Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

‘सेयरबाट करोडपति’पछि रविन्द्र भट्टराईको ‘सेयर मन्त्र’

न्युज कारोबार काठमाडौं माघ ५, २०७७       

‘सेयरबाट करोडपति’पछि रविन्द्र भट्टराईको ‘सेयर मन्त्र’
सेयर बजार विश्लेषक रविन्द्र भट्टराइले ‘सेयर मन्त्र’ नामक सेयर बजारसम्बन्धी नयाँ पुस्तक बजारमा ल्याएका छन् । आइतबार आमाको हातबाट फेसबुकमार्फत भट्टराइले पुस्तक सार्वजनिक गरेका हुन् । यो पुस्तकले सर्वसाधारणमा सेयर बजारसम्बन्धमा रहेका विभिन्न प्रकारका भ्रम चिर्ने भट्टराइको विश्वास छ । सेयर बजारमा पैसा बनाउन निकै चलाख हुनुपर्छ भन्ने भ्रम, सेयर र जुवाका बारेमा रहेको भ्रम, पोर्टफोलियो बनाउने कुरामा भ्रम, बजार घट्दा जोखिम हुन्छ भन्ने तथा महिलाले लगानी गरेर पैसा बनाउन सक्दैनन् र लगानी भनेको पुरुषले गर्ने हो भन्ने जस्ता भ्रम छन् । लगानीकर्ता वा सेयर बजारमा यस्ता अनेकौँ भ्रम फेलिएका या फैलाइएका छन् । यस्ता भ्रम चिर्न, लगानीप्रति सर्वसाधारणलाई प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनौट गर्न तथा पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ । अन्य पुस्तकभन्दा यो पुस्तक बिल्कुलै फरक भएको उनले बताएका छन् । भट्टराइले यसअघि नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, सेयरबाट करोडपति जस्ता सेयर बजारसम्बन्धी पुस्तक लेखिसकेका छन् । उनले सेयर बजारसम्बन्धी आशा नामको चलचित्र निर्माण र दोहोरी गीतसमेत ल्याएका छन्, यी चलचित्र र गीत युट्युबमा हेर्न सकिन्छ । सेयरबाट करोडपति सम्भवतः नेपालमा सर्वाधिक बिक्री भएको आर्थिक पुस्तक भएको उनले बताएका छन् ।

सम्बन्धित खबरहरु