गृहपृष्ठ देउवा, दाहाल र ओली ‘बा’हरू ! अब आराम गर्नुहोस्
देउवा, दाहाल र ओली ‘बा’हरू ! अब आराम गर्नुहोस्

सम्भवतः सरकारले यहीसाता संसदीय निर्वाचनको मिति घोषणा गर्नेछ । अहिले प्रस्ताव गरिएको तीथिमिति अनुसार मंसिरको पहिलो साता चुनाव गराउन निर्वाचन आयोगले तयारी थालिरहेको छ । निर्वाचन भएलगत्तै नयाँ सरकार आउने छ । निर्वाचनपछि राजनीतिक स्थायित्व हुने छाँटकाँट त देखिएको छैन । तर, पनि केही सुधार होला कि भन्ने आमजनमानसमा झिनो आश छ । र, आगामी आम निर्वाचनमार्फत देशको बागडोर सम्हाल्न को आउँला भन्ने कौतुहलता पनि ।
अहिले पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बहिर्गमन गर्दै सत्तारोहण गरेका पात्र हुन् । र, उनलाई दरिलो साथ दिनेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अग्रभागमा थिए । अझ भनौं, प्रधानमन्त्रीको पद बोकेर प्रचण्ड-माधव बुढानिलकण्ढ नधाएको भए देउवा सायदै प्रधानमन्त्री बन्थे । तर जुनसुकै हालतमा ओलीलाई सत्ताबाट हटाउने उद्देश्य बनाएका प्रचण्ड-माधवकै कारण पाँच बर्षलाई प्रतिपक्षको भूमिकामा थन्किएका देउवाले पाँचौंपटक देशको नेतृत्व गर्ने सुनौलो अवसर पाए ।
आगामी निर्वाचनमार्फत पनि देउवा प्रधानमन्त्रीकै लाइनमा छन् । सत्तागठबन्धनकै बलमा छैटौंपटक प्रधानमन्त्री हुने देउवाकाे दाउ छ । तर यसपटक उनको प्रधानमन्त्री रेसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाधक बन्ने सम्भावना बलियो बनेको छ । किनकि पछिल्लो केही सातादेखि प्रचण्डले एकपटक र अन्तिमपटक देशको नेतृत्व गर्ने रहर सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘यो मेरो अन्तिम इनिङ्स हो । एकपटक फेरि देशको नेतृत्व गर्दै तमाम विकास निर्माण र सुशासनका क्षेत्रमा काम गरेर देखाउने मन छ ।’
यद्यपी यी दुवै पात्रको प्रधानमन्त्री बन्ने हुटहुटीमा अर्का बलिया दाबेदारका रुपमा रहेका एमाले अध्यक्ष ओली पहाड बनेर उभिनेछन् । पाँच दलीय गठबन्धन एकातिर हुँदा पनि स्थानीय तहको निर्वाचनमा पार्टीलाई दोस्रो बनाएका ओली आगामी निर्वाचनमार्फत फेरि प्रधानमन्त्री हुने रस्साकस्सीमा छन् । मुलतः यी तीन पात्रकै पेरिफेरीमा फेरि पनि मुलुकको नेतृत्व जाने सम्भावनाले डर पैदा गरेको छ ।
डर यसर्थमा कि, अब मुलुकले यी तीनै वयोवृद्धि नेताहरुबाट मुक्ति खोजेको छ । उनीहरु फेरि नेतृत्वमा आए देश यही हविगतमा चल्ने पक्का छ ।
३ दशकदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका ओली, प्रचण्ड र देउवा घुमिफिरी रुम्झाटारकै शैलीमा शासन गरिरहेका छन् । देउवा पाँचौंपटक प्रधानमन्त्री हुँदा प्रचण्डले दुईपटक देशको नेतृत्व गरेका छन् भने ओलीले त्यो अवसर तीनपटक पाएका छन् । दुर्भाग्य, फेरि तीन जनामध्ये एकजना प्रधानमन्त्री हुने पक्का छ ।
अहिलेका मुख्यशक्ति नेपाली कांग्रेस र एमाले भएपनि माओवादी निर्णायक भूमिकामा छ । निर्वाचनपछि पनि कांग्रेस र एमालेमध्ये एउटा दल पहिलो हुँदा माओवादी तेस्रो नै बन्नेछ । यदि यसो भएको अवस्थामा सरकार बनाउनका लागि ओली-देउवा दुवैलाई प्रचण्ड चाहिने छन् । प्रचण्ड जता उसकै सरकार बन्ने पक्का छ ।
यसलाई मध्यनजर गरेका प्रचण्डले अहिलेदेखि बार्गेनिङ गर्न थालेका छन् । उनले प्रधानमन्त्रीको दाबी देखाएर देउवालाई दबाब दिइरहेका छन् । तर देउवा यतिकै सत्ता त्याग्ने मध्येका पात्र होइनन् । तथापी आधा आधा कार्यकाल सरकार चलाउने गरि देउवालाई सहमतिमा ल्याउनु प्रचण्डको उद्देश्य देखिन्छ ।
यता देउवा त्यसका लागि तयार नभए प्रचण्ड ओलीतिर गएर मिल्ने हुनकि भन्ने त्रास पनि छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेका प्रचण्डले संसदीय निर्वाचनमा एमालेसँग तालमेल गर्दै पार्टी एकतासहितको सरकार बनाएका थिए । भलै, त्यो पार्टी र सरकार तीनबर्ष पनि टिक्न सकेन । यतिबेला प्रचण्डको नीति निकै स्पष्ट र सपाट छ, जसले प्रधानमन्त्रीको सुनिश्चितता गर्छ, उसैलाई तालमेलमा सहयोग गर्ने । यसर्थ अबको निर्वाचनपछि प्रधानमन्त्रीमा तीव्र बार्गेनिङ हुनेछ र त्यसको केन्द्रमा प्रचण्ड नै हुनेछन् ।
तर अहिलेको मुख्य प्रश्न यो होइन । अहिलेको आवश्यकता पनि यो होइन । अहिलेको आवश्यकता भनेको देशलाई नयाँ शिराबाट समृद्धितर्फबाट लैजान सक्ने नेतृत्वकाे हो । जुन ओली, प्रचण्ड र देउवाबाट सम्भव छैन । अब तीनै नेताले राजनीतिबाट विश्राम लिनुपर्छ र नयाँ नेतृत्वलाई अगाडि सार्नुपर्छ ।
उमेर, सक्रियता र पब्लिक इमेजको हिसाबले तीनै जनाले प्रधानमन्त्रीको दौड छोडनुपर्छ । राजनीतिक जीवनमा निकै ठुलो अवसर पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेका पात्र फेरि आउनु भनेको देश दूर्गतिमा जानु हो । किनकि गत निर्वाचनमा झण्डै दुई तिहाईको समर्थन पाएर हुँदाखाँदाको बहुमतसहित सरकारको नेतृत्व गरेका ओलीले कस्तो शासन गरे तपाईँ हामी भुक्तभोगी छौं । त्यसपछि आएको देउवा सरकार झनै नाजुक अवस्थाबाट चलिरहेको छ । बजेट निर्माणदेखि विचौलिया पोस्न गरेका अनेक हर्कतले देउवा बद्नाम बनेका छन् । देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमै अनधिकृत व्यक्ति घुसाएर करका दर हेरफेर गरेको, आरोप लागेपछि सीसीटीभी फुटेज नै गायब बनाएको विषयले मुलुकको शासन व्यवस्थामै प्रश्न उठाएको छ । त्यसको छानबिनका लागि बनेको संसदीय समितिले उनै शर्मालाई चोख्याउने गरि प्रतिवेदन दिएपछि जनमानसमा झनै वितृष्णा फैलिएको छ । किनकि सत्तापक्ष र प्रतिपक्ष सम्मेलित ११ सदस्यीय छानबिन समितिले शर्मालाई निर्दाेष सावित गरे पनि आमजनले शर्मालाई दोषी नै देखिरहेका छन् । यसको मुल कारण भनेको अर्थमा भएको अनर्थ ढाकछोप गर्न समितिले दिएको अपरिपक्क प्रतिवेदन हो ।
त्यसैले देशमा युगान्तकारी परिवर्तन ल्याउने अवसर पाएर पनि पटकपटक चुकेका ओली, देउवा र प्रचण्डबाट देशको भलाई सम्भव छैन भन्ने आमजनताको निष्कर्ष छ ।
कुनैबेला थियो, प्रचण्डप्रति आमजनताको विश्वास निकै थियो । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा प्रचण्डले माओवादीलाई पहिलो शक्ति बनाएर सरकार चलाउने अवसर पाएका थिए । जनयुद्धबाट भर्खरै आएको राप-ताप सेलाउन नपाउँदै ९ महिनामै प्रचण्डको सरकार ढल्यो । देउवालाई कुनैबेला राजाले असक्षमताकाे उपाधि दिएका थिए । त्यसयताका प्रत्येक कार्यकालमा देउवा असक्षम नै सावित भएका छन् । देउवालाई यतिबेला पार्टीभित्रैबाट तीव्र विवाद भोग्नु परेको छ । उनको फेरि पनि प्रधानमन्त्री बन्ने चाहनामाथि पार्टी नै बाधक बन्ने देखिएको छ । किनकि आगामी निर्वाचनमार्फत महामन्त्रीको जिम्मेवारीमा रहेका लोकप्रिय नेता गगनकुमार थापाले प्रधानमन्त्रीको दाबी गरेका छन् । देउवा पुस्तालाई स-सम्मान विदा गर्दै नेतृत्वमा नयाँ आउनुपर्ने भनाइसहित थापाले प्रधानमन्त्रीको तयारी गरिरहेका छन् । पार्टीभित्रको आशालाग्दो समूहले उनलाई समर्थन दिने पक्का छ । त्यसको दबाब सोझै देउवामा पर्नेछ ।
