काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

संगीतले जोड्दै सामाजिक अभियान पनि

11.19K
shares

भरत केसी

नेपथ्य ब्याण्डले यसपटक मानवताको मन्दिर निर्माणका लागि शनिबार राति बुटवलवासीलाई संगीतमा झुमायो र नचायो । ६ बजे साँझ नेपथ्य ब्याण्डको आफ्नै अत्याधुनिक स्टेजमा अमृत गुरुङको प्रस्तुती सुरु भयो ।

‘मानवताका लागि संगीत’ नारासहित मानवता प्रवद्र्धन अभियानमा लागेको मानव सेवा आश्रमको अक्षयकोष स्थापनार्थ बुटवलसहित नेपालका १० ठूला सहरमा सांगीतिक कार्यक्रम गर्ने अभियानअन्तर्गत शनिबार साँझ बुटवलको रामनगर खेल मैदानमा भएको कार्यक्रममा गायक गुरुङले पटकपटक दर्शकसमक्ष मानवताको मन्दिर निर्माणमा सहकार्यका हात बढाउन आह्वान गर्दै थिए । भने,‘यो मानवताको मन्दिर निर्माणमा आर्थिक, भौतिक, नैतिक जेजस्तो सहकार्य गर्न सकिन्छ गरौँ है ।’

कार्यक्रममा ब्यान्डकै यो पहिलो सिर्जनाको प्रस्तुतिमा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउने गरी तस्बिरको संयोजन देखाइएको थियो । गायक गुरुङसहित उनको समूह स्टेजमा देखिँदा दर्शकको ताली र सिटीसहित भव्य स्वागतले रामनगरको मैदान पूर्णरुपले संगीतमय बनेको थियो ।

बुटवलमा यसअघि सातपटक प्रस्तुति लिएर दर्शकमाझ आएको नेपथ्य यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै तीनपटक आएको थियो । विराटनगर, वीरगञ्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी र सुर्खेतपछि यसपटकको श्रृंखलामा शनिबार साँझ बुटवलमा प्रस्तुति आठौँ हो ।

ब्यान्डले दोस्रो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत हुँदा कार्यक्रममा प्रविधिको प्रयोग गरेर मञ्च अगाडि हिउँ झरेको देखाइयो । लगत्तै पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ को प्रस्तुतिसँगै ब्याण्डका नेतृत्वकर्ता गुरुङको दर्शकसँग भलाकुसारी सुरु भयो । उनले भने, ‘हिमाल, पहाड र मधेसदेखि बुटवलमा जम्मा भई यो ठाउँ गुलजार बनाइदिने तपाईंहरु सबैलाई धन्यवाद छ है ।’ त्यसपछि उनले दर्शकको भलाकुसारीकै क्रममा सहरमा बसेका समय मिलाएर गाउँ जानुपर्छ है भन्दै गीत गाए ।

‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

लोक भाखाको यो गीत पस्कँदा साँच्चिकै गाउँको झल्को आएको प्रस्तुति हेर्न पुगेका बुटवल–१३ का सुन्दर तरामुले बताए । सुरुमा झम्काइदेउ झम्काइदेउ, गलैको माला झम्काइदेउ, मै मरिजाँउला जीवन छोटो छ, लेखेको सम्झना नफाल सिरानमा फोटो छ, आकासबाट के उडी आयो, भेडाको ऊनजस्तो, मायाको फोटो म खिचिलान्छु, पुर्नेको जुनजस्तो.. लगायतका लोक तथा राष्ट्रिय गीतबाट गायक गुरुङले बुटवलमा शनिबारको चिसो साँझलाई तताउँदै दर्शकलाई नचाए ।

बुटवलकै बाटो भएर लाहुर भर्ती भएका नेपालीका वीरताको कथा र लाहुरे घर फर्किंदाको खुसियाली व्यक्त गर्दै गीत गाउँदा मैदानमा भावुकता छायो ।

‘नैनाताल नैनाताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल’

बुटवल कन्सर्टको अर्को विशेषता नेपथ्यले भर्खरै तयार पारेको गीत ‘भटभटे’ बन्यो ।

‘भटटट भटटट भटभटे आयो
बाटो छोड छोड छोड’

सहरबजारमा तन्नेरीमाझ मोटरसाइकलको चल्ती बढ्दै गएको विषयलाई समेटेर तयार पारिएको गीतमा युवापुस्ताको भावना झल्किथ्यो ।

त्यसपछिको प्रस्तुति भने ‘गाउँगाउँबाट उठ’ को पालो आइपुग्यो । मञ्चबाट यो गीत गाइरहँदा रामनगर मैदानमा भरिएका दर्शकले गाएरै साथ दिइरहेका थिए । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक गुरुङले भने, ‘समाजलाई फेर्छु भन्नेहरु आफैँ फेरिएको देख्दा हामी तीनछक परेका छौं । देश बनाउन अब हामी नै एकजुट बनौँ है ।’ धुनकै क्रममा गायकबाट आएको यो आह्वानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।

कार्यक्रमको अन्त्यतिर ब्याण्डको चर्चित गीत ‘तालको पानी माछीले खाने, पिरेमसित जाने कि नजाने’ लोकलयको गीत गाएर अन्तिम प्रस्तुति ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो, जिउँदो रगतसरी यो’ गीतसँगै दुई घण्टाको कार्यक्रमबाट बिदा हुँदा दर्शकले कार्यक्रम सकिएको पत्तै पाएनन् ।

किनकी यो नेपथ्य ब्याण्ड थियो ।