गृहपृष्ठ पठाओ कार लाइट तेस्रो वर्षमा प्रवेश, गर्यो आकर्षक योजना सार्वजनिक
पठाओ कार लाइट तेस्रो वर्षमा प्रवेश, गर्यो आकर्षक योजना सार्वजनिक

काठमाडौं । पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको छ । यो अवसरमा पठाओ नेपालले आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत सित्तैमा ट्याक्सी बुकिङ गर्न समेत सकिने कम्पनीले जनाएको छ ।
कार लाइट तेस्रो वार्षिकोत्सवका दिन साउन २४ गते ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड निस्शुल्क हुने प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले बताए। जसमा सेवाग्राहीले कुनै शुल्क तिर्नुपर्दैन, सो रकम पठाओ नेपालले ट्याक्सी चालकलाई भुक्तानी गर्नेछ ।
साथै साउन १६ देखि साउन २४ गते भित्र ‘तीनछक्क पर्ने योजना’ अन्तर्गत तीन जना क्याप्टेन ट्याक्सी चालकले राइडको समयमा तीन जना प्रसिद्ध सेलिब्रेटीको हातबाट आकर्षक धनराशिका साथै उपहारहरू पाउने व्यवस्था गरिएको छ ।
कार लाइट सेवालाई नेपालमा लोकप्रिय बनाउन मद्दत गर्ने क्याप्टेन र सेवाग्राहीको अमूल्य योगदानको पहिचान गर्दै यो योजना ल्याइएको बस्नेतले बताए । ‘म र हाम्रो कम्पनी यो कोसेढुङ्गा पार गर्न पाएकोमा धेरै कृतज्ञ छौँ, हामी हाम्रा हजारौँ क्याप्टेन र सेवाग्राहीको समर्थनमा अर्को सफल वार्षिकोत्सवको प्रतीक्षामा छौँ ।’
गेटदेखि गेटसम्म सेवा रहेको पठाओको एपमा नै भाडा देखिने भएकाले बार्गेनिङको झन्झट नभएकाले पठाओ ट्याक्सी सहज र लोकप्रिय बनेको छ ।
सन् २०१९ अगस्ट ९ मा पठाओले शुरू गरेको ‘कार लाइट’मा हाल करिब ९ हजार ट्याक्सी आवद्ध छन् । नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ मार्फत नेपालमा सेवा सुरू गरेको ट्याक्सी सेवासँगै पठाओले पठाओ बजार, पठाओ फुड, पठाओ लोकलसमेत सञ्चालनमा ल्याएको छ ।
प्रकाशित समय : १५:५२ बजे