Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

लालाबालासहित दोलखा हिँडेका २१ जना लोकन्थलीमा अलपत्र

न्युज कारोबार काठमाडौं वैशाख ७, २०७७       

लालाबालासहित दोलखा हिँडेका २१ जना लोकन्थलीमा अलपत्र
राजधानीको बुढानीलकण्ठ नगरपालिकाको वडा नं ११ मा अस्थायी बसोबास गर्दै आएका २१ जना लालाबालासहित यतिखेर भक्तपुरको लोकन्थलीमा अलपत्र परेका छन् । ‘एक जनाले हामीलाई उद्धार गरेर पठाइ दिने सुनाएपछि बिहानै डेराबाट हिँडेका हौं, अहिले यहाँ आइपुगेपछि न यता जान सक्यौं, न उता,’ जिरीका दिक्पाल तामाङले भने । दोलखा हिँडेका टोलीमा १३ महिनाको बच्चा, बालबालिका, ७ जना महिलासहित २१ जना छन् । तीमध्ये केही रामेछापको दोरम्बाका समेत छन् । ‘हामी काठमाडौंमा ज्यामी, ज्यालादारी काम गर्दै आएका थियौं । घरबन्दीले काम पाउन छाड्यो, राहत पनि पाएन, खान पाएन अनि घर जान हिँडेको,’ तामाङले भने । आफूहरूले राहतका लागि ११ नंका वडाध्यक्षलाई पनि सम्पर्क गरेको तर उनले २–४ दिनपछि राहत लिएर आउँछौं भन्दै ढाँटेर नआएपछि रासन सकिएर हिँड्नु परेको बताए । यस सन्दर्भमा जानकारी लिन बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईसँग सम्पर्क गर्दा नगरपालिकामा यसबारे जानकारी नआएको बताए । उनीहरूले उद्धार गरेर घर लैजान जिरी नगरपालिका प्रमुख टंकबहादुर जिरेललाई पनि अनुरोध गरेका थिए । ‘हामीले ल्याउन त खोजेका हौं, तर जिल्ला प्रशासन कार्यालयले हामीलाई अनुमति नै दिएन,’ जिरेलले न्युज कारोबारसँग टेलिफोनमा भने । दोलखाका प्रदेश सांसद विशाल खड्काले यसअघि काठमाडौं बस्दै आएका दोलखालीलाई उद्धार गरेर घर पठाउने बताएका थिए । उनलाई फोन सम्पर्क गर्दा ‘म आफै बिमारी छु, अहिले अस्पतालमा भर्ना भएको छु, पछि कुरा गरौंला’ भनेर पन्छिए । यो समाचार सार्वजनिक भएपछि प्रतिनिधि सभाकी सांसद शान्ति पाख्रिनले आफूले उनीहरूका उद्धार गरेर दोलखा पठाउने प्रतिबद्धता जनाएकी छिन ।

सम्बन्धित खबरहरु