गृहपृष्ठ एक साँझ बिताउन आएका पर्यटकहरु चार दिनसम्म होमस्टेमा

एक साँझ बिताउन आएका पर्यटकहरु चार दिनसम्म होमस्टेमा

सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक

एक साँझ बिताउन आएका पर्यटकहरु चार दिनसम्म होमस्टेमा

राधिका बुढाथोकी

पूर्वमा सेल्फी डाँडा, डाँडामाथिको बुट्टेदार पर्खालको कभर लगाएर एक पोज फोटो खिच्न मन लाग्छ । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर छ । पश्चिमतर्फ घनाजंगल, सुन्दर पहाडी प्राकृतिक दृश्यहरुले जो कोहीलाई पनि मोहित बनाउँछ । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय बीपी राजमार्ग र दायाँबायाँको बस्तीले आकर्षणको केन्द्र बनेको छ ढुंग्रेभञ्ज्याङ ।

सिन्धुलीको कमलामाई नगरपालिका-२ स्थित यस गाउँमा ३० घरघुरीको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ घरधुरीले सामूहिक रुपमा होमस्टे (घरबास पर्यटन) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो होमस्टेका रुपमा स्थापित भएको भद्रकाली सामुदायिक होमस्टेमा प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, स्थानीय जैविक परिकारहरु, स्थानीयवासीको सरलता, निश्चलता, सहयोगीपन, मुस्कान सहितको बोली र व्यवहारले सबैलाई लट्ठ बनाउने गर्दछ ।

२०७६ साल चैत २९ बाट सुरु भएको होमस्टे कोभिड कहरका कारण दुई वर्ष थलिएकामा अहिले पुनः पुरानै लयमा फर्किंदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापा मगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटकहरु चार दिनसम्म होमस्टेमा रमाएर जाने गरेको उनले सुनाए ।

गत माघमा भक्तपुरबाट एक कलेजबाट २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन भनी आएको थियो । यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यतामा रमिरहन मन लाग्यो भनेर चार दिन बसेर फर्किएको अध्यक्ष थापा मगरले सुनाए । ‘होमस्टेमा आउने पर्यटकहरु यहाँको स्थानीय शुद्ध परिकारहरु खान रुचाउँछन् । स्थानीय जातका कुखुरा, ढिँडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ,’ उनले थपे, ‘एकपटक आएका पाहुना पटकपटक आउनुहुन्छ, यहाँको आत्मीय अतिथि सत्कार, होमस्टे स्थलबाट देखिने दृश्य र जैविक परिकारको स्वादले पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ ।’

होमस्टेमाथि रहेको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रमअनुरुप १७ घरधुरीका बासिन्दाले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादनहरु बिक्री गर्ने गरेका छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकारहरु यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रुहरु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिरहरु खिचेर, खिचाएर पुनः यात्रा तय गर्दछन् ।

पर्यटकहरु होमस्टेमा नै आएर बस्छन् । एक पटकमा ५० जनासम्म अटाउने क्षमता भएको यस होमस्टेको सेवा शुल्क महँगाे छैन । अतिथि व्यवस्थापन खर्च २०, स्थानीय प्रजातिका कुखुराकाे मासुसहित खाना सेटको दुई सय ५०, प्रतिकोठाको पाँच सय (एउटा कोठामा दुईवटा पलङ) र बिहानको खाजा एक सयमा (अन्डा, पुरी, तरकारी, सेल, फुलाउरा) लिन सकिन्छ । पर्यटककोे चाहनाअनुसार बेलुकाको खानापछि विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ ।

होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारीक वातावरण दिएरले सहजता मात्रै थपिदिएको छैन । स्थानीयवासीलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरू व्यवसायमा भन्दा होमस्टेमा फाइदा र लगानी सुरक्षित देख्छिन् । होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएकी र अन्य जिल्लाका होमस्टेहरुको अवलोकन, भ्रमण गरेकी उनी ढुंग्रेभञ्ज्याङवासीको होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन् ।

छोटो समयमा ४० जना अतिथिहरुको सत्कार गरेर २३ हजार चार सय ९० कमाई गरिसकेको उनले बताइन् । उनले भनिन्, ‘ढुंग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान साबित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाडी बजार पुग्नुको विकल्प थिएन । राजमार्ग निर्माण कार्य अगाडि बढेपछि अन्य ठाउँका व्यक्तिहरु आएर किराना पसल चलाएका थिए । लगानी गर्न सक्ने दुई/चारजना गाउँलेले उहाँहरुबाट सिकेर पसल चलाउन सुरु गरे । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही परुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे ।’

राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घरघरमा पानी, बत्तीको सुविधा थपियो । ठाउँको विकास भएसँगै स्थानीयवासीमा चेतनाको स्तर बढ्यो । ‘आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थाल्यौं । तीन वर्षअघि मात्रै सबै दृष्टिकोणबाट पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गर्ने निर्णयमा हामी पुग्यौं । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत संघसंस्थाको सहयोग मिल्यो,’ उनले भनिन् ।

‘घर धेरै भए पनि एउटा परिवार बनेर हामीले सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौं,’ उनले भनिन्, ‘लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, कुखुरा लगायतका अन्य परिकारहरु, जो परिवारका लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथिहरु यसैमा रमाउँछन् । काम खोज्दै भौंतारिनु नपर्ने, अरू व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौं ।’

होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएकाे र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गरेकी उनलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापन शैलीमा परिर्वतन देखिन थालेको देख्दा खुसी लाग्छ ।

स्थानीय होमस्टे सञ्चालक विमला थापामगरले २७ पर्यटकको सेवा गरेर ३३ हजार सात सय आम्दानी भएको सुनाइन् । अतिथिहरुले लिएको सेवा र सुविधाअनुसार शुल्क बढी र कम हुने उनको भनाइ छ । चुलो र चौकोमा मात्र सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घर, परिवारको खर्च आफ्नै कमाईले धान्न सक्ने भएकी छन् ।

अब उनलाई चुरापोतेका लागि पनि श्रीमान्सँग मागेर चलाउनुपर्ने बाध्यता छैन । ‘व्यवसाय गर्ने र बस्ने दुवै पक्षलाई होमस्टेमा फाइदा नै छ, असल संस्कार, खानपान भएका व्यक्तिहरु होटल, रेस्टुरेन्टभन्दा होमस्टेमै खाना, बस्न मन पराउँछन्,’ उनले भनिन् ।

चन्द्रकुमारी जर्गा मगरलाई आफ्नो होमस्टेमा अतिथि आउँदा अध्ययनका लागि काठमाडौं गएको छोरो पढाइ सकेर घर फर्किएको जस्तो लाग्छ । ‘अतिथिहरु हामीले खाने परिकारमा नै खुसी हुन्छन् । जुठेल्नोमा लगाएको सागसब्जी मीठो मानेर खान्छन् । उहाँहरुका लागि बजारबाट सामान किनेर ल्याउनु परेको छैन,’ उनले भनिन् ।

पहिलोपटक अतिथि आउँदा उनलाई अत्यास लागेको थियो । श्रीमानले पत्याएका थिएनन् । नयाँ व्यक्तिसँग बोल्न डराउने मात्रै कहाँ होइन, होमस्टे सुरुआत गरेपछि पहिलो पटक अतिथि आउँदा थरथर कामेको उनलाई अहिले जस्तै लाग्छ । तर, अहिले उनमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइ गर्नेदेखि अतिथि सत्कार, थरीथरीका परिकार बनाउन सिकाएको छ । छ कट्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन उनी आफैँले भ्याइरहेकी छन् । यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । यसले पाहुनाले पनि जैविक र ताजा खान पाउने र स्थानीयले पनि सजिलै राम्रो आम्दानी लिन सक्ने उनको धारणा छ ।

होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरको शुभेच्छा भट्टराईले भद्रकाली सामुदायिक होमस्टेको सत्कार, माया र हेरचाहजस्तो अरू ठाउँमा आफूले नपाएको बताइन् । यहाँको स्वच्छ वातावरण, हावापानी, गाउँलेको आत्मीय व्यवहार र भरिपूर्ण प्राकृतिक सुन्दरताले लोभ्याइरहन्छ । “एक दिनका लागि आएका यस ठाउँले चार दिनसम्म भुलायो । पुनः हप्ता दिन बस्ने गरी आउन मन छ, समय मिलाएर आउँछु,’ उनले भनिन् ।

स्याङ्जाको सिरुबारीबाट २०५४ मा सुरु भएको होमस्टेलाई नेपाल सरकारले पर्यटन वर्ष मनाउनका लागि होटलहरुले मात्रै धान्दैन, गाउँगाउँमा होमस्टे खोल्नुपर्छ भनेर २०६७ सालदेखि संस्थागत दर्ता भएर सञ्चालन गर्न स्वीकृत गरेको छ । होमस्टे महासंघ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईंका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टेहरु संस्थागत दर्ता छन् ।

देशभर २२ हजार घरमा होमस्टे सञ्चालन भएको पाइन्छ । बागमती प्रदेशमा मात्रै एक सय २५ वटा होमस्टेहरु संस्थागत रुपमा दर्ता भएका छन् । यसमध्ये ७५ वटा होमस्टे सामुदायिक र अन्य निजी रुपमा चलेका छन् । राज्यको सम्बन्धित निकायमा कानुनी प्रक्रिया पूरा नगरी होमस्टे चलाउनेहरुको सङ्ख्या पनि धेरै रहेको छ ।

धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिकलगायत सबै पक्षबाट होमस्टे प्रभावकारी देखिए पनि यसको विकास, प्रवर्द्धन र व्यवस्थापनमा तीनै तहका सरकार चुकिरहेका उनको आरोप छ । अतिथि सत्कार, स्थानीय जैविक उत्पादन र संस्कृतिलाई व्यावसायिक बनाउनु, स्थानीय मौलिक कला प्रदर्शन तथा प्रवर्द्धन गर्नु होमस्टेलाई विकासको एउटा आधार बनाउन सकिन्छ ।

प्रकाशित समय : १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु