गृहपृष्ठ नागरिक अधिकार सुनिश्चितता नै मुख्य काम : मन्त्री श्रेष्ठ
नागरिक अधिकार सुनिश्चितता नै मुख्य काम : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्तकमैया, कम्लहरी र हरुवाचरुवा परिवारको सामाजिक, आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्नका लागि मन्त्रालय लागिपरेको बताएकी छन् ।
आज यहाँ कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजना भएको कार्यक्रममा मन्त्री श्रेष्ठले नागरिकको जिउ धन र स्वतन्त्रताको संरक्षण गरी नागरिक अधिकार सुनिश्चितता नै आफ्नो मुख्य काम रहेकामा जोड दिइन् ।
सामाजिक न्यायका माध्ययमबाट हाल समाजमा रहेको विद्यमान धर्म संस्कार, मूल्य, मान्यता प्रथा परम्परालगायत अन्य कुनै पनि आधारमा हुने विभेद, शोषण र अन्यायको अन्त्य गरी समुन्नत समाज निर्माणमा पनि मन्त्रालयको जोड रहेको उनले बताइन् ।
‘वर्तमान सरकार सीमित साधन र स्रोतबीच पनि भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्दै पिछडा तथा सिमान्तकृत वर्गको सर्वोपरी हितका लागि लागि परिरहेको छ,’ उनले भनिन् । संविधानको व्यवस्थाअनुरुप नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लागि सरकालले राष्ट्रिय भूमि आयोगमार्फत् संविधानप्रद्धत्त हकअधिकारको कार्यान्वयनका लागि कार्य अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी गराइन् ।
कार्यक्रममा मुक्तकमैया, कम्लहरी, हलिया र हरुवाचरुवाको वस्तुस्थितिको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । प्रतिवेदनअनुसार जमिन पाउन योग्य ठहरिएका वा परिचयपत्र प्राप्त गरेका २७ हजार ५७० कमैया परिवारमध्ये हालसममा २५ हजार १९५ ले मात्र जमिन प्रप्त गरेको बताइएको छ ।
परिचयपत्र पाउन योग्य चार हजार ४६३ कमैया परिवारले पुनःस्थापनको काम थालिएको डेढ दशक हुन लाग्दासम्म परिचयपत्र पाउनबाट बञ्चित हुन परेको संविधानसभा सदस्य एवं अध्ययन कार्यदलका संयोजक श्याम श्रेष्ठले जानकारी गराए ।
प्रकाशित समय : १७:३३ बजे