गृहपृष्ठ काँग्रेस कलह : गगनकाे गर्धनमाथि देउवाकाे तरबार ‘स्वर्णिम हराउने जिम्मा’
काँग्रेस कलह : गगनकाे गर्धनमाथि देउवाकाे तरबार ‘स्वर्णिम हराउने जिम्मा’

सरकार विस्तारको रस्साकस्सी चलिरहेका बेला नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवासमक्ष अर्थमन्त्री बन्ने इच्छा जाहेर गरेका थिए । तर देउवाले गगनलाई अर्थमा ठाडो अस्विकार गर्दै स्वास्थ्य मन्त्रालयमै पुन दोहोरिन आग्रह गरे । त्यसपछि गगन थापाले आफूलाई प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा कसैले पनि अर्थमन्त्री बन्न प्रस्ताव नगरेको प्रष्टिकरण दिँदै यो क्याविनेटमा मन्त्री नबन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तथापी उनी आफ्नो समूहबाट सम्मानजनक सहभागिताको खोजीमा अघि बढे ।
तर देउवाले यहाँ पनि सम्मानजनक स्थान दिएनन् । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, संसदीय दलमा आफैलाई सघाएका प्रदीप पौडेललाई मन्त्री बनाउने प्रस्तावसहित देउवालाई भेट्न पुग्दा राज्यमन्त्रीसम्म बनाउँछु भनेपछि काँग्रेसभित्र दुई महामन्त्रीको हैसियत कमजोर रहेछ भन्ने भेउ काँग्रेसजनले पाएका छन् । काँग्रेसले पाएका ८ मध्ये मात्र दुई मन्त्रालय देउवाले शेखर–गगन समूहका लागि छुट्याएपछि काँग्रेसमा कलह बढेको छ । सम्मानजनक भाग नपाएको भन्दै शेखर समूह देउवाप्रतिको निरिहता ढाक्न सरकारमै सहभागि भएको छैन ।
शेखर गगन समूहले धनराज गुरुङ, डिगबहादुर लिम्बुसहित प्रदीप पौडेल र बद्री पाण्डेमध्ये एकलाई सरकारमा सहभागि गराउन तीनवटा मन्त्रालय माग गरेको थियो । तर देउवाले नचाहेपछि निरीह बन्नुभन्दा अर्को विकल्प उनीहरुसँग भएन । किनकि पुस १० मा एमाले नेतृत्वको गठबन्धनबन्दा सत्ता गुमाउनुको दोष शेखर–गगन समूहले देउवामाथिमात्रै थुपारेको थियो । पुस २६ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पनि प्रतिपक्षमा बस्नुपर्ने दबाब दिएको विषयले देउवा चिड्ढीएका थिए । जसको बद्ला अहिले आफ्नै नेतृत्वको गठबन्धन बनेपछि देउवाले फर्काएका छन् । तर यसले स्वास्थ्य, परराष्ट्र, कानुन र खेलकुद मन्त्रालय रिक्त बनेका छन् । सपथ खान तयार भएका मोहनबहादुर बस्नेत र एनपी साउद पनि रोकिएका छन् । अहिले शेखर समूहले न्यायोचित व्यवहार नभए जोसुकै सरकारमा सहभागि भएपनि आफु नजाने बताएको छ । यसले काँग्रेसलाई झनै विभाजनको दिशामा अघि बढाएको छ । काँग्रेसको राजनीतिलाई नजिकबाट बुझेकाहरु पनि रुपान्तरित भन्दै उदाएका गगन–विश्वहरु असफल भइसकेको भन्दै ‘विभाजनमा नजानुपर्ने’ कुनै कारण नरहेको बताउँछन् ।
गगन–विश्वले काँग्रेसभित्र प्रभावशाली मानिएका अर्थविद् डा. स्वर्णिम वाग्लेको क्षति रोक्न सकेनन् । मंसिर ४ को आमचुनावमा काठमाडौं ५, चितवन १ र गोरखा १ मध्ये जहाँको भएपनि टिकटको खोजीमा रहेका स्वर्णिमलाई देउवाले नचाहेकै कारण गगन–विश्व टिकट दिलाउन असफल भए । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सल्लाहकार बनाउन खोजेपनि देउवापत्नी आरजु राणा भड्किँदा स्वर्णिम त्यहाँबाट पनि बहिर्गमित भए । देउवा परिवारमा स्वर्णिमप्रतिको ‘नफरत’ यतिरहेछ कि, गगनलाई अर्थमन्त्री बनाउँदा सल्लाहकार बनाउँछ भनेरै रोकिएको अड्कालबाजी शेखर समूहले गरिरहेको छ ।
तीनै स्वर्णिमलाई रास्वपाले टिकट दिएर अहिले काँग्रेसका गोविन्द भट्टराईविरुद्धै खडा गरेपछि गगन–विश्व मुकदर्शक बन्नुपरेको छ । त्यतिमात्र कहाँ होर, गगनकै टीममा बसेर सक्रिय रहेका स्वर्णिमलाई हराउने जिम्मा पनि देउवाले गगनकै काँधमा छोडेका छन् । जुन जिम्मेवारी गगनका लागि फलामको चिउरा चपाएभन्दा चर्को परेको छ । आइतबार काँग्रेसले तनहुँ १ को चुनावी कमाण्डर महामन्त्री गगन थापालाई तोकेको छ । फलतः लोको लाज ढोक्नै सही गगन तनहुँमा पुगेर कड्किन थालेका छन् ।
उम्मेदवारी दर्ताको दिन सोमबार आक्रमक रुपमा प्रस्तुत भएका गगनले आफैले तयार गरेको घोषणापत्रमा पाँच महिनामा टिक्न नसक्नेले बौद्धिकताको दम्भ नदेखाए हुने टिप्पणी गरेका छन । स्वर्णिमलाई टुरिष्ट उम्मेद्वारको संज्ञा दिएका गगनले तनहुँ–१ कसैका लागि प्रयोगशाला नभएको बताए । संघर्ष गर्नेले घरभित्रै संघर्ष गर्नुपर्ने बताएका उनले स्वर्णिमलाई बाहिर गएर ढुंगा हान्नु उचित नहुने चेतावनी समेत दिए ।
पार्टीभित्र गगन–विश्वको हैसियत लगभग कौडीको भाउमा छ भन्ने भेउ दुनियाँले बुझिसकेपछि पनि सोमबार गगन यति खरो बने कि, ‘आफू विदेशमा जागिर खाएर आएकोले, आफु सक्षम भन्नेहरुले आफूहरुले सडकमा लडेको विर्सन नहुने’ बताए । अझै अघि बढेर आफूहरुले पनि मन्त्री र सांसद बन्छु कि बन्दिनँ भनेर नहेरेको बताएका उनले त्यसो यस्तो हेरेको भए विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु आफ्नो समर्थक नबस्ने र आफूले पनि शेरबहादुर देउवासँग संसदीय दलको चुनाव नलड्ने दाबी गरे ।
अहिले स्वर्णिम विरुद्धको लडाई गगनको प्रतिष्ठाको बिषय बनेको छ । आफुलाई ‘प्रोजेक्ट गभर्मेन्ट’ हुँदै आर्थिक योजना तर्जुमा र नीतिगत तहमा सघाएका स्वर्णिमलाई हराउने कि, देउवाले कमाण्डर नै तोकेर गर्धनमाथि तरबार राखिदिएपछि काँग्रेस जिताएर फर्किने ? राति सुत्दा पनि मानसपटलमा झलझली यही घुम्छ होला ।
तथापी स्वर्णिमले काँग्रेसभित्रको गन्धा प्रवृत्तिमाथि खोलेको ‘फायर’ले उनीहरुलाई अझ क्रुद्ध बनाएको छ । जहाँ चितवन पुगेर अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि वाग्लेलाई सुसंस्कृत बन्न सुझाएका छन् ।
तर, स्वर्णिम काँग्रेसबाट बाहिरिनु सामान्य कुरा हो । उनी काँग्रेसमा त्यति प्रधावशाली सांगठनिक आधार भएका नेता पनि होइनन् । यद्यपी उनको विज्ञताबारे काँग्रेसमा प्रश्न चाहीँ निःसन्देह थिएन । असामान्य तथ्य चाहीँ के हो भने, काँग्रेसभित्र शेखर, गगन–विश्व र प्रदीपहरु यति कमजोर बनेका छन् कि, स्वर्णिम जस्ता व्यक्तिलाई टिकट दिनसक्ने हैसियत उनीहरुले बनाउन सकेकै छैनन् । र भागवण्डाको राजनीतिमा पनि देउवाद्धारा डीमुनी पुर्याइएका छन् । त्यसो त अब आफ्नै कल्याणका लागि भएपनि विश्लेषकहरुले उनीहरुलाई पार्टी फुटाउनेसम्मको सुझाव दिएका छन् ।
प्रकाशित समय : ११:१२ बजे