गृहपृष्ठ भारी वर्षापछि कैलालीको पूर्वी क्षेत्रका वस्ती डुवानमा
भारी वर्षापछि कैलालीको पूर्वी क्षेत्रका वस्ती डुवानमा

बिहीबारदेखिको बर्षाका कारण कैलालीको पूर्वी क्षेत्र डुवानमा परेको छ । बाढीले बस्ती डुवानमा परेका छन । बर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरु डुवानमा परेको कैलाली प्रहरीले जनाएको छ ।
कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका एक सय ६० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
यस्तै सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका दुई सय ५० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका दुई सय ५० घर डुवानमा परेको बताइएको छ । डुवानमा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । नदीको वहाव बढ्ने क्रम जारी रहेकाले सर्तक रहन आग्रह गरिएको छ ।
कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ बालकोटस्थित भिमदत्त राजमार्गमा अविरल बर्षाका कारण माथिबाट पहिरो खस्न गई बाटो अवरोध भएको छ ।
इन्स्पेक्टर धर्म सिंह बिष्टको कमाण्डमा छ जनाको प्रहरी टोलीले अवरुद्ध बाटो खोल्ने प्रयास गरिरहेको जनाइएको छ । पहिरोले बाटो अवरुद्ध गर्दा सानो ठुलो गरी ९/१० वटा गाडी रोकिएको कैलाली प्रहरी प्रवक्ता जोशीले बताए ।
भिमदत्त राजमार्गको अन्य ४/५ स्थानमा पनि सा–साना पहिरो गई सडक अबरोध भएको उनले बताए ।
प्रकाशित समय : ११:१३ बजे