गृहपृष्ठ इरानी र रूसी सुरक्षा अधिकारीबीच युक्रेन संकटबारे छलफल
इरानी र रूसी सुरक्षा अधिकारीबीच युक्रेन संकटबारे छलफल
फाइल तस्बिर ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी र रूसी महासंघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभबीच युक्रेन संकटबारे छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायका साथै जारी युक्रेन संकट र समस्याबारे पनि विचारविमर्श गरेका इरानी समाचार वेबसाइट नूरले जनाएको छ ।
सचिव शामखानीले युक्रेन-रूस युद्धविराम तथा शान्ति वार्ताको लागि नेतृत्व गर्ने कुनै पनि प्रयासलाई इरानको स्वागत एवम् समर्थन रहने स्पष्ट गर्दै जारी द्वन्द्व अन्त्यका निम्ति सक्रिय भूमिका निर्वाह गर्न तेहरान तयार रहेको बताए । साथै उनले ऊर्जा, यातायात, कृषि, व्यापार, वित्त र वातावरणका क्षेत्रमा इरान र रूसबीचको सहकार्यलाई अझ सुदृढ तुल्याउन आह्वान गरे ।
इरानी अधिकारीले आतंकवाद र चरमपन्थीले क्षेत्रीय एवं विश्वशान्ति सुरक्षालाई जोखिममा पारेकाले तिनलाई निर्मूल गर्न सघन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग निरन्तररूपमा अघिबढाउनु पर्नेमा जोड दिएका थिए । रूसीले अधिकारीले रूस र इरानबीच विभिन्न क्षेत्रमा भएका पारस्परिक सहयोगले गति लिएकामा त्यसको प्रशंसा गर्दै दुवै देशका राष्ट्रपतिले द्विपक्षीय वार्ताका साथै सम्बन्ध सुधारलाई उच्च प्राथमिकतामा राखेका नूर न्यूजमा उल्लेख छ ।
प्रकाशित समय : १३:३२ बजे


















