moneygram ime

गृहपृष्ठ राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटवासी

राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटवासी

राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटवासी
citizen life insurance

म्याग्दीको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासी जुटेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले चासो लिएका हसनु ।

ज्यामरुककोटस्थित अर्जुन माविका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीको नेतृत्वमा शुक्रबारदेखि राजकुवाको मर्मत तथा सरसफाइको काम भइरहेको छ । स्थानीयवासी सहभागी भई राजकुवाको मर्मत तथा सरसफाइ गरेपछि ऐतिहासिक विरासत मानिएको सो कुवाले पुनर्जीवन पाएको छ । स्थानीयवासीले श्रमदान गरेर कुवा संरक्षण र सरसफाइ गरेका छन् ।

सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको ज्यामरुककोट राज्यका राजा भर्तिवम मल्लले पानी खाने गरेको सो कुवा जीर्ण अवस्थामा पुगेको थियो । ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणलेसमेत महत्वपूर्ण मानिएको ज्यामरुककोटमा राजकुवालगायत तत्कालीन समयका ऐतिहासिक सम्पदा रहेका छन् ।

यहाँ तत्कालीन समयमा युद्धका लागि प्रयोग गरिएका खुँडा, खुकुरी, तरबार, भाला, ढाल, छेलोलगायतका हातहतियारका साथै पुरातात्विक महत्वका इँटा, इनार, मौलो, दियोलगायत सामग्री छन् । सरंक्षणको अभावमा नामेट हुँदै जान थालेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारी तहबाट कुनै पहल नभएपछि स्थानीयवासी नै सक्रिय भएको अर्जुन मावि व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताए ।

अगुवा कार्कीका अनुसार मल्लको दरबार भएको स्थानमा निर्माण गरिएको खड्गभवानी कोतमा ५०० वर्ष पुराना ऐतिहासिक हातहतियारलगायत सामरिक र धार्मिक महत्वका सम्पदा छन् । पुरातात्विक र ऐतिहासिक महत्वका ती सम्पदाको संरक्षणमा स्थानीय तहले समेत खासै चासो नदेखाउँदा आफ्नो पहिचान नामेट हुने अवस्थामा पुगेकाले तिनको संरक्षणका लागि आफूहरु अगाडि सरेको स्थानीयवासी बताउँछन् ।

तत्कालीन राजा भर्तिवमले आफू र आफ्नो राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा ऐतिहासिक सम्पदा भए पनि त्यसको संरक्षणमा कसैको ध्यान नपुग्दा लोप हुने अवस्थामा पुगेको थियो । राजा भर्तिवमले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुई अलगअलग कुवा बनाइ एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंबदन्ती छ । सो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख भेटिएको छैन ।

ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बुढापाकाको भनाइ छ । ज्यामरुककोटका ९६ वर्षीय रणबहादुर कार्कीका अनुसार अन्यत्र खानेपानीका मुहान नहुँदा सात्लेपानीमा रहेको कुवामा ज्यामरुककोटका बासिन्दा पानी भर्नका लागि रातिदेखि नै लाइनमा बस्ने गर्दथे । तत्कालीन समयमा ज्यामरुकोट राज्यमा पानीको मुहान सुक्दै गएपछि राज्यमा पानीको अभावले मान्छे र पशुचौपायाँ मरणासन्न अवस्थामा पुगेकाले राजा भर्तिवमले आफ्ना दरवारियालाई पानी खोज्न लगाउने सात्लेपानीमा पानीको मुहान भेटाएपछि कुवा खन्न लगाएको भन्ने इतिहास छ । कुवा अहिले पनि पुरानैस्वरुपमा छ । कुवा वरिपरीको जमिन भासिन थालेकाले स्थानीय तहको पहलमा संरक्षण गर्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रकाशित समय १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank