गृहपृष्ठ यसो गरे आत्महत्याबाट जोगिन सकिन्छ

यसो गरे आत्महत्याबाट जोगिन सकिन्छ

यसो गरे आत्महत्याबाट जोगिन सकिन्छ

‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस-२०२२ मनाउन लागिएको छ । सन् २००३ मा आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय संघले विश्व स्वास्थ्य संगठनको संयोजनमा विश्व आत्महत्या रोकथाम दिवसको स्थापना गरेको थियो । त्यो वर्षदेखि हरेक वर्ष सेटेम्बर १० तारिखका दिन यो दिवस मनाउदै आइरहेको छ । आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।

आत्महत्याको सवाल नेपालमा पनि एउटा महत्वपूर्ण विषय हो । कोभिड-१९ को महामारी, सन् २०१५ मा आएको विनासकारी भुकम्प, सहरकेन्द्रित बसाई-सराई, अमिल्दो सामाजिक र आर्थिक गतिविधि एवं बोझले आत्महत्याको संख्या दिन प्रतिदिन बढिरहेको नेपाल प्रहरीको तथ्यांकले जनाएको छ । तथ्यांकको आधारमा विगत १० बर्षको अवधिमा नेपालमा ५३ हजार २९८ जनाले आत्महत्याको कारण आफ्नो ज्यान गुमाएका छन् ।

जसअनुसार आर्थिक बर्ष ०६९/०७० मा ३ हजार ९७४ जना, ०७०/०७१ मा ४ हजार ५०४ जना, ०७१/०७२ मा ४ हजार ३३२ जना, ०७२/०७३ मा ४ हजार ६८० जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ०७३/०७४ मा ५ हजार १२४ जना, ०७४/०७५ मा ५ हजार ३१७ जना, ०७५/०७६ मा ५ हजार ७५४ जना, ०७६/०७७ मा ६ हजार २७९ जना, ०७७/०७८ मा ७ हजार १४१ जना, र ०७८/०७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेको तथ्यांक छ ।

हुन त गत आर्थिक बर्ष २०७८/७९ मा भने आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४.३५ प्रतिशतले घटेको देखिन्छ । तर त्यतिले मात्रै खुसी हुने अवस्था छैन । किनभने तथ्यांकलाई हेर्दा नेपालमा अझै पनि हेरक दिन सरदर १९/२० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको पाइन्छ । यस्तो हुदाँहुदै पनि यो बिषयमा प्रभावकारी अनुसन्धानहरु हुन नसक्नु हामी सबैको लागि दुखद पक्ष हो ।

आत्महत्या रोकथामका निम्ति यसका प्रारम्भिक लक्षणहरु पहिचान गरी सहयोगका लागि तत्पर भई पूर्वाग्राही भावना नराखी बिनातर्क आत्महत्यासम्बन्धी सोच वा विचार भएकाको कुरा र समस्यालाई सुन्ने बानीको विकास गरेमा यस्ता घटनालाई न्यून पार्न सकिन्छ ।

नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्यमा समेत सन् २०१५ देखि २०३० सम्ममा प्रति एकलाख जनसंख्यामा आत्महत्याको दरलाई १६.५ बाट घटाई ४.७ मा ल्याउने भनिएता पनि हाल आत्महत्याको दर २३.४ प्रति एकलाख जनसंख्या रहेको पाइन्छ । मानसिक स्वास्थ्य र आत्महत्यासँग सम्बन्धित भ्रम र मिथ्याका कारण कति आत्महत्याका घटनाहरु प्रहरीसमक्ष आउन नसकिरहेको अवस्था छ । नेपालमा अहिलेसम्म आत्महत्याका प्रयासहरु गणना गर्ने कुनै प्रविधि वा प्रणाली छैन । नेपालमा आत्महत्याको दर दिनानुदिन बढ्दो क्रममा रहेको तथ्यांकले गर्दा पनि यसको रोकथामका लागि अझ सुदृढ कदमहरु चाल्न अत्यावश्यक रहेको देखिन्छ ।

आत्महत्या एक संवेदनशील एवं जटिल विषय भएकाले गर्दा यसलाई एक मात्र निकायको प्रयासले नभई सबै क्षेत्रको साझा र एकीकृत सवालको रुपमा लिई ठोस कदम चाल्न अत्यन्त जरुरी छ । यसका लागि नेपाल सरकारले एकीकृत बहुपक्षीय रणनीति र कार्ययोजनाको तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ । अनि स्वास्थ्यकर्मी, परामर्शदाताहरु लगायत मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरुले आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरुलाई निरन्तर निगरानीमा राख्दै उचित मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको छ ।

आत्महत्या रोकथामका निम्ति यसका प्रारम्भिक लक्षणहरु पहिचान गरी सहयोगका लागि तत्पर भई पूर्वाग्राही भावना नराखी बिनातर्क आत्महत्यासम्बन्धी सोच वा विचार भएकाको कुरा र समस्यालाई सुन्ने बानीको विकास गरेमा यस्ता घटनालाई न्यून पार्न सकिन्छ । यसका साथै सम्पूर्ण मिडियाकर्मीहरुले आत्महत्यासम्बन्धी समाचार संकलन तथा सम्प्रेषण गर्दा संवेदनशील भई सूचना प्रवाह गर्न जरुरी छ । निर्धक्क आफ्ना कुरा राख्न सक्ने र सुनिदिने वातावरण मात्रको निर्माणले आत्महत्या रोकथाममा ठूलो सहयोग पुग्छ ।

तपाईं हाम्रो सहकार्य र सहयोग भएमा मात्र आत्महत्या रोकथाम सम्भव छ । आत्महत्या रोकथाम सबैको साझा सरोकारको विषय भएकोले सबैले संवेदनशीलता पूर्वक यससम्बन्धी ध्यानकेन्द्रित गर्दै अगाडि बढ्न जरुरी रहेको छ ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु