Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

सुन र हिरा व्यवसायबाट ५ लाखलाई रोजगारी

न्युज कारोबार काठमाडौं माघ १४, २०७७       

सुन र हिरा व्यवसायबाट ५ लाखलाई रोजगारी
नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा कच्चा सुन र हिरा जवाहरातको आयातबाट भन्सारमा उल्लेखनीय रुपमा राजस्व संकलन भएको बताएकी छन् । उनले नेपालमा सुन र हिराबाट १५ देखि २० हजार जनाले व्यवसाय सञ्चालन गरिरहेको पनि जानकारी दिइन् । उनका अनुसार संघले प्रत्यक्ष रुपमा २ लाख र अप्रत्यक्ष रुपमा ३ लाखलाई रोजगारी दिएको छ । १ वर्षमा संघले १ अर्ब रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले बताए । उनले ६ लाख परिवार यसमा आश्रित रहेको पनि जानकारी दिए । तुलनात्मक रुपमा सरकारले गहनाबाट लाभ लिइरहेको उनको भनाइ थियो । संघको नयाँ नेतृत्व चयन भएसँगै संघले आगमी दिनमा गर्ने कार्ययोजना तयार पारेको छ । संघको नयाँ कार्यसमितिले सुनचाँदी दरभाउ सबै संगठनले एकैपटक र एउटै मूल्य तोक्नका लागि आवश्यक सहकार्य गर्ने जनाएको छ । संघका पदाधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलर घटबढको कारण नेपालमा सुनचाँदीको भाउ फरक-फरक हुने गरेको जनाउँदै त्यस विषयमा छलफल गरी एउटै बनाउन पहल भइसकेको छ । यसबाहेक आगामी संघले व्यवसायीहरुलाई पर्याप्त मात्रामा सुन उपलब्ध गराउन पहल गर्ने, गरगहना निर्माणका लागि तालिम सेन्टर सञ्चालन गर्ने, स्वदेशमै रोजगार सिर्जनामा संघले सरकारका विभिन्न योजनामा योगदान पुर्‍याउने कार्ययोजना तय गरेको छ । संघले आगामी दिन महिनाभित्र जेम ल्याब स्थापना गरी सञ्चालनमा ल्याउने जनाएको छ । यति मात्र नभएर संघले व्यवसायीको लागि आवश्यक कर्जा, पुनर्कर्जा तथा कर्जा पुनर्तालिकीकरणका लागि राष्ट्र बैंकसँग समन्वय गरिने भएको छ । संघको पहलमा नेपाली गरगहना निकासीका लागि hs code पनि पाइसकेको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यस्तै निकासीको सन्दर्भमा duty draw back का विषयमा पनि सरकार सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ । बैंकले मात्र सुन आयात गर्न पाउने परिपाटीको अन्त्य गर्दै अन्य व्यवसायीहरुलाई पनि सुन आयात गर्न दिनुपर्छ भन्ने संघको माग छ । संघका अनुसार नेपालमा ३५ देखि ४० किलोसम्म भए सुन पर्याप्त हुने जनाएको छ । त्यसमा पनि सिजनअनुसार सुनको माग हुने अध्यक्ष श्रेष्ठले बताइन् ।

सम्बन्धित खबरहरु