global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ साना व्यापारमा रमाउँदै सप्तरीका महिला

साना व्यापारमा रमाउँदै सप्तरीका महिला

साना व्यापारमा रमाउँदै सप्तरीका महिला

कुनै बेला साहु महाजनको खेतबारीमा मजदुरी गरेर परिवार पाल्दै आएकी सप्तरीको बोदे बसाइन नगरपालिका–७ हैठीका कलमतदेवी सदाको पहिचान यतिबेला फेरिएको छ ।

केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी उनको अब भन्ने त्यो दुःखको दिन गएको छ । पुँजीका आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी सदा अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उनको दुःखको दिन गएको हो ।

गाउँको साहुमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आएकी सदाको परिवारमा केही वर्षअघिसम्म दुःखको पहाड लागेको थियो तर, ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुःख विस्तारै हराउन थालेको सदा बताउछिन् ।

“केही नगरी जीवनस्तर उकास्न सकिन भन्ने बुझेर दुई वर्षअघि न्यून पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठूलो परिवर्तन आएको छ”, उनले भनिन् । व्यापार गर्ने इच्छा भए पनि पुँजी आभावका कारण त्यसले मूर्तता पाउन सकेको थिएन, तर २०७८ सालमा द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित दिनाराम दिनाभद्री बचत तथा ऋण समूहबाट ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उनको कथन छ ।

कलमतदेवीले पसल चलाउन थालेपछि अहिले उनका श्रीमान् विहारी सदाले पनि उनलाई सघाईरहेका छन् । “म पसल चलाउँछु, श्रीमान्ले नजिकैको बोदे बसाइन बजार र मानराजबाट पसलका लागि चाहिने सामान ल्याई दिनुहुन्छ”, कलमतदेवी भन्छिन्, “अहिले हामी दुवै जना मिलेर पसल चलाइरहेका छौँ ।” पसलबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी भइरहेको उनको भनाई छ ।

“पहिला गाउँको साहु महाजनमा मजदुरी गर्दै आएको थिए”, कलमतदेवीका श्रीमान् विहारी सदा भन्छन्, “अहिले केही वर्षदेखि मजदुरी छाडेर किराना पसलमा श्रीमतीलाई सघाउँदै आएको छु ।” अरुको मजदुरी गर्नुभन्दा आफ्नै व्यापार गरेर राम्रो आम्दानी गर्न पाएकोमा असाध्यै खुसी लागेको उनको अनुभव छ ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवाकी लक्ष्मीकुमारी रामले पनि गाउँमा किराना पसल चलाएर राम्रो आम्दानी गर्दै आएका छन् । सामान्य लेखपढ गर्नसमेत नजानेकी लक्ष्मीलाई बिहान हुने बित्तिकै कतिबेला पसल खोल्ने, कहाँबाट सामान ल्याउन र बिक्री गर्ने भन्नेमा हतारो हुन्छ ।

दुई वर्षअघिसम्म पुँजीको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उनी अहिले भन्ने गाउँ नजिकै किराना पसल सञ्चालन गरी राम्रो आम्दानी गर्दै आएकी छिन् । आयआर्जनको गतिलो आधारसँगै लक्ष्मीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ ।

आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघि सम्म गाउँकै साहु महाजन कहाँ बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै लक्ष्मी भन्छिन्, “पहिले हरवाचरवाको रुपमा ज्याला मजदुरीमा सधैँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौ–धौ हुन्थ्यो ।” उनले भनिन्, ‘अहिले भन्ने स्वतन्त्ररुपमा सानो व्यापार गरेर राम्रो आम्दानी हुन थालेको छ, जसका कारण सन्तुष्ट छु ।’

दिनभरि ज्याला मजदुरीमा काम गर्दा मात्र थोरै मात्र ज्याल पाउथ्ये, त्यस कारण परिरवार चलाउन समस्या हुने गरेको उनको अनुभव छ । लक्ष्मी भन्छिन्, “तर अब मेरो त्यो दुःखको दिन कटेको छ ।” अहिले तरकारी व्यापार गरेरै पाँच जना परिवारको गुजारा चलाउँदै आएको छु, उनको भनाइ छ ।

आर्थिक विपन्नता र चेतनाको अभावमा साहु महाजनमा श्रम गर्दै आएकी लक्ष्मीकुमारी, कलमतको जीवनमा आएको यो परिवर्तन कुनै चमत्कारिक शक्तिबाट नभई श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा सशक्तीकरण कार्यक्रमबाट आएको हो ।

द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियामा गठन भएको बचत तथा समूहमा उनीहरु आबद्ध छन् ।

कलमतदेवी आबद्ध दिनाराम दिनाभद्री बचत तथा ऋण समूहमा ३० जना सदस्य आबद्ध छन् । हरेक सदस्यले बचत समूहका मासिक एक सय रुपैयाँका दरले बचतसमेत गर्दै आएको समूहका अध्यक्ष अधिकलाल सदा बताउछिन् ।

‘सदस्यले मासिकरुपमा गरेको बचत रकम २४ हजार रुपैयाँ भन्दा बढी पुगेको छ,’ समूहका अध्यक्ष सदाले भनिन्, ‘बचत भएको रकम समूहकै सदस्यमा ऋण लगानी गर्ने गरेका छौँ ।’ जसले महिलामा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको उनको बुझाइ छ ।

पछिल्लो केही वर्षयता हरवाचरवा दलित महिलामा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले सकारात्मक सन्देश दिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता सञ्जीवकुमार यादव बताउछन् ।

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु