गृहपृष्ठ ‘चौरीको राजधानी’मै संकटमा चौरीपालन

‘चौरीको राजधानी’मै संकटमा चौरीपालन

‘चौरीको राजधानी’मै संकटमा चौरीपालन

सम्झना कार्की

आफ्नो उमेरभन्दा पनि पाको र ठाडो भीरमा अवस्थित चौरीखर्क धाउने वृद्धवृद्धाहरूलाई अचेल खर्कमा रमाइलो कम र अत्यास ज्यादा लाग्न थालेको छ । आफ्ना न्यूनतम आवश्यकता पनि यो पेसाबाट पूर्ति हुन सकेको छैन् । चौरी पाल्नेका छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । बाँकी बालबालिका गाउँमै चौरीगोठ र घर गर्दछन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानको स्पाबल चौरीखर्कमा भेटिएका नोर्साङ शेर्पा आफूले जति दुःख गरे पनि छोरीछोरीले भने आफ्नो जस्तो जीवन बिताउन नपरोस् भन्ने चाहन्छन् । उनले छोराछोरीलाई काठमाडौंमा पढाउन चौरी पालेर अब सम्भव नभएको बताए । उनीसँगै चौरी गोठमा भेटिएकी साङमु शेर्पाको पनि आफ्नो जीवन चौरी र खर्क गर्दै बिते पनि छोराछोरीले भने पढेर केही गरुन् भन्ने चाहना छ ।

दुर्गम ठाउँ भएकाले पनि सुखसयलको याचना उनीहरूमा छैन । चौरी, खर्क र त्यहीँ वरपरमै उनीहरूको संसार अडिएको छ । किसानको उत्पादन सस्तोमा किनेर महँगामा बिक्री गर्ने ब्यापारीलाई आर्थिक फाइदा भए पनि चौरी पालक किसान भने मारमा छन् । ऋण गरेर चौरी पालेको तर वर्षौंसम्म पनि आफू ऋणमुक्त हुन नसकेको नालुङ शेर्पा बताउँछन् ।

कुनै बेला ‘चौरीको राजधानी’ भनेर चिनिने सिन्धुपाल्चोकमा चौरीपालन संकटमा पर्दै गएको छ । चौरी गोठमा जन्मिएका र हुर्किएका अधिकांश युवा वैदेशिक रोजगारीमा गएपछि यो व्यवसाय संकटमा पर्न थालेको हो । नौ महिनासम्म हिमाली खर्कमा बिताउँदै चौरीपालन गर्न युवाको आकर्षण नभएपछि यो व्यवसाय संकटमा पर्दै गएको सिन्धुपाल्चोकको तेम्बाथनका किसान पासाङ तेम्बु शेर्पाले बताए । अहिले चौरी पालन पेसा व्यवसायभन्दा पनि बाध्यता बनेकोे छ ।

यस भेगका तामाङ र शेर्पा जातिको मुख्य आम्दानीको स्रोत नै यही हो । चौरीको दूधबाट बन्ने चिज, मख्खन, छुर्पीलगायत परिकारको बजारमा अझै माग बढ्दो छ । तर चौरी पाल्नेहरूको संख्या घटेपछि अहिले मागअनुसारको आपूर्ति हुन सकेको छैन । परम्परा धान्ने नाममा होस् या जानेको कामको निरन्तरता पशुपालनभन्दा परको संसार देख्नै बाँकी छ यहाँका स्थानीयले । परम्परागत पेसा धान्दै आएका बुढाबुढीका लागि अहिले यो पेसा बाध्यता बन्न थालेको छ ।

प्रकाशित समय : १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु