गृहपृष्ठ ‘कोशी प्रदेश’विरूद्ध आन्दोलन घोषणा, पुन: नामांकनको माग
‘कोशी प्रदेश’विरूद्ध आन्दोलन घोषणा, पुन: नामांकनको माग

कोशी प्रदेशको पुन:नामकरणको मागसहित आन्दोलनको घोषणा गरिएको छ । भर्खरै नामकरण गरिएको कोशी नाम खारेज गर्ने आन्दोलनको नेतृत्व गर्न शुक्रबार ‘प्रदेश नं. १ पुन: नामांकन संयुक्त संघर्ष समिति’ घोषणा गरिएको छ ।
किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठन र अन्य सामाजिक तथा सामुदायिक संगठनहरु संलग्न संयुक्त संघर्ष समितिले फागुन २८ गते आमहड्तालसहित चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
लिम्बुवान-किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं. को १ पुन: नामाकरण अभियान समिति र किरात राई यायोक्खाद्वारा प्रदेशको नाम कोशी खारेजीको लागि आजसम्म घोषित कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न गर्दै आजै नेपाल आदिवासी जनजाति महासंघ र थप विभिन्न नयाँ घटक सदस्यहरुसमेतसँग संयुक्त बैठक बसी आन्दोलनलाई एकीकृत गर्नुका साथै संघर्ष समितिको नाम समेत परिवर्तन गर्दै संयुक्त आन्दोलनका कार्यक्रमहरु पारित गरेको छ,’ किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले जनाएका छन् ।
चरणबद्ध आन्दोलनअन्तर्गत फागुन २५ र २६ गते प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोणसभाहरु गर्ने, स्थानीय तह लगायतका कार्यालयहरुमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरु हटाउने, कोशी नामका लेटरप्याडहरु जलाउने कार्यक्रम रहेकाे जनाइएकाे छ । संघर्ष समितिका अनुसार उक्त दुई दिन कोशी प्रदेश नाममा मत हाल्ने सांसदहरुलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति विस्तार जारी राख्ने, पर्चा निर्माण र वितरण गर्ने, भित्ते लेखन गर्ने कार्यक्रम रहेकाे छ । यस अवधिमै उद्योगी, व्यवसायी, व्यापारी, यातायत लगायतका निकाय, व्यक्ति एवं संस्थाहरुसँग समन्वयात्मक बैठक बस्ने पनि समितिले घाेषणा गरेकाे छ ।
फागुन २७ भने प्रदेशव्यापी राँके जुलुस र फागुन २८ प्रदेशव्यापी आम हड्ताल गर्ने तथा चैत ५ विराटनगरमा जनप्रदर्शन गर्ने संघर्ष समितिले जनाएकाे छ ।
प्रकाशित समय : १७:३९ बजे