गृहपृष्ठ विभागले ताेक्याे काठमाडाैंका लागि खानेपानीकाे अधिकतम मूल्य
विभागले ताेक्याे काठमाडाैंका लागि खानेपानीकाे अधिकतम मूल्य
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीमा अधिकतम खुद्रा मूल्य (एमआरपी)भन्दा बढी नलिन सचेत गराएको छ । विभागले १ लिटर (बोतल) पानीको अधिकतम १६ रुपैयाँभन्दा बढी नलिन व्यापारीलाई निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ र २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ । व्यावसायीले भने मनलाग्दी बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन् । यस्तै जारको पानीमा ५० देखि ६० रुपैँया असुल गर्दै आएका छन् ।
विभागले सोमबार पानी उत्पादक तथा बिक्रेताहरूलाई बोलाएर मनलाग्दी पानी बिक्री नगर्न भनेको थियो । यस्तै व्यावसायीहरूले २० लिटरको जार भनी १९ लिटरको जार बनाएर बिक्री गर्ने गरेको पनि देखिएको छ । पानीको गुणस्तर पुगे/नपुगेको जारको गुणस्तर भए/नभएको विषयमा विभागले अनुगमनसमेत सुरु गर्ने भएको छ । विभागका महानिर्देशक महेश भट्टराई पानीको मूल्य र गुणस्तरको विषयमा विभागले गम्भिर रूपमा लिएको बताए ।
पानीको मूल्यको विषयमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अध्ययन गरी पानीको मूल्य तोकि लागू गर्न निर्देशन दिएको हो । जसअनुसार उपत्यकाबाहिर १ लिटर बोतलको २० रुपैयाँ र २० लिटर जारको ६० रुपैयाँ तोकिएको छ ।
प्रकाशित समय : १९:२३ बजे