गृहपृष्ठ माघदेखि सञ्चालनमा आउँदै लुम्बिनी केबलकार
माघदेखि सञ्चालनमा आउँदै लुम्बिनी केबलकार
बुटवलमा निमार्ण भइरहेको लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने भएको छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताए । करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिर सहितका संरचनाहरु निर्माण हुने कम्पनीले जनाएको छ ।
‘केवलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेशनको सब-इस्टक्चरको निर्माण कार्य करिव सम्पन्न भई सुपर स्टक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ,’ उनले भने, ‘नौवटा टावरमध्ये आठवटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडि बढिरहेको छ ।
उनले माथिल्लो स्टेशनमा सब-इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको बताए । माथिल्लो स्टेशनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग-सँगै सम्पन्न गर्नुपर्ने भएकाले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्तबमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको ढकालले जानकारी दिए ।
ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन-होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारी दिएका छन् । केबलकारको शिलन्यास पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल फागुन १ गते गरेका थिए ।
प्रकाशित समय : ०८:३६ बजे