गृहपृष्ठ नेपालमा सहरी क्षेत्रकाे जनसंख्या बढ्यो

नेपालमा सहरी क्षेत्रकाे जनसंख्या बढ्यो

नेपालमा सहरी क्षेत्रकाे जनसंख्या बढ्यो

नेपालको सहरी क्षेत्रको जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार सहरी क्षेत्रमा बसोवास गर्नेको जनसंख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको सहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दंगालले जानकारी दिए ।

२०६८ सालमा सहरी क्षेत्रको जनसंख्या ६३.१९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसंख्या ३६.८१ प्रतिशत थियो । संयुक्त राष्ट्र संघीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट)ले यसै महिना प्रकाशित गरेको विश्व सहरी प्रतिवेदन २०२२ मा उल्लेख भएअनुसार सहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ । ती देशमा कुल जनसंख्याको ७९ प्रतिशत मानिस सहरी क्षेत्रमा बस्दछन् ।

यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म सहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसंख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ ।

अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व बसोवास दिवसका अवसरमा कार्यक्रमले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । संयुक्त राष्ट्र संघीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवर्द्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्र संघले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो ।

नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइन्छ । अक्टोबर महिनाको पहिलो सोमबार दसैंको महाअष्टमी परेकाले आज तेस्रो सोमबार ‘समावेशी सहरबस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोवास दिवस २०७९ विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको पनि मन्त्रालयले जनाएको छ ।

दिगो विकास लक्ष्य १.१ ले समावेशी तथा दिगो सहरीकरण गर्ने रहेको छ । दिवसका अवसरमा आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा व्यवस्थित सहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ । कार्यक्रममा विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, इञ्जिनियरिङ अध्ययन संस्थान, काठमााडौं र ललितपुर महानगरपालिकाका तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याबिट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको शहरी विकास तथा भवन निर्मािण विभागले जनाएको छ । दिगो र वतावरणमैत्री सहरी विकासमा जोड दिँँदै विश्व बसोवास दिवसका कार्यक्रम गरिने भएको छ ।

प्रकाशित समय : ०९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु