गृहपृष्ठ कठारको एउटा बस्ती

कठारको एउटा बस्ती

कठारको एउटा बस्ती
  • प्रतिमा सिलवाल

पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको खुर्खुरेबाट दक्षिणतर्फ करीब ७ किलोमिटर बाटो छिचोलेपछि एउटा सानो बजार पुगिन्छ। खैरहनी नगरपालिका–१० मा रहेको कठार बजार हो, यो। बजारको मुखैमा वडा कार्यालय छ। त्यसको करीब ५०० मिटर अगाडि बढेपछि कठार माध्यमिक विद्यालयको सामुन्ने ‘व्यवस्थित’ देखिने घरहरू भएको एउटा वस्ती छ।

चितवनको कठारस्थित माझी वस्ती, जहाँका बासिन्दा अझै नागरिक बन्न पाएका छैनन् । तस्वीरहरु : मनिष पौडेल

१३० जनाको बसोबास रहेको यो वस्तीका माध्यमबाट हामी नेपाली समाजको एउटा कुरुप पाटो खोतल्ने प्रयासमा छौं। सरकारले अघिल्ला दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७) मा रु.१ करोड २५ लाख खर्च गरेर बनाइदिएको वस्तीका घरहरू एकै रंग र आकारका छन्।

१२ जेठ बेलुका यही वस्तीको एउटा घरमा रामचन्द्र माझी र उनकी श्रीमती गीता बेलुकीको खानासँगै रक्सी पिइरहेका थिए। रक्सीले मातिएका रामचन्द्रले गीतालाई यौन सम्पर्कको लागि तयार हुन भने। तर, गीताले मानिनन्। थुनामा रहेका रामचन्द्रले प्रहरीलाई दिएको बयान अनुसार आफ्नो यौन भोक मेटाउन नपाएपछि उनले गीताको मलद्वार र योनीमा हात र काठ हालेर क्षत–विक्षत बनाइदिए।

घाइते गीताको उपचारको क्रममा १६ जेठमा निधन भयो। ‘बुबाले मम्मीलाई पहिला पनि को–कोेसँग सुतिस् भन्दै पिट्नुहुन्थ्यो। हामी छुट्याउन जाँदा उल्टै कुटाइखान्थ्यौं”, १४ वर्षीया छोरी सुष्मिता भन्छिन्।

२८ घरधुरी भएका यहाँका प्रत्येकजसो घरमा अभाव, अशिक्षा र हिंसाका कहालीलाग्दा कथा भेटिन्छन्।

गीतामाथि रामचन्द्रले आक्रमण गरिरहेको त्यो साँझ गीताको चिच्याहट सुनेर घर जोडिएका छिमेकी पनि छुट्याउन गएनन्। किनभने यो वस्तीमा यस्तो कुटपिट, चिच्याहट र बर्बरता नियमित चलिरहने प्रक्रिया हो। ‘यहाँ लोग्नेले नकुटेका आइमाई र झगडा नभएको दिनै हुँदैन’ स्थानीय बासिन्दा तथा वडा सदस्य ग्यायन्ती पासवान भन्छिन् ।
गीता भरतपुर अस्पतालको शय्यामा छँदा उनकी कान्छी देउरानी उमाले हातमा घाउको खत देखाउँदै भनेकी थिइन्, “रक्सी खाएपछि गाली नगरेको र नकुटेको दिनै हुँदैन।”

देशको मध्यभागमा रहेको विकसित मानिने जिल्ला चितवनको यो वस्तीमा आइपुगेर समय पनि टक्क रोकिए जस्तो लाग्छ। यहाँका बासिन्दाको स्मृतिमा हिजोका कुरा धेरै छैनन्। आफ्नै जीवनमा भएका व्यक्तिगत घटनाको अभिलेख समेत छैन। वस्तीका अधिकांश बासिन्दा आफ्नै जन्ममितिबारे अनभिज्ञ छन्। गाउँभरमै १२ जनाको मात्रै नागरिकता छ।

बाहिरबाट विवाह भएर आएका महिलाबाहेक कसैको पनि व्यक्तिगत घटना दर्ता छैन। आमालाई सन्तान जन्माएको तिथिमिति थाहा छैन। अधिकांश बाबु दिन–रात मदिरामा लट्ठ हुन्छन्। नहुनेहरू बिरामी। छिनछिनमै हुने विवाद र मारपिट त ख्याल राख्ने कुरै भएन।

१८/२० उमेरका युवायुवती कोही पनि पढिरहेका छैनन्। अधिकांश त आमा/बाबु भइसके।

स्थानीय बवन महतो (५०) आफू थाहा पाउने भएदेखि नै माझी समुदायलाई यस क्षेत्रमा देखिरहेको बताउँछन्। उनका अनुसार खोला किनार अस्थायी बसोबास गर्ने र माछा मार्ने यहाँका माझीहरू तराईमा मुसहर भनेर चिनिने समुदायका हुन्।

कौशिलाको कहाली, ग्यायन्तीको विजयोत्सव

यही वस्तीको पहिलो घरकी कौशिला माझी २० वर्षकी भइन्। घरै अगाडि विद्यालय भए पनि उनी त्यहाँ गएकी छैनन्। ९ वर्षकी हुँदा आमा मेर्खुनिया र बुबा निका माझीले बिरेठाँटीको एउटा होटलमा भाँडा माझ्न पठाइदिएका थिए ।

१२ वर्षकी भएपछि घर फर्किएर ज्याला मजदूरीमै अल्झिएकी उनी निरन्तरको श्रम र कहालीबाट उन्मुक्तिको सपना देख्न थालिन्। नजिकैको गाउँमा थिए रवि चौधरी। एकअर्काप्रति आकर्षण बढ्योे। कलिलो रहरले लतारिएर रविसँगै भागिन्।

कौशिला माझी र ग्यायन्ती पासवान

“बुवा आमाले पुलिसमा उजुरी गरेछन्, पुलिसले सानै उमेरमा बिहे गर्न पाइँदैन भनेर कागज गरायो” कौशिला भन्छिन्, “तर घर आएपछि गाउँलेले अर्कासँग गइसकेकी केटी घरमा राख्नुहुन्न भनेर रविकै जिम्मा लगाए।”

बिहे गरेको केही वर्षसम्म त कौशिलालाई जीवन सामान्य नै लागेको थियो। त्यसपछि भने रविको सम्बन्ध कौशिलासँग मात्रै सीमित रहेन, कुटपिट शुरू भयो।

“अहिलेसम्म मसहित चार जनालाई बिहे गरिसक्यो। मेरै भाउजूलाई पनि भगाएर लगेको थियो, पछि दाइले प्रहरीमा उजुरी गरेर फर्कायो,” कौशिला भन्छिन्।

कौशिलाको पेटमा पाँच महिनाको गर्भ छ। रविले फेरि अर्की केटी भित्र्याएपछि उनी छोरीसहित जेठानीकहाँ शरणागत छिन्।

गीता माझीको मृत्यु भएको पर्सिपल्ट १७ जेठमा गाउँलेले राप्ती किनारमा उनको दाहसंस्कार गरे। मलामीमध्येका जितन माझी (२० वर्ष अन्दाजी) रक्सीले मातेर घर फर्किएका थिए। एक महिनाकी सुत्केरी श्रीमती सञ्जु (१८) सँग राम्रो खाना नबनाएको निहुँमा झगडा गरे।
“बढी भइस् भने गीताकै हालत बनाइदिन्छु भन्दै लात्तीले हान्यो”, सञ्जु भन्छिन्। एक महिनाकी सुत्केरीलाई कुटेको घटना वडा सदस्य ग्यायन्ती पासवानले थाहा पाइन्। गीताको मृत्युको घटनाको रापताप बाँकी नै थियो। त्यसैकारण हुनुपर्छ उनले प्रहरी बोलाइदिइन्। लोग्ने नहुँदा आफूलाई खानेकुराको जोहो कसले गरिदेला भन्ने चिन्ताका कारण सञ्जुले जाहेरी दिन मानिनन्। जितन एक रात प्रहरी चौकीमा बसेर फर्किए।

बाराको कोल्हवीकी सञ्जु फुपूको घरमा तोरी काट्न आएका बेला उनका बुवाले जितनसँग बिहे गराइदिएका थिए। जितन र सञ्जु दुवैसँग नागरिकता छैन, नागरिकता कसले कसरी पाउँछ त्यो पनि थाहा छैन।

१८ वर्षकी सञ्जु मात्रै होइन, ६० काटेकी छिङुरी माझीले समेत लोग्नेबाट कुटाइ खाइरहेकी छन्। पहिलो श्रीमान् बितेपछि भोला माझी (६५ वर्ष अनुमानित) सँग बिहे गरेकी छिङुरी भन्छिन्, “एकदिन मात्रै कुटेको भए याद हुन्थ्यो होला। दिनदिनै कुटाइ खाइरहँदा यही नै होला जिन्दगी भन्ने लाग्छ !”

बिहान ११ बजे छिङुरीले आफ्नो व्यथा हामीलाई सुनाइरहँदा उनका श्रीमान् भोला रक्सीले लट्ठिएर गल्लीमा भौंतारिंदै थिए।

सुष्मा माझी जसलाई बाबुले बालविवाह गरिदिए, श्रीमान बेला बेला कुटिरहन्छन् ।

३७ वर्षीया ग्यायन्ती पासवान, गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भइन्। ६ जेठमा निकालिएको विजय जुलूसमा अघिअघि हिंडेकी ग्यायन्ती अबिरले राताम्य अनुहार र मालाले भरिएको घाँटी लिएर घर पुगिन्। घरभित्र पस्न नपाउँदै उनलाई पति राम गोसाईंले बेहोसै हुने गरी कुटे। कुटाइको कारण थियो– केटा मान्छेहरूको हुलमा सँगसँगै लहर मिलाएर हिंडेको।

“चुनाव प्रचारका बेला अरूको मोटरसाइकलमा किन बसेकीे भनेर कुट्नुभयो। जुलूसमा अरू लोग्नेमान्छेसँग आँखा लगाइस् भनेर पनि कुट्नुभयो”, ग्यायन्ती भन्छिन्।

उसो त चुनावका बेला श्रीमतीको प्रचारमा राम एक महिना खटिएका पनि हुन्। “दिनभर सँगै हिंड्यो, बेलुका घर आएपछि कुटाइ खायो।” ग्यायन्ती भन्छिन्, “घर आएपछि कहिले पातलेसँग लभ गरिस् त कहिले मोटेसँग किन बोलिस् भन्दै कुट्नुहुन्थ्यो।”

१५ वर्षमा बिहे गरेकी चार सन्तानकी आमा उनी सुत्केरी स्याहार्ने, बिहे भोज आदिमा भाँडा माझ्ने जस्ता काम गरेर गुजारा चलाउँछिन्। भन्छिन्, “यहाँका मान्छेहरू रक्सी खाएर यत्तिकै जुधिरहन्छन्। बुढाले अति गरेपछि बुढीहरू पनि बच्चा छोडेर भाग्छन्।”

‘मेरै बुद्धि उस्तो’

गीता माझीको मृत्यु भएको तीन दिनपछि १६ जेठ बिहान ८ बजे माझी वस्तीमा भेटिएका ३५ वर्षीय जयश्री माझी रक्सी खाएजस्ता देखिएनन्। अरू बेला सधैं मातेका देखिने उनीसँग त्यसदिन रक्सी खाने पैसा रहेनछ– उनले हामीसँग मनको वह पोखे।

उनकी श्रीमती फूलकुमारी पाँच महिनाअघि नै तीन सन्तानलाई छोडेर माइती गाउँमा बस्न थालेकी रहिछन्। फूलकुमारी नहुँदा घरमा चुल्हो बल्दैन। छोराछोरी स्कूल जान छाडेका छन्। अत्यधिक रक्सी सेवनले गलेको ज्यानका जयश्री काम गर्न पनि सक्दैनन्।

जयश्री माझी जसको घर उनको अनियन्त्रित मदिरा सेवनका कारण उजाडिएको छ ।

“उसले गाउँमै किराना पसल चलाउँथी, त्यही कमाइबाट घर चल्थ्यो। केटाकेटी स्कूल जान्थे” जयश्री भन्छन्, “मेरो बुद्धि बिग्रिएर उसले छोडेकी हो। धेरै रक्सी खान थालेपछि म काममा जान नसक्ने भएँ। हिंड्दा हिंड्दै ढल्छु। छोराछोरी आमा लिन जाऊ भन्छन्, मलाई उसको अगाडि पर्ने आँट नै छैन।”

अहिले पनि श्रीमान् र तीन सन्तानका लागि खानाको सरजाम र केही खर्च फूलकुमारीले नै पठाइरहेको जयश्री बताउँछन्।

जयश्रीसँग कुरा गरेर अघि बढ्दै गर्दा माझ वस्तीमै भेटिए सन्तोष माझी– बिहान साढे ८ बजे नै रक्सीले मातिसकेका। वस्तीका नागरिकताधारी १२ जनामध्येका सन्तोषले आफूलाई विशेष ठान्दा रहेछन्।

अघिल्लो दिन राति छोरा र श्रीमतीलाई कुटेर घरबाट लखेटेका उनको हातमा एउटा बट्टा थियो। उनले त्यो बट्टा देखाउँदै भने, “हात मर्किएर ब्याण्डेज किन्न गएको थिएँ। फर्किंदा २५ रुपैयाँको रक्सी खाएर आएँ। बिहानै ट्याक्टरमा पराल लोड गरेर १०० रुपैयाँ आएको थियो।”

गएको राति छिमेकीसँग झगडा हुँदा उनको हातमा चोट लागेको रहेछ। गाउँका अरू पुरुषले आफ्नी श्रीमतीलाई आँखा लगाउने गरेको र त्यही निहुँमा झगडा भएको उनले सुनाए। “हिजो बेलुका श्रीमती र छोरा मलाई छोडेर गए। मेरो नागरिकता छ। यहाँका मान्छेहरूभन्दा म ठूलो हुँ,” रक्सीकै सुरमा उनले भने।

नागरिकताको प्रयास

माझी वस्तीका एम्पी माझी र झिन्का माझीसँग पनि नागरिकता छैन। उनीहरूलाई आफ्नो उमेर पनि थाहा छैन।

एम्पी भन्छिन्, “पहिले नागरिकताको कुरा गर्दा मान्छेहरू तिमीलाई विदेश जानु छैन, जग्गा पनि छैन, किन नागरिकता चाहियो भन्थे। हामीलाई पनि हो जस्तो लाग्थ्यो। अहिले थाहा भयो नागरिकता त चाहिने रहेछ।” उनी सानै छँदा बाराको सिमराबाट बुबाआमासँगै यो ठाउँमा आएको र यतै बसेको बताउँछिन्।

यमपी माझी, दुई पुस्ताले यहि ठाउँमा बिताएपनि नागरिकताबाट बञ्चित छिन्।

यसअघि उनीहरू नागरिकता बनाउन वडाध्यक्ष कारीराम महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएका थिए। प्रमुख जिल्ला अधिकारीले त्यो समूहका सबैभन्दा ज्येष्ठतर्फ हेरेर ‘तपाईंहरू कहाँबाट आएको’ भनेर सोधेछन्। “बिहानैदेखि रक्सीले मातेका ती बुढालाई झ्वाँक चल्यो र उनले इण्डियाबाट आएको भनिदिए। हामीले पनि नागरिकता पाएनौं’, एम्पी भन्छिन्।

२०४७ देखि २०६४ सालसम्मका निर्वाचनमा मतदान गरेका रामु माझी २०६४ सालमा गाउँमा आइपुगेको नागरिकता वितरण टोलीले आफूहरूसँग थुप्रै कागजात मागेको तर, नागरिकता नदिएको बताउँछन्।

उनी भन्छन्, “भरतपुरमा सिडिओलाई भेट्न पनि गयौं तर नागरिकता बनाइदिएनन्। आशैआशमा बुढापाका मरिसके।”

रामु आफ्ना छोरालाई वैदेशिक रोजगारीमा पठाउन चाहन्छन् तर, नागरिकता नहुँदा सकिरहेका छैनन्। रामुकी श्रीमतीको भने माइतीबाट बनाएको नागरिकता छ। तर, त्यो नागरिकताबाट पनि बच्चाहरूको जन्मदर्ता समेत हुन नसकेको उनको गुनासो छ।

यहाँ २०२७ सालदेखि नै माझी वस्ती रहेको बताउने बवन चौधरी बसोबासकै आधारमा पनि यो समुदायका व्यक्तिले नागरिकता पाउनुपर्ने जिकिर गर्छन्। “यही देशमा बसिरहेका, यहीं काम गरिरहेका नागरिकले नागरिकता पाउनुपर्छ। सरकारले छानबीन गरोस् हामी मुचुल्कामा हस्ताक्षर गर्न तयार छौं।”

सात कक्षामाथि पुग्नै मुश्किल

कठार माध्यमिक विद्यालयमा २०७८ सालको विद्यार्थी विवरण अनुसार वस्तीका ३७ जना बालबालिकाले भर्ना लिएका छन्। तीमध्ये ७ कक्षामाथि पुगेका एक जना मात्रै छन्। सात कक्षामा प्रथम भएका ती विद्यार्थी हुन्, विनोद माझी जसले आठ कक्षामा भर्ना लिएनन्।

घरमा हुने झैझगडा, आफ्नो जन्मदर्ता समेत नरहेको र विद्यालयमा एक जना पनि साथी बनाउन नसकेको हुँदा विद्यालय जान नसकेको उनी बताउँछन्। भन्छन्, “स्कूल जानै मन लाग्दैन।”

चितवनका जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीका अनुसार कक्षा ८ मा पुगेपछि जिल्लास्तरीय परीक्षा हुने भएकोले विद्यालयमा जन्मदर्ता पेश गर्नु अनिवार्य छ।

कठार विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेका अनुसार माझी वस्तीका मुन्नीलाल माझी र अमिर माझी कक्षा १० मा पुगेका थिए। तर, २०७४ सालमा उनीहरूले एसईई पास गर्न सकेनन्।

विद्यालयको तथ्यांक अनुसार हाल यो वस्तीका ८ जना बालबालिका पूर्वप्राथमिक तहमा भर्ना छन्। त्यस्तै कक्षा १ देखि ७ सम्म २६ जना भर्ना भएका छन्।

“तर, तीमध्ये आधाभन्दा बढी विद्यालय आउँदैनन्”, प्रधानाध्यापक कृष्णप्रसाद घिमिरे भन्छन्।

सोही समुदायका बालबालिकाको शिक्षाका लागि काम गरिरहेको लुमन्ती आवासका लागि सहयोग समितिकी सामुदायिक परिचालक रञ्जिता खनाल देवकोटा भन्छिन्, “अभिभावकमा छोराछोरीलाई नियमित विद्यालय पठाउनुपर्छ भन्ने चेतना नहुँदा प्राथमिक तहमै विद्यालय छोड्नेहरू बढी छन्।”

यो समुदायका अधिकांश अभिभावक मजदूरीका लागि बिहानै घरबाट निस्कने र घरमा खाना नहुँदा केटाकेटी भोक मेटाउन बाबुआमाका पछिपछि लाग्ने गरेको सामुदायिक परिचालक देवकोटा बताउँछन्।

गएको १६ जेठ बिहान वस्तीमा पुग्दा करीब ११ वर्षका एक बालक सडकमा खेलिरहेका थिए। कापी नभएर स्कूल नगएको बताउने उनका अभिभावक पनि छोरालाई स्कूल पठाउन उत्साहित देखिएनन्।

कृष्णप्रसाद घिमिरे, प्रधानाध्यापक, कठार माध्यमिक विद्यालय

विद्यालयमा गएर बुझ्दा कक्षा २ मा भर्ना भएका उनलाई विद्यालयले नै ‘केही दिन विद्यालय नआउनू’ भनेको रहेछ। शिक्षकलाई नटेर्ने, आफूभन्दा साना विद्यार्थीलाई पिट्ने उनको स्वभावमा परिवर्तन ल्याउन विद्यालयले प्रयास गरिरहँदा एकदिन ती बालकले १ कक्षामा पढ्ने बालिकाको संवेदनशील अंगमा जबरजस्ती सुम्सुम्याउने गरेको थाहा लागेपछि उनलाई केही समय घरै बस्न भनिएको एक शिक्षकले बताए ।

समुदायका अधिकांश बालबालिकाले आक्रामक व्यवहार देखाउने गरेको प्रधानाध्यापक घिमिरे बताउँछन्। यद्यपि, माझी समुदायका बालबालिकामा सिक्ने क्षमता भने राम्रो भएको शिक्षकहरूको अनुभव छ। केही बालबालिका त कक्षामा पहिलो पनि भएका छन्।

मानसिक रोग विशेषज्ञ डाक्टर सीपी सेढाईंका अनुसार परिवारमा भैरहने झगडा र अभिभावकको अनुशासनहीन व्यवहारका कारण बालबालिका आक्रामक हुन्छन्। यस्तो बेला उनीहरूमा ‘फल्टी लर्निङ्ग’ हुनपुग्छ।

डा. सेढाईं भन्छन्, “परिवार र समाजको गलत व्यवहारका कारण उनीहरूले बदमासी दोहोर्‍याउँछन् र दीर्घकालमा आपराधिक मानसिकताको समेत विकास हुन सक्छ।”

जाहेरी पर्दैन

गीता माझीको हत्यालगत्तै रामचन्द्र पक्राउ परे पनि चार दिनसम्म उनीविरुद्ध जाहेरी दिने कोही फेला परेन। चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारी जाहेरी नपरेपछि प्रहरी प्रतिवेदनकै आधारमा मुद्दा अघि बढाइएको बताउँछन्।

उक्त घटनाको भोलिपल्ट नै मृतककी जेठी छोरी पुष्पा माझीले प्रहरीमा किटानी जाहेरी दिन खोजेकी थिइन्। तर, उनीसँग कुनै प्रकारको परिचयपत्र नहुँदा जाहेरी दर्ता भएन।

सुष्मिता माझी र निशा माझी आमा गीता माझीको किरयाकर्मको अन्तिम दिनमा ।

जिल्ला प्रहरी कार्यालय चितवनमा गत जेठ मसान्तसम्म माझी वस्तीमा भएका विभिन्न १८ फौजदारी घटनाको विवरण छ। तीमध्ये एक गीता माझीको हत्या र अरू दुईवटा लागूऔषधका छन् भने बाँकी १५ वटा घरेलु हिंसा र कुटपिटका छन्। तर, कुनै पनि घटनामा जाहेरी नपरेको प्रहरी उपरीक्षक नवराज अधिकारी बताउँछन्।

वस्तीमा महिला हिंसा, लागूऔषध, बालविवाह, घरेलु मदिरा उत्पादन र सेवन मुख्य समस्या रहेको उपरीक्षक अधिकारीको भनाइ छ।

आफ्नै आँखा अगाडिको वस्तीमा यस्तो बिजोग अवस्था हुँदाहुँदै पनि स्थानीय दलका नेता र जनप्रतिनिधिलाई भने वास्तै छैन।

वडाध्यक्ष निर्वाचित भएका चन्द्रविक्रम चौधरीलाई उक्त वस्तीबारे जानकारी नै नभएजस्तो छ। वस्तीबारे उनी भन्छन्, “त्यहाँ जनचेतनाको कमी छ। हामीले जनचेतना जगाउनुपर्ने अवस्था छ।”

आफू भर्खरै निर्वाचित भएकाले धेरै कुरा थाहा नभएको बताउने उनले अगाडि थपे, “म भर्खरै आएको छु, अब उनीहरूका लागि काम गर्नेछु।”

पूर्व वडाध्यक्ष कारीराम महतो आफ्नो पालामा व्यवस्थित घर बनाएको, नागरिकताका लागि पहल गरेको दाबी गर्छन्। उनी भन्छन्, “हामीले उहाँहरूको व्यवहार परिवर्तन गराउने कोशिश पनि गरेको हो। आर्थिक विकासका लागि त्यो बेला बंगुरपालन सिकाइयो। तर, उहाँहरू पाठापाठी अलि ठूलो भएपछि काटेर खाइहाल्ने वा बेचिदिने गर्नुहुन्थ्यो। सिलाइ–कटाइ तालिम दिएर मेसिन नै हस्तान्तरण गरेका छौं। तर, जति कोशिश गर्दा पनि उहाँहरूको व्यवहार परिवर्तन गर्न सकेनौं।”

खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेती भने गीता माझीको मृत्युपछि मात्रै यो वस्तीबारे थाहा पाएको बताउँछिन्। भन्छिन्, “कुनै पनि चेतना नभएको, मानवीय विचार नै नभएको जस्तो छ यो वस्ती।”

यो समुदायको समस्या आफ्नो कार्यकालका लागि चुनौती रहेको उनको बुझाइ छ। समुदायमा चेतना फैलाएर, संगठित आयआर्जनमा लगाउनेबारे छलफल गरिने उनी बताउँछिन्। बालबालिकालाई विद्यालयमा नियमित गराउन, समुदायका सदस्यको व्यवहार परिवर्तन गर्न कुनै नयाँ तरिकाको निरन्तर चल्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ।

अति सीमान्तकृत

माझी वस्तीभन्दा करीब १०० मिटर पूर्व बस्ने रेवती पाण्डे नुवाकोटबाट ४० वर्षअघि चितवन झरेका हुन्।

उनका अनुसार यहाँका रैथाने थारूहरू मात्रै हुन्। “पछि बसाइँ सरेर आएका अन्य थुप्रै समुदाय एकआपसमा घुलमिल हुँदै गए, एकअर्काको संस्कृति र सभ्यता संक्रमण हुँदै गयो। तर, दलित माझीहरू भने एक्लिए” उनी भन्छन्, “माझीहरूको बसोबास बढ्दै गयो तर, सामुदायिक छलफल वा अरू क्रियाकलापमा उनीहरूको सहभागिता हुन सकेन।”

वडा नं. १० कै वडा सदस्य एवम् सामाजिक कार्यकर्ता मीरा चौधरी माझी समुदायमा प्रौढ कक्षा सञ्चालन गर्न, सहकारीको सदस्य बनाएर बचतका लागि प्रेरित गर्न प्रयास गर्दा पनि सफल नभएको बताउँछिन्।

माझी र अन्य समुदायबीचको सम्बन्ध मालिक र मजदूर जस्तो मात्रै छ। वरपरका गाउँ–वस्तीमा केही काम पर्‍यो वा श्रमिक चाहियो भने यहाँका मानिसलाई बोलाउँछन्। ज्याला दिन्छन् तर, पैंचो–सरसापट चल्दैन। चाडपर्वमा आउजाउ हुँदैन। आडैका ब्राह्मण, क्षेत्री र थारू समुदायका बालबालिका खेल्न पनि माझी वस्तीभित्र जाँदैनन्।

कुल १३० जनसंख्या रहेको यो वस्तीका ८३ जना नागरिकताका लागि योग्य छन्। तर, आफ्नै जमिन नभएका उनीहरू नागरिकता, व्यक्तिगत घटना दर्ता जस्ता आधारभूत अधिकारबाट समेत वञ्चित छन्।

स्थानीय रेवती पाण्डे ४० वर्षअघि आफूले देखेको माझी वस्तीको चेतना, सभ्यता अहिले पनि उस्तै रहेको टिप्पणी गर्छन्।

पूर्वी चितवनको खैरहनी नगरपालिकाका बासिन्दा एवम् जानकार प्रेम रिमाल माझी समुदायलाई कतैबाट पनि सचेतना र विकासतर्फ अघि बढ्ने प्रेरणा नमिलेको बताउँछन्।

उनका अनुसार यहाँका बहुसंख्यक आदिवासी थारू समुदायमा केही अघिसम्म पहिचान र अधिकारकै समस्या थियो। उनीहरु सामेली प्रक्रियामा भर्खरै प्रवेश गरेका हुन्। यस्तो अवस्थामा दलित माझीहरू सामेलिकरणका लागि प्रेरित हुन सकेनन्। “अरू समुदायलाई भैपरी आउँदा सेवकको आवश्यकता पूर्ति गर्ने माध्यम बनिरहे उनीहरू। त्यसबेलाका ठूलाठालुले स्वार्थवश मुसहरको उत्थानमा ध्यान नै दिएनन्– ठूलो शहरमा श्रमिकको आवश्यकता पूर्ति गर्ने ‘स्लम’ जस्तै भइरहे उनीहरु।

अशिक्षा र चरम अभावका कारण माछा, मुसा र घुँगीमाथिको अधिकारमै रुमल्लिएका माझीहरूलाई त्योभन्दा माथिको सपना साँच्न कसैले पनि प्रेरित नगरेको रिमाल बताउँछन्। भन्छन्, “अहिले पनि राजा र रैतीको सोच हाम्रो समाजमा व्याप्त छ। त्यसैले गाउँघरका जान्ने–बुझ्ने भनिएकाहरू होउन् वा स्थानीय जनप्रतिनिधि र दलहरू यी सीमान्तकृतलाई यो दलदलबाट निकाल्ने इमानदार प्रयासका लागि इच्छुक छैनन्।”

रिमाल त कतिसम्म भन्छन् भने, “यहाँका ठूलाठालुहरू यो समुदायलाई उपयोग मात्र गर्न चाहन्छन्। दलहरू यस्तो जनसंख्यालाई यही हालतमा बाँच्न अभिशप्त बनाइरहँदा निर्वाचनका बेला हुलहुज्जतमा लगाउन, फर्जी मतदाता बनाउन सजिलो हुने स्वार्थी सोच राख्छन्।”

उनीहरुका लागि बनाइएको एकीकृत वस्तीमा पनि दलहरूको राजनीतिक स्वार्थको गन्ध देख्छन् रिमाल। आवास योजनाका नाममा बजेट निकासा गरेर त्यसबाट कमिसन लिनका लागि पनि यो वस्ती बनाइएको उनको दाबी छ। भन्छन्, “एकै ठाउँमा राख्दा उनीहरूलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न सहज हुने र लोककल्याणकारी काम गरेको देखाउन पाइने भएका कारण पनि मुसहर वस्तीमा सरकारले घर त बनायो तर, उनीहरूमा चेतना भर्न र अन्य सुविधा उपलब्ध गराउन उत्सुक भएन।”

अहिले पनि देशको राजनीतिक नेतृत्वमा संविधान र कानूनका कल्याणकारी व्यवस्थालाई जनस्तरसम्म पुर्‍याउने क्षमता नहुनुको परिणामका रूपमा मुसहर वस्ती एउटा केस स्टडी हुनसक्ने बताउँछन् रिमाल।

यस्तो अवस्था परिवर्तनका लागि अबको निर्वाचनमा स्पष्ट दृष्टिकोण र विकासको दृढ इच्छाशक्ति भएको सक्षम नेतृत्वको उदय हुनै पर्ने उनी ठान्छन्।

म छोरा मान्छे हुँ।

काममा कहिलेकाहीं ढिला हुन्छ। कोसँग गएर आइस् भन्छे। हामीले गल्ती गरेको छैन। बिहानै भात पकाए चिसो हुन्छ भनेर ढिलो पकाउनु भनेको हुँ। म गुहु सोहोरेर (सेप्टिक ट्यांकी सफा गर्ने काम) कमाउँछु।

त्यही कमाइबाट घर चलाउँछु। बूढाबूढी सँगै रक्सी खाए ठिक छ तर, मैले एक्लै खाए झगडा गर्न थाल्छे। आज बिहान पनि काम सकेर रक्सी खाएको हुँ। कसैसँग झगडा गरेको छैन।

श्रीमतीलाई गाली चाहिं गर्छु। यसले पनि अरूको कुरा सुनेर के के भनिराख्छे। सालीसँग गफ गर्दा पनि शंका गर्छे ।

भोला माझी

‘माया नै यही हो कि !’

मेरो पहिलो श्रीमान् कपिलदेव बितेपछि योसँग (भोला) बिहे गरेें। कपिल बित्दा चार जना छोराछोरी थिए। म खोलामा गएर घुँगी र माछा ल्याउँथें। बच्चाहरूलाई त्यहीं ख्वाउँथें। बचेको बेच्थें।
माछा मार्न जाँदा सासूले खोला–खोला लोग्ने लिएर जान्छे भन्थिन्। कपिलको किरिया नसक्दै देउरानीले ‘तिम्रो बच्चा पाल्ने ठेक्का हाम्रो हो र !’ भन्न थालिन्। दुईवटा देवरले पनि अर्काको बालबच्चा किन पाल्ने भन्न थाले।

छिङ्गुरी माझी

यो, भोला माझी काम खोज्दै कताबाट आयो। मेरो हालत देखेर दया लागेछ, यसैले मेरो हात थाम्यो। दुई छोरीको बिहे गरिदियो। योसँग आएपछि जन्मिएको छोरा १२ वर्षको छ। सञ्जुको लोग्ने जितन पहिलो लोग्नेबाटको मेरो छोरा हो।

भोला काममा जान्छ र उतै खाएर आउँछ। म १२/१ बजेसम्म पर्खेर बस्छु। बिहान भात पकायो भने अहिले नपका भन्छ। मलाई भोक लाग्यो र पकाइहालें भने ऊ आएर कुट्छ। दुई छोरी र छोराहरूको घर यही गाउँमै छ। सबै चामल उनीहरूलाई दिन्छे भनेर शंका गर्छ। म बूढी भइसकें, यो उमेरमा पनि मलाई अरू लोग्नेमान्छेसँग आँखा लगाइस् भनेर गाली गर्छ। कुटाइ र माया एउटै पो हो कि झैं लाग्न थालेको छ !  

खाेज पत्रकारिता केन्द्र

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु