गृहपृष्ठ राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो छ : प्रधानमन्त्री देउवा
राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताएका छन् ।
नेपाल इञ्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इञ्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशीला भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले मुलुकको वर्तमान आवश्यकतालाई मध्यनजर गरी इञ्जिनियरहरुले दिगो, वातावरणमैत्री र जनताको जीवनयापनमा गुणस्तर वृद्धि हुने गरी कार्य गर्न आवश्यक भएको बताए ।
नवीनतम विज्ञान र प्रविधिलाई देश सुहाउँदो हुने गरी आवश्यक पूर्वाधार निर्माणका माध्यमबाट देशलाई समृद्ध बनाउन इञ्जिनियनरहरु आगामी समयमा थप क्रियाशील हुनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न, जनताको आवश्यकता, चाहना र विश्वको अनुभव तथा रोजाइको परिकल्पनाअनुसारको विकास निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएका इञ्जिनियरहरुको आधुनिक राष्ट्र निर्माणमा योगदान रहेको पनि उल्लेख गरे । उनले इञ्जिनियरलाई थप क्षमतावान बनाउनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर आवश्यक सहयोग गर्न सरकार तयार रहेको छ भने । उनले पेशागत र व्यावसायिक मर्यादालाई कायम राख्न इञ्जिनियरलाई अनुरोध पनि गरे ।
प्रधानमन्त्री देउवाले इञ्जिनियरहरुले मुलुकको विकास निर्माणमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले इञ्जिनियर विकास निर्माणका अभियन्ता र परिवर्तनका संवाहक भएको बताए ।
प्रकाशित समय : १५:२५ बजे