गृहपृष्ठ १० रुपैयाँमै एक जार पानी !

१० रुपैयाँमै एक जार पानी !

१० रुपैयाँमै एक जार पानी !

घरछेउमै निर्मित ‘पानी पँधेरो’मा शुद्ध पानी पाएपछि काठमाडौं–९, सिनामंगलका जनकराज सुवेदीको परिवार दंग छ । मिठो पानी, त्यो पनि १० रुपैयाँमै एक जार (२० लिटर) पाउँदा खुसी नहुने कुरै भएन । पँधेरोबाट पानी वितरण सुरु भएयता उनको परिवारले त्यहीँको पानी उपभोग गरिरहेका छन् ।

सिनामंगल, जागृतिनगरकी सर्मिला मगरले पँधेरोको पानी पिउन थालेको एक हप्तामात्रै भयो । छिमेकीमार्फत् थाहा पाएपछि आफू पनि पानी लिन आउन थालेको उनले बताइन् । जारको ‘सिलप्याक’ पानीभन्दा पँधेरोकै पानी मिठो भएको उनी बताउँछिन् । ‘थाहा पाएदेखि यहाँकै पानी लैजाने गरेकी छु । पानी मिठो छ,’ बुधबार बिहान पँधेरोमा भेटिएकी उनले भनिन्, ‘जारको पानीमा लेउ भेटिएको सुनिन्थ्यो । तर, यहाँको पानी अहिलेसम्म राम्रो छ ।’

सिनामंगल, गैरीगाउँस्थित पानी पँधेरो निर्माण भएपछि स्थानीयहरुले राहतको महसुस गरेका छन् । धारामा पानी नियमित नआउने, आए पनि पिउनयोग्य नहुने र जारको महँगो पानीको विकल्पमा पँधेरोको सुविधाले उनीहरु दंगदास छन् । डोको, साइकलदेखि मोटरसाइकलसम्म लिएर पानी लिन आउनेहरुको भीड बढ्दो छ ।

पानी भर्न पालाे कुर्दै स्थानीयहरू ।

गत साउन १४ मा योजनाको उद्घाटन गरेयता हालसम्म सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् । सो पानी पँधेरो निर्माण भक्तपुरस्थित खानेपानी तथा सरसफाई डिभिजन नं. ५ कार्यालय र शक्तिविनायक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गरेको हो । हाल पँधेरोको सञ्चालन सोही समितिले गरिरहेको छ ।

समितिका सदस्य शिवजी गौतमका अनुसार हाल बिहान र बेलुकी दैनिक दुईपटक पानी वितरण भइरहेको छ । समितिले बिहान ८ देखि १० र बेलुकी ५ देखि ७ बजेसम्म पानी वितरणको समय तोकेको छ । हाल चारवटा धाराबाट पानी वितरण भइरहेको सदस्य गौतमले बताए । ‘एउटा धारामा कार्ड राखेपछि र अर्कोमा सिक्का छिराएपछि पानी खस्छ । एउटा चाहिँ हातैले खोलेर पानी भर्नुपर्छ । एकपटकमा २० लिटर पानी खस्छ,’ उनले भने, ‘एउटा चाहिँ एक लिटर मात्र पानी आउने धारा छ ।’

पानी शुद्धीकरण गर्ने प्लान्ट ।

एक जार (२० लिटर) पानी भर्न एक मिनेट लाग्ने सदस्य गौतमले बताए । शुद्धीकरण गरिएको पानी मौज्दात रहेको खण्डमा निर्धारित समयभन्दा पछिसम्म पनि पानी वितरण गर्ने गरिएको उनले जानकारी दिए । पछिल्लो समय पानी लिन निकै टाढाबाट पनि मानिसहरु आउने गरेको उनको भनाइ छ । भन्छन्, ‘यहाँको पानी इमाडोल, धापाखेलसम्म पुगेको थाहा पाइयो । प्रचारप्रसार बढ्दै जाँदा पानी लिन आउनेहरुको संख्या पनि बढिरहेको छ ।’

पानीको गुणस्तरको विषयमा डिभिजन कार्यालयका प्राविधिकहरुले समेत सुनिश्चित गरेको समितिका अध्यक्ष विकास गौतमको भनाइ छ । पिउने पानीको विषयमा कुनै गुनासो नआएको उनी बताउँछन् । ‘हामी उत्साहित छौं । यो हाम्रो सेवामुलक योजना हो । अझ सहज र सुलभ ढंगले उपभोक्तालाई व्यवस्थित तरिकाले पानी उपलब्ध गराउने हाम्रो सोच छ,’ उनले भने । उनका अनुसार हाल पानी बिक्रीको रकमले नै विद्युत् महसुल, मसलन्द लगायतका खर्च धानिरहेको छ ।

कार्ड र सिक्काद्वारा पानी भर्ने धारा ।

सो खानेपानी योजनाका लागि ४० लाख ६५ हजार रुपैयाँ खर्च भएको हो । यसको ९० प्रतिशत रकम ३६ लाख ५८ हजार रुपैयाँ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र बाँकी रकम स्थानीय उपभोक्ताले जुटाएका हुन् । यसमा प्राविधिक सहयोग लुसेन्ट ड्रप नेपालले गरेको छ । पानी शुद्धीकरण गर्ने यस प्रक्रियामा प्रयोग भएका सबै मेसिन र प्रणाली स्वचालित छन् । यिनै मेिसनमार्फत विभिन्न चरणमा पानी फिल्टर भइ ट्यांकीमा जम्मा हुनछ ।

जमिनमुनिबाट निकालिएको पानी शुद्धीकरण गर्दा ४० प्रतिशत मात्र पिउनयोग्य हुने र बाँकी खेर जाने पानीलाई पनि जमिनमै पठाउनेगरी योजना भइरहेको समितिले जनाएको छ । यसका लागि नजिकै रहेको हवाई विभागको जग्गामा पोखरी निर्माण गर्न समितिले प्रक्रिया थालिसकेको छ ।

डिभिजन कार्यालयका अनुसार काठमाडौं उपत्यकामा खानेपानीका यस्ता योजनाहरु सातवटा सम्पन्न भइसकेका छन् । यी योजनाहरुको सुपरिवेक्षण गरेका र हालै सेवानिवृत्त भएका डिभिजन कार्यालयका इञ्जिनियर कुलप्रसाद शर्माका अनुसार पेप्सीकोला क्षेत्रमा ५, नरेफाँटमा २, गैरीगाउँमा एउटा निर्माण सम्पन्न भइसकेका छन् । हाल सिनामंगलकै पञ्चकुमारी मन्दिरमा निर्माणाधीन रहेको छ भने गौशालाको राममन्दिरमा प्रस्तावित छ ।

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु