गृहपृष्ठ पोखराको भैरव नाच : साढे दुई शताब्दीको इतिहास

पोखराको भैरव नाच : साढे दुई शताब्दीको इतिहास

पोखराको भैरव नाच : साढे दुई शताब्दीको इतिहास

वासुदेव पौडेल

पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छरछ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ ।

यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानाङले जानकारी दिए । भय र दण्डका देवताका रुपमा हिन्दू र बौद्ध संस्कृतिमा प्राचीनकालदेखि भैरवको पूजाआजा हुँदै आएको पाइन्छ ।

तन्त्रोक्त विधिबाट पूजा गरिने भैरवका विभिन्न रूप छन् । भैरवको पूजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जनविश्वास रहेको अध्यक्ष प्रधानाङले बताए । नेवारी संस्कृतिमा भैरव नृत्यको प्राचीन परम्परा छ । यसलाई गण नृत्य ९गँ प्याखँ० भैरव नृत्य ९भैल प्याखँ०आदि नाममा काठमाडौँ उपत्यकामा विभिन्न भागमा प्रदर्शन गरिँदै आएको उनको भनाइ छ ।

पोखरामा पनि भैरव नृत्यको साढे दुई शताब्दीभन्दा पुरानो इतिहास रहेको बताउँदै उनले भने,‘पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वावधानमा सुरु भएको हो । यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा गरिँदै आइएकोमा २०२९ सालदेखि प्रत्येक छ वर्षको अन्तरालमा गरिँदै आइएको छ ।’
यसमा भैरव, काली, इन्द्रायणी, बराह, कुमारी, विष्णुवी, गङगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरी १२ पात्रको मुखुण्डो लगाएर नाचिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका सल्लाहकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् । एक सय छ जनाको सहभागिता रहने अध्यक्ष प्रधानाङ्गले जानकारी दिए । ठूलो सङ्ख्यामा कलाकार चाहिने यो नृत्य एक पटकमा सञ्चालन गर्न लगभग ८० हजार रुपैयाको लागत लाग्ने गुरु कृष्णदेव प्रधानाङ्गले जानकारी दिए ।

शास्त्रीय सङ्गीतमा आधारित यस नृत्यलाई परम्परागत नृत्य नाटिकाका रुपमा पनि लिने गरिन्छ । यस नृत्यका भजनमा भक्तपुरका राजा रणजित मल्लको नाम उल्लेख भएकाले यसको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गर्न सकिन्छ ।

पोखराको पुरानो यस सांस्कृतिक सम्पदाप्रति सबै समुदायका पोखरेलीको निरन्तर सहयोग र सद्भाव प्राप्त रहेको संस्कृतिविद् श्रेष्ठले बताए । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ मा यस नृत्य अङ्कित हुलाक टिकट प्रकाशन गरेको थियो ।

पोखराको वरिष्ठ संस्कृतिकर्मी स्व सर्वज्ञमान प्रधानाङ्ग भैरव सांस्कृतिक संरक्षण समितिको अध्यक्षसँगै लामो समयसम्म यस नृत्यको गुरुको भूमिका निर्वाह गरेका थिए भने स्वर्गिय कृष्णबहादुर वैद्य पनि गुरु भएर नेतृत्वदायी भूमिका निभाएका थिए । हाल यस नृत्यका गुरु कृष्णदेव प्रधानाङ्ग र उपगुरु मेघबहादुर ताम्राकार हुन् ।

नृत्यमा उपयोग गरिने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराईने हुनाने यसलाई तन्त्रमा आधारित मान्ने गरिन्छ । यसमा सहभागी हुने नृत्य कलाकारमा नृत्य शक्ति सञ्चार हुने समितिका कोषाध्यक्ष महेन्द्र बजिमयले जानकारी दिए । नृत्य सुरु गर्नुपूर्व कलाकारलाई नाटेश्वरको टीका लगाउने प्रचलन रहेको उनले बताए ।

मुखुणेमा शक्ति जगाउने काममा यस अघि धर्मराज गुभाजु, पुण्यराज गुभाजु कान्तिराज भाजू, विविध मङ्गल गुभाजु हुँदै यसअघिको २०७२ को नृत्यमा डा सिध्दिवीर कमाचार्य रहेका थिए । यसवर्ष मुखुण्डो सिद्धीमा ललितपुरका हीरारत्न गुभाजु संलग्न भएका छन् ।
यो नृत्य प्रदर्शन गर्न करिब दुई महिना लामो नृत्य, वाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । यसवर्ष प्रशिक्षणमा करिब तीन सय ५० भन्दाबढी कलाकार र बाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी भएको अध्यक्ष प्रधानाङ्ले जानकारी दिए ।

नृत्य अत्यन्त खर्चिलो भए पनि आवश्यक पर्ने वस्त्राभूषण विभिन्न दाता महानुभावबाट प्राप्त भएको सचिव सुरेन्द्रमान विजुक्क्षेले जानकारी दिए । यही मंसिर १५ देखि प्रदर्शन गर्ने तयारी भएको यस नृत्यको पहिलो दिनमा नाटेश्वरको सम्मानस्वरुप भीमसेन मन्दिर भीमसेनटोलमा प्रदर्शन गरिने योजना छ । यो नृत्य १६ गते गणेश मन्दिर गणेशटोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणेशमन्दिर भैरवटोल, २२ गते गुरु कृष्णदेव प्रधानाङको निवास्थान भैरवटोल प्रदर्शन गरिने जनाइएको छ ।

नृत्यलाई विभिन्न व्यक्ति तथा संस्थाले आमन्त्रण गर्ने प्रचलन रहेको र माग अनुसार विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको अध्यक्ष प्रधानाङले जानकारी दिए । नृत्य आमन्त्रण गर्न व्यक्तिगत र संस्थागत क्रमशः ३५ हजार र ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु