Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

सेयर कारोबारका 'अपराधी'

न्युज कारोबार काठमाडौं असोज १४, २०७७       

सेयर कारोबारका 'अपराधी'
सेयर बजारमा निकै चर्चित शब्द हो- भित्री कारोबार (इन्साइडर ट्रेडिङ) । कम्पनीका गोप्य वा सार्वजनिक भइनसकेका सूचनामा पहुँच राख्ने तथा निर्णय प्रक्रियामा भाग लिने कर्मचारी तथा सञ्चालकहरुलाई भित्री सूचनामा पँहुच राख्ने वर्गमा राखिन्छ । धितोपत्र ऐन २०६३ को दफा ९२ ले कम्पनीका सञ्चालक, कर्मचारी, सेयरवाला वा सो कम्पनीलाई पेसागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेलाई भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिका रुपमा परिभाषित गरेको छ । अन्य कानुन जस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले यस्ता व्यक्ति र संस्थालाई सोही कम्पनीको सेयर कारोबार गर्न प्रतिबन्ध लगाएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२ ले बैंक वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन र लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित बैंक वा वित्तीय संस्थाको सेयर आफ्नो वा आफ्नो परिवारको सदस्यका नाममा खरिद गर्न वा भए बिक्री गर्न बन्देज लगाएको छ । यति मात्र नभई भएका सेयर धितो बन्धक राख्न पनि रोकेको छ । गोप्य सूचनालाई आधार मानेर नाफा आर्जन गर्ने वा घाटाबाट बच्ने गरी कारोबार गर्नुलाई भित्री सूचनाका आधारमा गरिने कारोबार भनिन्छ । यस्तो कारोबार भित्री सूचनामा पहुँच राख्नेबाट तथा भित्री सूचनामा पहुँच राख्नेलाई प्रयोग गरेर अन्य जोसुकैले पनि गर्न सक्छ । विश्व बजारमा यी कानुनी रुपमा दण्डनीय नै हुन्छन् । तर, भित्री सूचनामा पहुँच राख्नेले गरेका सबै कारोबारलाई गोप्य सूचनाका आधारमा गरिएको भित्री कारोबार भनिदैन । चाहे त्यो कम्पनीको कार्यकारी प्रमुखले कारोबार गरोस् वा कम्पनी सचिवले वा सञ्चालकले नै किन नहोस् । भित्री कारोबारका पनि दुई फरक व्याख्या छन्- भित्री सूचनामा पहुँच राख्नेबाट गरिने कारोबार र भित्री सूचनाका आधारमा गरिने कारोबार । भित्री सूचनामा पहुँच राख्नेले सूचनाको दुरुपयोग नगरी गरिने कारोबारलाई भित्री सूचनाकै आधारमा कारोबार गरेको भनेर व्याख्या गरिहाल्न सकिँदैन । अर्कोतर्फ हरेक समय कम्पनीमा सेयरको मूल्यलाई प्रभावित पार्ने सूचना हुन्छन् भन्ने छैन । यसैले भित्री सूचनामा पहुँच राख्नेले हरेक समय सूचनालाई नै प्रयोग गरेर सेयर बिक्री गरे वा बजारबाट किने भन्ने पनि हुँदैन । उदाहरणका लागि कम्पनीको लेखा शाखामा काम गर्ने कर्मचारीले ऋण तिर्नका लागि भएको केही सेयर बिक्री गर्न सक्छ तर तत्काल कम्पनीको वित्तीय अवस्थामा परिवर्तत आउने सूचना थिएनन् भने त्यो भित्री सूचनाकै आधारमा फाइदा लिने हिसाबले बिक्री गर्‍यो भन्ने अवस्था रहँदैन । यस्तो कारोबार गर्नबाट न बन्देज लगाइनु उचित हुन्छ न त यी कारोबार दण्डनीय नै हुन्छन् । अर्कोतर्फ भित्री सूचनामा पहुँच राख्नेहरुबाट गोप्य सूचना प्रयोग गरी नाफा आर्जन गर्ने वा घाटाबाट बच्न कारोबार गरेमा त्यसलाई भित्री सूचनाका आधारमा गरिएको कारोबार भनिन्छ । यी कारोबारलाई निगरानीमा राख्नुपर्छ र शंकास्पद देखिए छानबिनको दायरामा ल्याइनुपर्छ ।
विद्यमान नियम कानुन हेर्दा नियामक निकायले भित्री कारोबारलाई सही ढंगबाट परिभाषित गर्न सकेको पाइँदैन ।
विद्यमान नियम कानुन हेर्दा नियामक निकायले भित्री कारोबारलाई सही ढंगबाट परिभाषित गर्न सकेको पाइँदैन । नियामकले आफ्नो नियामकीय भूमिकालाई सजिलो बनाउन भित्री सूचनामा पहुँच राख्नेलाई एकमुष्ठ सेयर कारोबारमा बन्देज लगाएको छ । कानुनमा भएका यी व्यवस्थालाई हेर्दा नियामकमा बुद्धिमताभन्दा पनि क्रुरता बढी देखिन्छ । प्राथमिक निष्कासनमा कर्मचारीलाई छुट्याएको सेयर पाएका एक बैंकका व्यवस्थापकीय तहका कर्मचारीले दुखेसो पोखे, 'सेयर बजारका नजरमा हामी त पदमा रहुन्जेल अपराधी हुँदा रहेछौँ ।' मैले प्रश्न गरेँ- किन ? उनले भने, 'पदमा रहुन्जेल न भएको सेयर बेच्न पाइन्छ न त बजारबाट किन्न नै । किनिहाले वा बेचिहाले दण्डित भइन्छ । अनि त झन् महाअपराधी नै हुने भइयो ।' उनले भनेको सही हो । भित्री सूचनामा पहुँच राख्ने सबै अपराधी हुन्छन् भन्ने जस्तो व्यवहार हालको कानुनले गरेको छ । चाहे त्यो व्यक्तिगत आवश्यकताले सही मनसायबाट गरिएको कारोबार होस् वा गलत मनसायबाट गरिएका कारोबार हुन् । भित्री कारोबार र कारबाहीसम्बन्धी हालका कानुनी प्रावधान पुनरावलोकन गर्न जरुरी छ । कानुनमात्र नभएर सेयर कारोबार र सूचना प्रणालीलाई पनि परिमार्जन र व्यवस्थित गर्न आवश्यक देखिन्छ । कोही व्यक्तिसँग आफैँले काम गर्दै आएको कम्पनीको सेयर छ तर ऊ लेखा शाखामा काम गर्छ । यसको अर्थ अहिलेको कानुनअनुसार अब उसले सो कम्पनीमा रहुन्जेल र कम्पनी छाडेको एक वर्षसम्म सेयर बिक्री गर्न सक्दैन । उसले सो कम्पनीमा २५ वर्ष काम गरे २६ वर्षसम्म सेयर बेच्ने नपाउने भयो । उसलाई पैसाको जतिसुकै आवश्यकता भए पनि बिक्री गर्न सक्दैन न त धितो नै राख्न सक्छ । सेयर बिक्री गर्नकै लागि नचाहेर पनि जागिर छाड्नुपर्छ कि अन्य कम्पनीमा जानुपर्ने हुन्छ । धेरैले यसो गरेको पनि पाइन्छ । अमेरिका, क्यानडा जस्ता विकसित मुलुकका सेयर बजारमा यसरी भित्री सूचनामा पहुँच राख्नेहरुलाई सेयर कारोबारमा प्रतिबन्ध लगाएको पाइँदैन । बरु सोही कम्पनीको सेयर बिक्री गरे वा बजारबाट किने निश्चित दिनभित्र त्यसको जानकारी नियामक निकायलाई अनिवार्य गराउनुपर्छ, नगराए कारबाही हुन्छ । ठूलो जरिवाना तिर्नुपर्ने पनि हुन्छ । यसरी भित्री सूचनामा पहुँच राख्नेहरुले गरेका हरेक कारोबार विवरण सार्वजनिक गरिन्छ । सोही कारोबार प्रतिवेदनलाई हेरेर लगानीकर्ताले सेयर किनबेचको निर्णय गरिरहेको पाइन्छ । नेपालमा पनि भित्री सूचनामा पहुँच राख्नेहरुलाई सेयर कारोबार खुला गर्नुपर्छ । भएको सम्पत्ति बिक्री गर्न पाउने वा किन्न पाउने उनीहरुको अधिकार कुण्ठित गरिनु हुँदैन । उनीहरुले गरेको कारोबारबारे नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेमा निश्चित दिनभित्र वा कारोबार गरेकै दिन जानकारी दिने र सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्छ । शंकास्पद देखिए कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ । (सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।) यो पनि पढ्नुहोस्

सेयर बजार : जो कहिल्यै गुमाउँदैनन्

सम्बन्धित खबरहरु