मुलतः अहिलेको शीर्ष नेतृत्वकै कारण राजनीतिक दलप्रति नै जनताको वितृष्णा बढ्दै गएको छ । जुन गएको स्थानीय तहको निर्वाचनमा पनि निकै देखियो । ठूला दलका ठूला उम्मेदवार हुँदाहुँदै पनि देशको राजधानी काठमाडौंदेखि पूर्वको शहर धरानसम्म जनताले स्वतन्त्रलाई जिताइदिए ।
त्यसैले पहिलो त आफ्नै पार्टी जोगाउनका लागि पनि उनीहरुले राजनीतिबाट विश्राम लिनुपर्छ । किनकि उनीहरुले लामो समयसम्म पद ओगटेकै कारण एउटा पुस्ताको जोसिलो उमेर नै गइसकेको छ । उनीहरुको क्षमता र भिजन टेष्ट नै हुन पाएको छैन । जसका कारण सबै पार्टीभित्र ठूलो विकृति मौलाउँदो छ । यसले अन्तर्घातसमेत बढिरहेको छ । अन्तर्घात किन भयो भनेर कुनै अध्ययन समिति नै बनाउनु पर्दैन । दलमा लामो समयसम्म एउटा व्यक्तिले पद ओगेटका कारण नै यो प्रवृति बढ्दै गएको हो भनेर बुझ्न सकिन्छ ।
दोस्रो, देशमा भ्रष्टाचार र कुशासन यति बढेको छ कि हाम्रा शीर्ष नेताले सम्हाल्न सक्ने अवस्था नै छैन । दलाल र भ्रष्टहरूको दवदवामा यति फसेका छन् कि त्यहाँबाट बाहिर आउन सक्ने अवस्था पनि देखिँदैन । त्यसैले अब प्रधानमन्त्री भएर जति नै परिवर्तन ल्याउँछु भन्ने तर्क गरे पनि त्यो सम्भावनाभन्दा बाहिरको कुरा हो । किनकि तोड्नै नसक्ने गरि विकृतिको सञ्जाल यीनै नेतृत्वले फैलाएका छन् ।
तेस्रो, यीनीहरुकै कारण युवा जगतमा राजनीतिप्रति वितृष्णा देखिएको छ । जसले गर्दा युवा शक्ति पलायन भइरहेका छन् । उनीहरूलाई देशमा नै राख्नका लागि पनि कुनै न कुनै रुपमा नयाँ राजनीतिक नेतृत्व ल्याउनु पर्ने देखिन्छ । अहिले देउवाकै निर्वाचन क्षेत्रमा गएर चुनाव लड्न कस्सिएका सागर ढकाल त्यसकै एक उदाहरण हुन् । र पूर्वप्रधानमन्त्रीहरुलाई यही निर्वाचनबाट हराउनुपर्छ भनेर चलिरहेको ‘नो नट अगेन’ अभियान पनि यसकै पटाक्षेप हो ।
अब उनीहरू पछिकाे विकल्प काे भन्ने प्रश्न पनि आउँछ । किनकि राजनीतिक दलका युवा नेताहरूप्रति त्यति भरोसा त छैन, तै पनि झिनो आशा भने छ । त्यसैले अहिले धेरै गर्न नसके पनि त्यही झिनो आशासहित सुरुआत यही निर्वाचनबाट गर्न सकिन्छ । किनकी देशको अर्थतन्त्रको हालत खराब छ, जुनसुकै बेला संकटमा पर्न सक्छ, त्यसलाई रोक्नका लागि पनि नयाँ र आशालाग्दो नेतृत्वको आवश्यकता रहेको छ ।
अब दाहाल, ओली र देउवाले पार्टी, कार्यकर्ता र जनताको भावनालाई कदर गर्दै राजनीतिबाट अलग र अभिभावक बन्नु नै राम्रो हुने आम बुझाई छ । उनीहरूले देशका लागि ठुलो योगदान गरेका छन् । ३० वर्षे पञ्चायती व्यवस्था ढाले, गणतन्त्र हुँदै देश संघीय प्रणालीमा गयो । लामो अनुभव र ज्ञान रहेकाले अब पार्टी र सरकार दुवैमा उनीहरु अभिभावक बन्न आवश्यक छ ।
अब उनीहरुले नयाँ नेतृत्वलाई पार्टी र सरकारको बागडोर सम्हाल्न सहयोग गर्ने हो । ओली, दाहाल र देउवाले पहिलेको गल्ती स्वीकार गरेकै होलान् । तर, अब आफ्नो नेतृत्वबाट देश पार लाग्दैन भन्ने बुझ्न र स्वीकार्न पनि अपरिहार्य छ ।
त्यसैले अब कुनै युवा नेतृत्व आउनुपर्छ र देशलाई अगाडि लैजानुपर्छ । यदि त्यसो हुन सकेन भने राजनीतिक दलहरूको भविश्य नै अन्धकारमा पर्नेछ ।
प्रकाशित समय : १३:११ बजे