गृहपृष्ठ ‘चन्द्र ढकालको सारथी भएर काम गर्न उम्मेदवारी दिएको छु’

‘चन्द्र ढकालको सारथी भएर काम गर्न उम्मेदवारी दिएको छु’

‘चन्द्र ढकालको सारथी भएर काम गर्न उम्मेदवारी दिएको छु’

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफूले साना, मझौलादेखि ठूला व्यवसायीका समस्या सुक्ष्म तरिकाबाट बुझेको र उक्त समस्या समाधान गर्न महासंघको नेतृत्वमा आउनका लागि उम्मेदवारी दिएको बताएका छन् ।

‘महासंघको विधान अनुसार चैत २९ गतेपछि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनुहुन्छ,’ गोरखा उद्योग वाणिज्य संघको ४७औं साधारणसभामा उनले भने, ‘उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि चन्द्रजीको सारथी भएर काम गर्न अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।’ साथै अहिले महासंघको पुरानो साख जोगाउनु पर्ने समय आएको भन्दै त्यसलाई लागि चन्द्र ढकालको टिममा आफू वरिष्ठ उपाध्यक्ष भएर गएपछि काम गर्न सकिनेसमेत उनको भनाइ छ ।

अहिले उद्योगी व्यवसायीहरु एक नभएकै कारणले निजी क्षेत्रको मुद्दामा चासो नदिएको भन्दै अबका दिनमा समग्र उद्योगी व्यवसायी एक ढिक्का भएर अघि बढनुको विकल्न नरहेको उनको भनाइ छ । ‘अहिले हामी उद्योगी व्यवसायीहरु आन्दोलनमा छौं तर सरकारले हाम्रा माग सम्बोधन गर्न चासो देखाएका छैन । देशको अर्थतन्त्र चलायमान बनाउन ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्नु भनेको हाम्रो दुर्भाग्य हो,’ उनले भने ।

अहिले देखिएको बैंक ब्याजदरको समस्या बैंक र ऋणीमा भन्दा पनि नियामक निकायले गर्दा भएको भन्दै यस विषयमा तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए । ‘अहिलेको मुख्य समस्या नियामक निकायमा छ किनकि नियम कानून बनाउँदा सरकारले बैंकलाई बढी संरक्षण दिएको छ,’ उनले भने ।

यसैगरी अहिले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको समस्याले गर्दा नेपाललाई पनि ठूलो असर परेको र अबका दिनमा उद्योगी व्यवसायीको उधारो नउठ्ने समस्या पनि उत्तिकै बढ्दै गएको उनको भनाई थियो । ‘हामी अहिले उधारोमा चलेका छौं । यदि त्यो रकम उठेन भने कसले जिम्मेवारी लिने ?’ उनले भने, ‘यस्ता समस्या समाधान गर्न महासंघले नेतृत्व गर्नुपर्छ तर मलाई लाग्छ, अहिले महासंघको कार्यशैली बहुसंख्यक उद्योगी व्यवसायीको हितमा छैन ।’

देशमा राजनीतिक क्रान्ति भएर गणतन्त्र आए पनि तर आर्थिक क्षेत्र झन खस्किएको उनको भनाइ थियो । ‘हामी उद्योगी व्यवसायीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन क्रान्ति गरेका होइनौं,’ उनले भने, ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउन हाम्रो लडाई थियो तर अहिले उल्टो भइदियो ।’

यसैगरी कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अहिले आफू महासंघको नेतृत्व चयनमा सर्वसम्मत गराउन लागिपरेको बताए । ‘कार्यकाल घटाएरै भए पनि हामी सबै महासंघमा रहनुपर्छ,’ उनले भने, ‘सर्वसम्मतिका लागि मेरो प्रयास रहन्छ । यदि त्यसमा सफल भएनौं भने मलाई काम गर्न सहज हुने नेतृत्व चयन गरेर पठाउन आग्रह गर्दछु ।’

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु