गृहपृष्ठ आइसीसी टी-२० विश्वकप : नेदरल्यान्ड्सको पहिलो जित
आइसीसी टी-२० विश्वकप : नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सले आइसीसी टी-२० विश्वकपको सुपर-१२ मा बुधबार पहिलो जित हासिल गरेकाे छ । एडिलेड ओभलमा सम्पन्न समूह-२ को खेलमा जिम्बाब्वेलाई पाँच विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलाे जित दर्ता गरेकाे हाे ।
जिम्बाब्वेले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८ ओभरमा पाँच विकेट गुमाएर १२० रन बनायो । नेदरल्यान्ड्सको जितमा ओपनर ओडाउडले ४७ बलमा आठ चौका र एक छक्कासहित ५२ रन बनाए । टम कुपरले ३२ रन बनाउँदा बास डे लिडेले अविजित १० रन जोडे ।
जिम्बाब्वेका रिचार्ड एन्गाराभा र ब्लेसिंग मुजरबानीले समान दुई विकेट लिँदा लुक जंगवेले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको जिम्बाब्वेले १९.२ ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको थियो ।
जिम्बाब्वेका सिकन्दर राजाले सर्वाधिक ४० रन बनाएका थिए । सिन विलियम्सले २८ रन बनाउनुबाहेक अन्य टिमका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जिम्बाब्वेलाई कम योगफलमा रोक्न नेदरल्यान्ड्सका पाउल भान मिकेरेनले तीन विकेट लिएका थिए । ब्रान्डन ग्लोभर, लोगन भान बिक र बास डे लिडेले समान दुई विकेट लिँदा फ्रेड क्लासेनले एक विकेट हात पारे ।
समूह-२ मा चार खेलबाट दुई अंक जोडे पनि नेदरल्यान्ड्स तालिकाको पुछारमा छ । समान खेलबाट तीन अंक जोडेको जिम्बाब्वे चौथो स्थानमा छ ।
आजै समूह-२ को अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रकाशित समय : १४:१९ बजे