गृहपृष्ठ पुरस्कार राशि र नेपाली गाइडका दुःख
पुरस्कार राशि र नेपाली गाइडका दुःख

यस पटकको लेख नेपाल घुम्न आएर हराएका विदेशी पर्यटक र त्यसरी नेपाल घुम्न आउँदा हराएका पर्यटकका आफन्तहरु नेपाल आएर आफ्ना हराएका आफन्त र आफ्ना नातागोता भेटेमा वा हराएका त्यस्ता पर्यटकको कुनै न कुनै दसी-प्रमाण मात्रै भेटे पनि नगद पुरस्कार दिने भनी गरिने घोषणा आदिका बारे लेखिने छ ।
यसरी हेर्दा नेपालमा घुम्न आएर हराएका विदेशी पर्यटकका सम्बन्धमा कसैले अनुसन्धान गरे, नगरेको सम्बन्धमा के हो, कसो हो ? यो पंक्तिकारले केही थाहा पाएको छैन । तापनि सर्वप्रथम २०३७ चैतमा गोरखापत्र दैनिकमा दुई जना देशी पर्यटक हराएको भनी सूचना प्रकाशित भएको देखिन्छ । गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका पर्यटक जोडीद्धय ओल्फगाग र हेनरिक सोही सालको कात्तिक महिनामा पोखरा-जोमसोम-साल्दाङ-छर्काभोट-दुनै-ढोरपाटन हुँदै कास्की जिल्लाको पोखरा निक्लने गरी गएका थिए । तर ७ महिना बितिसक्दा पनि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा छर्का गाउँमा मृत अवस्थामा भेटिएका थिए ।
उनीहरुलाई स्थानीय केही व्यक्तिहरुले पैसा र सरसामानको लोभमा हत्या गरेका थिए । अचम्म चाहिँ के थियो भने, तत्कालीन श्री ५ को सरकारले माथिल्लो डोल्पामा विदेशीलाई भ्रमण गर्न बार-वन्देज लगाएको थियो । अर्थात् नेपालका केही हिमाली जिल्लाहरु झैं डोल्पा पनि विदेशीहरुका लागि भ्रमण गर्न जान प्रतिवन्ध लगाइएको थियो । जबकि गोरखापत्रको सो समाचरामा जनाईएअनुसार ओल्फगाग त त्यसअघि पनि उक्त क्षेत्रको भ्रमणमा गएका थिए । जे होस्, हराएको लगभग सात महिनापछि जर्मन पर्यटकद्वयको लास भेटिएको भनेर २०३८, वैशाख १८ गते गोरखापत्रमा प्रकाशित समाचारमा जनाइएको छ ।
हराएकै पर्यटकको कुरो गर्दा विसं २०६० मा पनि श्रीलंकाली मूलका बेलायती पर्यटक एलेक्स रत्नासोथी जिरी हुँदै खुम्बु जाने क्रममा खरिखोलामा लुटिएपछि अरुण-भ्यालीतर्फ लागेका थिए, लामो समयसम्म उनी सम्पर्कमा नआएपछि उनकी दिदी एना बेलायतबाट नेपाल आई खोजी कार्यमा लागेकी थिइन् । तर उनी भेटिए-नभेटिएको बारेमा कतै समाचार छापिएन । त्यसो त धेरै टाढाको कुरो किन ? राजधानी काठमाण्डौको मुटुमै रहेको रानीवनमा पनि २०६२ सालमा फ्रेन्च र जर्मन महिलाद्घय सेलिन र ग्रुन्ची महिनौसम्म हराएका थिए । फ्रेन्च दूतावासले खोजी गर्दा सेलिनको ब्रा र स्वेटर रगतले लतपतिएको अवस्थामा भेटिएको थियो ।
त्यस्तै ग्रुन्चीको खोजीका लागि पनि उनका केटा साथी र बहिनी जर्मनीबाट नेपाल आएका थिए । जर्मन महिलाको पनि उही हालतमा कंकाल मात्रै भेटिएको थियो । यसरी नेपाल घुम्न आएका विदेशी पर्यटक हराएको कुरो गर्दा २०६४ काे भदौमा पनि पोखराको ड्याम साइडबाट एक जना जापानीज पर्यटक हराएका थिए । त्यसरी नेपाल घुम्न आएका आफ्ना छोरो हराएपछि उनका बुबा जापानबाट आफ्ना छोरोको खोजीमा आएका थिए । ती जापानीजले आफ्नाे छोरोको सास वा लासको लागि एक लाख पुरस्कार दिने घोषणा पनि गरेका थिए । ती जापानीज पर्यटक भेटिए/नभेटिएको अत्तोपत्तो भएन । हराएका जापानीज पर्यटकबारे कुनै समाचार प्रकाशित भएन ।
उता सन् २०१२ को अक्टोबर सिजनमा अन्नपूर्ण क्षेत्रको तिलिचो हिमाल गएका इरानी पर्यटक डाक्टर वाहिद बाहेलो पनि हराए । सो सिजनमा उनको लास नभए पनि कपडा, जुत्ता अथवा कुनै पनि चिन्ह भेट्टाउने वा देख्नेले खबर गरेमा ३,००० (तीनहजार) अमेरिकी डलर पुरस्कार दिने भन्दै उनकी श्रीमती साजिदा हमार्दीले म्याग्दीभन्दा माथिको क्षेत्रमा ठाउंँ-ठाउँंमा आफ्नाे श्रीमानको फोटासहितको पर्चा बांँड्दै/टाँस्दै हिँडेकी थिइन् । तर आफ्नाे श्रीमानको खोजी कार्यका लागि लागिपरेकी साजिदा हमार्दीले रित्तो हात पर्किनु परेको थियो । त्यस्तै सन् २०१६ को नोभेम्बरमा लाङटाङ क्षेत्रमा घुम्न गएका दुई विदेशी (एक कोरियन र एक डच-नेदरल्यान्डका) पर्यटक पनि हराएका थिए । उनीहरु पनि भेटिएको/नभेटिएको अत्तोपत्तो भएन ।
त्यस्तै २०७३ असारमा धौलागिरि पद मार्गमा नेदरल्यान्डकी कृष्टिन उइन नामक महिला पर्यटक पनि हराएकी थिईन । उनको खोजी कार्यका लागि परिवारका सदस्यहरु कुुकरसहित आएका थिए । उनीहरुले कृष्टिन उइन भेटेमा पाँच सय अमेरिकी डलर (हालको सटही दरअनुसार लगभग छ लाख २० हजार नेपाली रुपैयाँ) पुरस्कार दिने घोषणा गरेका थिए । तर लगभग डेढ महिनासम्म खोजी कार्य गर्दा पनि कृष्टिनबारे केही अत्तोपत्तो भएन । त्यस्तै गरेर सन् २०१७ मा पनि रुबी भ्याली (गणेश हिमाल क्षेत्र) घुम्न गएका दुई जना ताइवानी जोडीमध्ये एक जना (महिला) बाटोमा चिप्लिएर खसेपछि सम्भवतः धेरै दिनको भोक र तिर्खाले मरे भने बाँचेका पुरुषलाई लगभग एक महिनापछि मर्नु न बाँच्नुको हालतमा उद्धार गरिएको थियो ।
हुन त साउन १४, २०७९ मा गोरखापत्र दैनिकमा आएको समाचारअनुसार सोलुखुम्बुको नाम्चेभन्दा माथि विदेशी पर्यटक एक्लै जान नपाउने भनी जिल्ला प्रहरी कार्यलयले कडाई गरेको थियो । तर त्यो नेपाल सरकारले केन्द्रीय तहबाट गरेको कडाई वा निर्देशन नभएकोले विदेशी पर्यटकले सो निर्देशन मानेन् ।
तर १ अप्रिल, सन् २०२३ देखि लागू हुने गरी नेपाल सरकारले नेपाल भ्रमणमा आउने कुनै पनि विदेशी पर्यटकले आफू खुसी पदयात्रा अर्थात् ट्रेकिङ गर्न जान पाउने छैन । यो व्यवस्थाले गर्दा कम्तिमा तालिम लिएर पनि दक्षता (दक्षयता !) हासिल गरेर पनि ‘डुकुलन्ठ्याङ !’ भएर बस्नु परेका धेरै नेपाली ट्रेकिङ गाईडहरुले रोजगारी पाउने ग्यारेन्टी हुने भयो । साथै ‘एक पर्यटक, एक नेपाली’को नीति लागू गरेपछि नेपालका विभिन्न पदयात्रा मार्गमा आफू खुसी घुम्न जाने विदेशी पर्यटक सुरिक्षत हुने भए । त्यस्तै गरेर यस्तो व्यवस्थाले नेपाली पर्यटन क्षेत्रमा विस्तारै रोजगारी बढ्दै जाने पक्का छ । यो पंक्तिकारले विगत लामो समयदेकिोे राख्दै आएको ‘पदयात्रा क्षेत्रमा विदेशी पर्यटक पदयात्री भएर जाँदा ‘एक पर्यटक, एक नेपाली’को नीति अनिवार्य लागू गरिनु पर्छ !‘ भनी राख्दै आएको माग सरकारले सम्बोधन गरेकोमा हर्ष सीमा रहेको छैन !
नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार सन् २०१९ मा ‘फ्रि इन्डिभिज्युअल ट्रेकर्स’ (एफआईटी) का रुपमा विभिन्न देशका ४६ हजारभन्दा बढी पर्यटकहरु नेपालका विभिन्न पदयात्रा मार्गमा ट्रेकर्सका रुपमा (आफू खुसी एक्लै) पदयात्रा गर्न निक्लिएका थिए । तर सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट फैलन सुरु भएको कोरोना (कोभिड-१९) महामारी पछिको दुई वर्ष त ‘फ्रि इन्डिभिज्युअल ट्रेकर (एफआईटी)’ वाला पदयात्रीहरु नेपालमा शून्य जस्तै भएको थियो । सन् २०२३ लागेसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको आगमन दर बढेसँगै ट्रेकर्सहरुको संख्या फेरि बढ्दै गएको देखिन्छ । यसरी हेर्दा आउने दिनहरुमा नेपाली ट्रेकिङ गाईडका दुःखका दिन सकिन्छ कि त ?
प्रकाशित समय : १६:५५ बजे