गृहपृष्ठ राष्ट्रपति पनि नपाए काँग्रेसले के गर्ला ?

राष्ट्रपति पनि नपाए काँग्रेसले के गर्ला ?

नत्र ६ महिनामा ओली प्रधानमन्त्री !

राष्ट्रपति पनि नपाए काँग्रेसले के गर्ला ?

देउवा, प्रचण्ड, ओली र माधव जस्ता पूर्वप्रधानमन्त्री राष्ट्रिय सहमतिको खोजीमा छन् । राष्ट्रिय विषयमा साझा सहमति हुनु साह्रै राम्रो हो । देशको सीमानामा मत नबाँझियोस् । विदेशको हस्तक्षेप हुँदा सबको एक स्वर बनोस् । जनता चोसोले कठ्याङरिएर मर्दा एक ठाउँमा उभिएर राहत दिएपनि साह्रै राम्रो । झन राष्ट्रपतिजस्तो संविधान संरक्षक र देशको अविभावकमा राष्ट्रिय सहमति खोज्नु अति उत्तम हो । तर, के लोभी पापीले राष्ट्रिय सहमति चाहेकै हो त ?

त्यसो यसो गरौं, डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाईदिऔं । यति भयो भने, नेपाली काँग्रेसले पदमा खोजेको साझा सहमति पनि बन्छ । प्रधानमन्त्री प्रचण्डको राष्ट्रिय सहमतिसहितको साझा प्रधानमन्त्री बन्ने रहर पनि पुरा हुन्छ । डा. रुइत राष्ट्रपति बन्दा राष्ट्रले पनि पत्याउँछ । जनताले विरोध गर्ने अवस्था पनि हुँदैन । किनकि रुइत राष्ट्रले मात्रै नभएर अन्तर्राष्ट्रले पत्याएका व्यक्ति हुन् । यस्ता व्यक्तिलाई राष्ट्रपति बनाउँदा राष्ट्रको गरिमा पनि बढ्छ । जसरी आँखा रोग विशेषज्ञ भएर रुइतले विश्वलाई ज्योति दिए । त्यसैगरि अन्धकारभित्र कालो चलखेल गर्ने यी नेताहरुलाई पनि ज्योतिको रापिलो तापले पोल्न सके, पक्कै वुद्धि फिथ्र्याे होला । तर सबै देउवा, प्रचण्ड, ओली, माधव र रामचन्द्र जस्ता पदभोगी कहाँ हुन्छन् र ? सन्दुक रुइतको महानता हेर्नुस्, उनले म राष्ट्रपतिका लागि बनेको मान्छे नै होइन भनिदिए ।

रुइतले आफ्नो दायरा सम्झिए । हरेक दिन दृष्टिविहिनलाई नयाँ जन्म दिएको सम्झिए । आफ्नै हातले एकलाखभन्दा बढीलाई आँखाको ज्योति दिएर पहिलोपटक संसार देख्दाको पल सम्झिए । योभन्दा आनन्द यीनहरुको दाउपेचमा लाग्नुमा होला त ? यसले रुइतलाई आफ्नै पेशाप्रति कटिबद्ध हुन सिकाएको छ । अझै भनौं, उर्जा मिलेको छ । उनी आफैले सुरुवात गरेको विश्वविख्यात सरल र कम लागतको मोतिविन्दु चिकित्सापद्धति ‘रुइतेक्टोमी’ आज विश्वभर फैलिएको छ । यसैकारण उनलाई विश्वले पत्याएको छ । भर्खरै १३ करोड पुरस्कार राशी भएको इशा अवार्ड पनि रुइतले पाएका छन् । यसअघि रामन म्याग्सेसे पुरस्कारबाट पनि रुइत सम्मानित भएका थिए । यस्ता महान डाक्टरलाई साझा सहमतिको राष्ट्रपति बनाएर सम्मान गर्न सकिन्छ त ? कहाँ सक्नु, ओली, प्रचण्ड र देउवा त आफ्नै लागि मागिरहेका छन् । जबजब यीनहरुले पद पाउँदैनन्, त्यतिबेला राष्ट्र संकटमा पर्छ, एकैपटक संविधान, लोकतन्त्र र व्यवस्था संकटमा पर्छ । हिजो एक सुको समेत नदिएर सडकमा पुग्दा प्रचण्डका लागि ओली प्रतिगमनकारी थिए । आज प्रधानमन्त्री दिएपछि ओली परोपकारी भएका छन् । सत्ताको सबै गुमाएपछि काँग्रेसले फेरि देशमा संकट देख्दैछ । तर जनता अब अबुझ छैनन् । सबका सब स्वार्थ बुझेका छन् । कसरी गुल्ट्याउनुपर्छ भन्ने पनि जानेका छन् । त्यसको सुरुआत यही निर्वाचनमा भएको छ । अर्काेपटक के हुन्छ थाहा छैन । तर आफु संकटमा पर्दामात्रै देशलाई संकटमा देख्नेहरुले फेरि अनिष्टको संकेत गरेका छन् । र त्यसको सुरुवात राष्ट्रपति पदकै लागि हुँदैछ । राष्ट्रप्रमुख बन्ने हानथापले प्रचण्डको सत्ता यात्रा सहज छैन । कसले कसलाई कतिबेला गुल्डाउने खेल सुरु भएको छ । अब ओली र देउवाबीच राष्ट्रपतिकै लागि असली द्धन्द्ध सुरु भएको छ ।

त्यसो भए, सभामुखसमेत गुमाएको काँग्रेसले राष्ट्रपति कसरी पाउँला ? राष्ट्रपतिको सपना पुरा भएन भने देउवा के गर्छन ? माओवादीको कित्ता क्लिएर राष्ट्रपतिको निर्वाचनसम्मै कायम रहला ? सभामुख र राष्ट्रपति दुबै पाए प्रधानमन्त्री बन्न ओलीलाई कसले रोक्ला ? नेपाली राजनीतिमा अबको मुख्य प्रश्न यीनै हुनेछन् ।

चर्चा सुरु गरौं सभामुखको निर्वाचनबाट । देशले नयाँ सभामुख पाएको छ । पाउने चाहना त नेपाली काँग्रेसको पनि थियो । तर ‘ओरालिएको मृगलाई बाच्छोले पनि लखेट्छ’ भनेझैँ एमाले, माओवादीसहित सबै मिलेर काँग्रेसलाई लखेट्नु लखेटे । सत्ताको सबै गुमाएको काँग्रेसले सभामुख पनि गुमायो । एमालेका सांसद देवराज घिमिरे १६७ मत पाएर संसदको सभामुख बनेका छन् । उनको विपक्षीमा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले मात्र एक सय मत ल्याएर हार ब्यहोरेकि छन् । काँग्रेसको पक्षमा नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चा मात्रै उभिएका छन् । एमालेको पक्षमा भने, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उभिएका छन् । जित लगत्तै सभामुख देवराज घिमिरेले संसदमा सबैको साझा बनेर काम गर्ने वाचा गरेका छन् ।

देशले सभामुखमात्रै पाएन कि ओलीले जे चाहन्छन् त्यही हुन्छ भन्ने पनि स्थापित गर्‍यो । न घिमिरेको सभामुख बन्ने रहर, न आम जनमानसमा घिमिरे सभामुख बन्ने चर्चा थियो । बस्, ओलीले चाहे भयो । अरु आकांक्षीको गनगनलाई पन्छाउँदै ओलीको खल्तीबाट घिमिरेको नाम आयो, उनै सभामुख बने । प्रष्ट छ, प्रधानमन्त्री प्रचण्ड भएपनि गठबन्धन ओलीको इशारामा चल्छ । रवि–राजेन्द्र साथमै छन् । बालुवाटार भन्दा बालकोट धेरै धाउँछन् । उनीहरुलाई पनि थाहा छ कसले कति दिन्छ । पहिला ओली, लिङ्देन र रविको छलफल हुन्छ, अनि प्रचण्डसँग ओली बस्छन् । यो सब चाल पाएका प्रचण्डलाई ओलीको चालामाला निको लागेको छैन । तर प्वाक्क मुख फोरी बोल्न पनि भएको छैन । काँग्रेस पनि प्रचण्डले मुख फोरे हुन्थ्यो भन्ने चाहन्छ । तर प्रचण्ड यतिबेला प्रधानमन्त्री प्रचण्ड हुन् । माधवले भनेझैँ धेरै कुरा बोल्न मन लागेपनि बोली बन्द छ । काँग्रेसलाई मत दिनुपर्ने पार्टीभित्रको एक कित्तालाई दबाएर प्रचण्डले सभामुखमा एमालेलाई भोट हालेका छन् । जबकि प्रधानमन्त्रीबाट गुमाएका आफुसँग केही नहुने पनि प्रचण्डले बुझेका छन् । यहि मर्म बुझेका विश्वप्रकाशले रोस्टमबाटै पिजँडामा थुनिएको प्रधानमन्त्रीको संज्ञा दिए । देउवा पिजँडामुक्त गर्न चाहन्छन् भन्ने सन्देशसमेत दिए ।

प्रचण्डलाई बालकोटको बार्दलीबाट धुम्बाराहीको गार्डेनमा ल्याउने देउवाको चाहना छ । तर सभामुख हारेका देउवाले राष्ट्रपतिमा बद्ला फर्काउन सक्छन् ? किनकि दैनिक जसो गठबन्धन बनाउने कसरतमा जुटेका देउवाले सीके राउत र उपेन्द्र यादवलाई सभामुखमा तान्न सकेनन् । माधवको साथले मात्रै ओलीसँग टक्कर लिन पुगेन । अब यतिमात्रैले राष्ट्रपति हात नपर्ने भएपछि उनी विपक्षी मोर्चा कस्न अघि बढेका छन् । तर सभामुखको निर्वाचनले कित्ता क्लिएर गरेको छ । देउवासँग पटकपटक संवादमा रहेपनि जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका उम्मेदवारलाई नै मत दिए ।

तर सभामुख काँग्रेसको मुख्य विषय होइन । काँग्रेसको अर्जुनदृष्टि राष्ट्रपति हो । सभामुखमा झस्काएर राष्ट्रपतिमा गोल हान्ने तयारी गरेको काँग्रेसले प्रचण्डसहितको समर्थन जुटाउने विश्वास देखाइरहेको छ । तर एमाले अध्यक्ष ओली राष्ट्रपति पनि एमालेकै हुने भएकाले त्यसमा सहमत हुन काँग्रेसलाई पनि सुझाव दिइरहेका छन् । ‘काँग्रेसले गठबन्धन भत्काउँछ’ भन्ने सवाललाई ओली हाँसेरै टारिदिन्छन् ।

प्रधानमन्त्रीकै लागि प्रचण्ड ओलीसँग मिल्न सक्छन् भन्ने भेउसमेत नपाएका देउवा फेल खाएपनि विश्वासको मत दिएर प्रचण्डलाई बोक्न खोजिरहेका छन् । विश्वासको मत दिनुको अर्थ नै सभामुख र राष्ट्रपतिमा माओवादीको समर्थन पाईहाल्ने आश पलाएर हो । यसका लागि एमालेसँग पौठेजोरी खेल्न देउवा तयार छन् । तर विश्वासको मतमा सत्तापक्ष बनेको काँग्रेस सभामुखसम्म पुग्दा प्रतिपक्ष बनिसकेको छ । सभामुखमा देखिएको समर्थन राष्ट्रपतिसम्म कायम रहे सत्ता गठबन्धनकै उम्मेदवारले जित्ने पक्कापक्की जस्तै छ । तर प्रदेश र राष्ट्रियसभासहित प्रतिनिधिसभाका सदस्य मतदाता हुने भएकाले काँग्रेसले राष्ट्रपतिलाई मुख्य विषय बनाएको हो । त्यतिबेलासम्म गठबन्धनमै भाँजो आइसक्ने विश्वास पनि काँग्रेसलाई छ ।

सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री प्रचण्डले सभामुखमै साझा सहमति खोजेको विषयलाई काँग्रेसले झनै ठूलो भरोशाका रुपमा बुझेको छ । किनकि काँग्रेसकै चाहना अनुसार प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए । तर काँग्रेस सत्तापक्ष भइहाल्छ कि भन्ने डरमा रहेका ओलीले बैठकमै काँग्रेसलाई झम्टिन खोजेपछि रमेश लेखक प्रतिवादमै उत्रिने अवस्था बनेको थियो । त्यसले राष्ट्रिय सहमति नभई विग्रहकै अवस्था ल्याएको छ । ओलीले काँग्रेसको प्रतिपक्षी भूमिकामाथि प्रश्न उठाएपछि सभामुखमा नपाइने संकेत देउवाले त्यतिबेलै पाएका थिए । फलतः उनले बलियो उम्मेदवार दिन चाहेनन् । प्रचण्ड पनि यति छिटै फ्लोर क्रसको पक्षमा देखिएनन् । तर सभामुखमा एमालेका सांसद निर्वाचित भए लगत्तै प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिले काँग्रेसको विश्वासलाई झनै बढाएको छ । प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने पुनः दोहो¥याएका छन् ।

माधव नेपालको पार्टीले सभामुखमा काँग्रेसका उम्मेदवारलाई समर्थन जनाएपछि विपक्षी गठबन्धनले एउटा आकार लिएको छ । त्यसमा लोसपा र राष्ट्रिय जनमोर्चा पनि साथमै छन् । काँग्रेसको नेतृत्वमा अहिलेसम्म कित्ता क्लिएर भएका तीन दल छन् । तर सत्तामा मधेशवादी दललाई किनाराकृत गरिएपछि सबै असन्तुष्ट छन् । जसपाले चाहेको भाग नपाएपछि सत्तामै गएन । जनमत पार्टीले रोजेको नभई भागमा परेको खानेपानी मन्त्रालय पाएपछि पदभार नै सम्हालेको छैन । लोसपालाई बोक्न कोही इच्छुक छैनन् । यी सबै दल सत्तावादीसँग असन्तुष्ट छन् । सीके राउतले सामाजिक सञ्जाल र संसदमार्फत मधेशवादी दललाई उपेक्षा गरेको भन्दै आक्रोश नै जनाएका छन् । यसको अर्थ स्पेसको खोजिमा रहेका उनीहरु भोलि काँग्रेस नेतृत्वमा पनि सामेल हुन सक्छन् ।

तैपनि काँग्रेसलाई बहुमत पुग्ने छैन । त्यसका लागि माओवादी नै चाहिने छ । प्रधानमन्त्री प्रचण्ड पनि माओवादी नभएर कतै बहुमत नपुगोस् भन्ने चाहन्छन् । ओली–देउवा दुवै तिर माओवादी खेल्नेछ । अहिले प्रचण्ड कसैसँग चिढ्डीन नचाहेको कारण पनि यही हो । किनकि उनी दुबै तिर खेलेर सत्तामै टिक्न चाहन्छन् । काँग्रेस पनि सकेसम्म प्रचण्डलाई नै रिझाउने गरि अघि बढेको छ । सत्ताका लागि अन्तिमसम्म खेल्ने अठोट उसको छ ।

सकभर माओवादीसहितको समर्थन लिएर राष्ट्रपति लिइहाल्ने नीतिमा काँग्रेस अघि बढेको छ । त्यसका लागि सभामुख गुमाए पनि प्रचण्डमाथि विश्वास गुमाएको छैन । तर राष्ट्रपतिमा पनि प्रचण्डको समर्थन पाएनन् भने देउवासँग ‘प्लान बी’ तयार छ । त्यो हो, प्रचण्डविरुद्धै जाने ।

ओलीलाई ६ महिनाभित्र प्रधानमन्त्री बनाइदिने । किनकि प्रचण्डकै कारण सत्ताको सबै गुमाएको काँग्रेस अहिलेसम्म नरम बन्नुको अन्तिम गन्तव्य नै राष्ट्रपति हो । त्यसमा पनि साथ नपाए प्रचण्ड बोकिरहनुको अर्थ के ? यसै पनि गुमाउने त्यसै पनि गुमाउने । सभामुख र राष्ट्रपति पनि पाएको एमालेलाई प्रधानमन्त्री पनि दिएर काँग्रेसले प्रदेशतिर साझेदारी गर्न सक्छ । त्यति हुँदा अन्य दलको आवश्यकता पनि पर्ने छैन । यो निकै ‘रेर’ सम्भावना हो । तर सम्भव नभएको सम्भावना होइन । अथवा राजनीतिमा हरेक सम्भावना हुन्छन् । थरिथरिका परिदृश्यहरु देख्न पाइने हुनसक्छ । अथवा काँग्रेस नेतृत्वको गठबन्धन बन्ने अवस्था आए गठबन्धनमा आवद्ध जसपा, जनमत र नागरिक उन्मुक्ति हालफालेरै पनि जानसक्छन् ।

प्रकाशित समय : ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु