाजीले दण्ड दिएका छन् ।अवधि सकिन चार महिनाअघि नै सरुवा गरि दोस्रो चरणको अनुसन्धानलाई रफादफा गर्न काम गृहमन्त्रीबाट भएको छ । किनकि दोस्रो चरणको अनुसन्धानमा यसअघि नै नाम जोडिएकी आरजु राणालाई तान्ने गरि प्रहरी अधिकृतले अनुसन्धान अघि बढाएका थिए । तर देउवाको दबाबमा नारायणकाजीले प्रहरीकै मनोबल गिर्ने गरि साइड लगाइदिएका छन् ।
कारण नम्बर चार : सबैभन्दा अपाच्य अपराध नारायणकाजीले ललिता निवासको जग्गा प्रकरणमा गरेका छन् ।माधव–बाबुरामलाई बचाउन अदालतकै आदेशको अटेरी गर्दै बयान लिएनन् । अपहेलनाबाट बच्न ठाँडो कागजमै सीमित गरिदिए । यसले कानुनभन्दामाथि कोही हुँदैन भन्ने मान्यतालाई गृहमन्त्री चुनौती दिएका छन् । साँच्चिकै उनीहरु दोषी हुन पनि सक्छन् नहुन पनि सक्छन्, तर छानबिनको दायरामा ल्याउन गृहमन्त्रीको कर्तव्य थियो । उनी कर्तव्य विमुख भएका छन् ।
कारण नम्बर पाँच : गृहमन्त्रीले आफ्नै उद्घोषविपरित गएर आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराका बाउछोरालाई बचाए । सीआईबीले अनुसन्धानमा किटानीसाथ महरा र उनका छोरा राहुलको सुन तस्कर संगको नेक्सेस पुष्टि गरेको थियो ।
कारण नम्बर छ : सुन तस्करीको उजागर राजस्व अनुसन्धान विभागले गरेको थियो । तर अनुसन्धान गर्ने बेला नारायणकाजीले राजस्वबाट खोसेर आफ्नै मताहातको सीआईबीलाई जिम्मा लगाइदिए । अरुले मारेको बाघका जुंगा उखेल्न सजिलो हुन्छ भनेझैँ ललिता निवासमै लर्खराएको सीआईबी पनि सुनतस्करीको जिम्मा लिन अघि सरेको छ । जबकि यसको अनुसन्धान गर्ने प्रमुख दायित्व राजस्वकै थियो । विमानस्थलमा राजस्व नपसेको भए, अध्यागमनका डीजीले तस्करलाई सजिलै सुन पठाएका थिए ।
कारण नम्बर सात : नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई बचाउनु गृहमन्त्रीको पहिलो कमजोरी थियो ।मुख्य योजनाकारले बयानमा ओकल्दा र तथ्य प्रमाणले उनीतिर अनुसन्धान डो¥याउँदा पनि उनी लचक बने । अहिले उनी दोस्रो चरणमा समातिने सम्भावना थियो । तर देउवाकै हप्की खाएर अनुसन्धान अधिकृत नै सरुवा गरिदिएपछि न रह्यो बास, न बज्यो बासुरी जस्तो भएको छ ।
कारण नम्बर आठ : सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा सरकार पुरापुर अपरिपक्क देखियो । नारायणकाजीको राजीनामा मागेकै कारण नक्कली सर्टिफिकेटको बहाना बनाएर पक्राउ गरिएको विषय अदालतको आदेशसँगै उदंगो भयो । सीआईबीले पक्राउको पर्याप्त आधार देखाउन सकेन । उनी एक दिनमै रिहा भए । यसपटक नारायणकाजी चुकेनन् मात्रै भुइँमै बजारिए ।
कारण नम्बर नौं : तर सबैभन्दा गम्भीर भुल नारायणकाजीले नक्कली सर्टिफिकेट प्रकरणमा सक्कली डाक्टर पक्राउ गरेपछि भयो । डाक्टर रञ्जितकुमार यादवलाई अनावश्यक रुपमा प्रमाणपत्रको भेरिफाई पनि नगरि पक्राउ गरेपछि लाजपचाएर छोड्नुभन्दा अर्काे विकल्प सीआईबीसँग भएन । यसले सीआईबीको साखमा प्रश्न उठायो । अब गृहमन्त्रीले आफ्नो करिअरमा दागको केले पखालिदिन्छन् ? यो नैतिकताको प्रश्न हो ।
र, कारण नम्बर दश : धरानमा दिउँसै गोरु काटेर भोज चल्यो । जसलाई कानुनले बर्जित गरेको छ । त्यही विषय खुलमखुल्ला सामाजिक सद्भाव भड्काउने गरि गरिएपछि पनि नारायणकाजी चुप छन् । अहिले यो विषयमा समाज नै विभाजित छ । तर काजीलाई फरक परेको छैन ।
अब खपतका लागि मात्रै बोलिरहने नारायणकाजीलाई सुनिरहने समय सकिएको छ । प्रचण्डले भने जस्तै भ्रष्टाचारीको छानबिन हुन्छ, कोही दोषी उम्किँदैन, निर्दाेष कोही फस्दैनन् भन्ने भनाइ पनि नारायणकाजीको मुखमा फिटिक्कै सुहाउँदैन । काँग्रेस आफु सत्तामा छैन, जे भइरहेको छ ठिक भइरहेको छ भन्ने भूमिकामा छ ।देउवाले आफ्नै पत्नीको नाम आएपछि नारायणकाजीको अपमान हुनेगरि गृहमा कब्जा हानेका छन् । तर उनलाई आफ्नै प्रतिष्ठाको चिन्ता छैन ।प्रमुख प्रतिपक्ष दलको नेतालाई गृहमन्त्रीमाथि विश्वास छैन । उनी आफुलाई गोली हान्न सक्छन् भन्ने बोलिरहेका छन् । यतिठूलो जनविश्वास बटुल्दा पनि देउवाको हप्काई खाँदा नैतिकता गुमाउनुभन्दा पहिले गृहमन्त्री पदमुक्त हुनुपर्छ । नत्र अझै पनि उनी कुन स्वार्थमा पदमै बसिरहेका छन् ? अचम्म मान्नुपर्नेछ ।
हामीलाई थाहा छ, जनताको विश्वास नारायणकाजीसँग जोडिएको छ । उनको काम गर्ने अठोटमाथि पनि प्रश्न नहोला । तर गठबन्धनको बिलखबन्दमा परेका काजी बिचराको अवस्थामा छन् । नारायणकाजीमाथि प्रचण्ड छन्, जो पटकपटक रोक्छन् । प्रचण्डभन्दा माथि देउवा छन्, जसले सत्ताको साँचो साथमा लिएर बसेका छन् । देउवाले तीनपटकसम्म नारायणकाजीको राजीनामा मागिसकेको विषय सार्वजनिक भएको छ । यसर्थ चौतर्फी घेराबन्दीमा परेका उनले तपाई हामीले आश गरेजस्तो प्रतिफल दिने सम्भावना छैन । प्रचण्ड र शेरबहादुर देउवाको स्वार्थमा नारायणकाजीले कदम चालिरहेका छन् । माधव, बाबुराम र ओलीको स्वार्थमा समेत नारायणकाजीले पाइला चालिरहेका छन् । माधव र बाबुरामलाई बचाउनु नै उनीहरु दोषी छन् भन्ने प्रमाणित हुनु हो । पुस १० मा गृहमन्त्री नपाएर ज्वरो आएका नारायणकाजी अहिले पाएर पनि औचित्य नभएपछि गुमाउनुको विकल्पमा छैनन् । अहिले पद नै उनका लागि प्रतिउत्पादक बन्न थालेको छ । अझै केही समय काम गर्न नसक्ने हो भने नारायणकाजीले जनताबाटै तितो सवाल र रुखो प्रश्नको सामना गर्नुपर्नेछ ।
प्रकाशित समय : ०९:०० बजे