गृहपृष्ठ खोलाको छेउमा पुल, जोखिम मोलेर खोला तर्दै स्थानीय
खोलाको छेउमा पुल, जोखिम मोलेर खोला तर्दै स्थानीय

बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।
पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुंगाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य छन् ।
सडक कटानपछि वर्षैपिच्छे पुल अगाडि पहिराले क्षति गरेर जाने बाटो नभएकाले स्थानीयले पुल उपयोग गर्न नपाएको स्थानीय खडक बिष्टले बताए । पुल सञ्चालनमा ल्याउनुभन्दा पनि पुललाई स्थान्तरण गर्नुपर्ने स्थानीयको माग छ । उक्त पुल स्थान्तरण भएमा भण्डारका स्थानीयलाई सहजरुपमा अन्य वडा तथा सदरमुकाममा जान र अन्य वडाका स्थानीयलाई भण्डार क्षेत्रमा आउन सहज हुने जनाइएको छ ।
जयपृथ्वी नगरपालिका–३ पडेससंग प्रत्यक्ष सम्बन्ध भएको भण्डारका स्थानीयलाई उक्त पुल स्थान्तरण गरेमा सहज हुने देखिन्छ । जोखिम मोलेर खोला तर्दा दिनहुँ समस्या हुने गरेको र धेरै वर्षा भएर खोला बढेको दिनमासमेत विद्यालय छुट्ने गरेको पाण्डु माध्यमिक विद्यालय पडेसमा कक्षा १० मा अध्यनरत छात्र विजय बिष्टले बताए ।
यता वडाध्यक्ष डम्बरबहादुर सिंहले आफूलाई त्यो विषयमा स्थानीयले कुनै कुरा नगरेको र आफूलाई जानकारी नभएको बताए । स्थानीयले आफूकहाँ माग लिएर आए उक्त विषयमा छलफल गरिनेसमेत उनको भनाइ छ ।
प्रकाशित समय १४:०१ बजे