गृहपृष्ठ एनआइसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
एनआइसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उपप्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्याली कार्यक्रम सञ्चालन गरेको छ ।
विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा सञ्चालन भएको उक्त वित्तीय साक्षरतासम्बन्धी र्याली कार्यक्रमलाई परासी लघुवित्त कर्मचारी मञ्चले अगुवाई गरेको थियो । जसमा त्यस क्षेत्रमा सेवा तथा कार्यक्रम प्रवाह गर्दै आएका १६ वटा लघुवित्तमा आवद्ध सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो । उक्त कार्यक्रम परासीको हाटबजारबाट सुरु भई बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
यसरी वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्डसहित भएको उक्त र्याली कार्यक्रमबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन लगायतका विषयमा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको लघुवित्तका कर्पोरेट कार्यालयका चिफ विजनेस एण्ड क्वालिटी एस्युरेन्स इकोसिष्टम अर्जुन श्रेष्ठले बताए ।
‘साथी सँगै सवल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको लघुवित्त वित्तीय संस्था भएको बताइएको छ । दुर्गम जिल्लासहित देशभर आफ्ना २८७ शाखामार्फत २ लाखभन्दा बढी न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाई वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ ।
सुनसरीकाे इटहरीमा रजिष्टर्ड कार्यालय भएकाे एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कर्पोरेट कार्यालय काभ्रेपलाञ्चोककाे बनेपामा रहेको छ ।
प्रकाशित समय : १५:२६ बजे