गृहपृष्ठ ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर
ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर

काठमाडौँ महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।
ढल फुटेर रुद्रमती (धोबीखोला)मा मिसिन थालेको छ । ढल जाम भएर घर–घरमा छिर्न थालेको स्थानीयवासी रमेश डंगोलले गुनासो गरे । धोबीखोला कोरिडोर बनाउनुअघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ढल बिच्छ्याएको थियो ।
त्यसबेला गुणस्तरीय काम नभएकाले प्रत्येक वर्ष वर्षाद्का सयमा यो सडकमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । वडाध्यक्ष वीरेन्द्र प्रजापति कालोपुलसम्म ढल जाम हुँदा यस क्षेत्रमा समस्या भएको बताउँछन् । यस विषयमा अधिकार सम्पन्न बागमती समितिका इञ्जिनियरलाई जानकारी गराएर स्थलगत रुपमा पनि देखाएको उनले जानकारी गराए ।
अधिकार सम्पन्न बागमतीलाई देखाएको एक हप्ता पूरा भए पनि समस्या समाधानका लागि कुनै पहल भने भएको छैन । अधिकार सम्पन्न बागमतीले दुई दिनसम्म प्राविधिकलाई समस्या समाधानका लागि खटाएको जनाएको छ । समितिका सूचना अधिकारी कमल अर्याल त्यस क्षेत्रमा भूमिगत गरिएको विद्युतको लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको बताउँछन् । वर्षात्मा खोलामा पस्न नसकिने र ढलमा बालुवा भरिएकाले पनि पानी बाहिर आएको उनले सुनाए ।
प्रकाशित समय : १५:२४ बजे