Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

रेड मर्करी पाउने भ्रममा पुरानो रेडियो-टिभी खोज्नेहरू बढे

न्युज कारोबार काठमाडौं कार्तिक ९, २०७७       

रेड मर्करी पाउने भ्रममा पुरानो रेडियो-टिभी खोज्नेहरू बढे
पुरानो काठका आवरण भएको रेडियो वा टेलिभिजनमा रेड मर्करी पाइन्छ भन्ने भारत हुँदै छिरेको हल्लापछि अहिले काठमाडौं, विराटनगरसहित देशका विभिन्न भागमा यस्ता रेडियो-टिभी खोज्नेका संख्या बढेको छ । विराटनगरका एक व्यवसायीका अनुसार करिब २ महिनायता भारततिरबाट आएका केही व्यक्तिले घर-घरमा पुगेर पुराना रेडियो-टिभी महँगो दाममा किन्ने भन्दै हिँडेका छन् । कम्तिमा ५ लाखदेखि ५० लाख रूपैयाँसम्म मूल्य पाइने भनिएपछि केही व्यक्तिहरू यसको खोजीमा गाउँघरतिरसम्म पसेका छन् भने केहीले सामाजिक सञ्जालमा विज्ञापनसमेत हालेका छन् । रेड मर्करी हल्लाका बारेमा साउथ एसिया चेकका लागि दीपक अधिकारीले तयार पारेको फ्याक्टचेकः केही दिनयता फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा पुरानो टिभी र रेडियोमा रेड मर्करी भनिने पदार्थ पाइने र त्यो बिक्री गरेमा ठूलो रकम हात पर्ने दाबी सहितका पोष्ट सेयर गरिएका छन् । “पुरानो टिभी रेडियोमा रेड मर्करी हुन्छ जुन एक ग्रामको करोडौँ रुपैयाँ आउँछ । युट्युबमा हेर्नुहोला,” मयुर श्रेष्ठ नाम गरेका फेसबुक प्रयोगकर्ताले रातो झोल पदार्थ भएको एउटा सानो सिलिन्डरको तस्बिरसहित सो सामग्री भए सम्पर्क गर्न भनेका छन् । एउटा ट्वीटर थ्रेडमा प्रतिक्रिया जनाउँदै सदिक्षा कार्कीले लेखेकी छन्, “फिलिप्स कम्पनी आफैले खोजेको रैछ । रेडियोमा प्रयोग भएको यो सामान दुर्लभ भएकाले जर्मनीदेखि पठाएर नेपाल र भारतमा यसको खोजीकार्य व्यापक गरिएको छ । कोहीसँग भए जानकारी पाउँ ।” त्यस्ता फेसबुक पोष्टमा अधिकांशले आफूसँग उक्त सामग्री भएको प्रतिक्रिया जनाएका छन् भने स्टाटस शेयर गर्ने प्रयोगकर्ताले सम्पर्क गर्न भनेका छन् । रेड मर्करी के हो ? [caption id="attachment_175624" align="alignright" width="700"] सामाजिक सञ्जालमा शेयर गरिएका रेड मर्करी सम्बन्धी पाेष्ट[/caption] रेड मर्करी सामाजिक सञ्जालमा दाबी गरिएजस्तो कुनै बहुमुल्य वस्तु नभई दशकौँदेखि फैलाइएको भ्रामक सूचना भएको पाइएको छ । यसको अस्तित्व बारेमा यकिन नभए पनि यो दशकौदेखि (खासगरी शीतयुद्ध यता) एक रहस्यमय पदार्थको रुपमा रहिआएको छ । सन् २०१९ मा बिबिसीमा प्रकाशित एक लेखमा सामाजिक संजाल र वेबसाइटमा यसको व्यापक माग भएको भन्दै विज्ञापन गरिएको उल्लेख छ । न्युयोर्क टाइम्स म्यागेजिनमा युद्ध संवाददाता सिजे चिभर्सको ‘द डुम्सडे स्क्याम’ शीर्षक लामो लेख प्रकाशित छ । उक्त लेखमा इस्लाम उग्रवादी आइसिसले समेत यसको खोजी गरेको विवरण छ । यी लेखहरुबाट के निष्कर्ष निकाल्न सकिन्छ भने, यस अप्रमाणित पदार्थलाई विभिन्न देशमा ठगहरुले सर्वसाधारणलाई ठग्नका लागि प्रयोग गरेका छन् । सन् २००७ मा चार जना वैज्ञनिकले गरेको रेड मर्करी सम्बन्धी अनुसन्धान साइन्स डाइरेक्ट नामक जर्नलमा ‘एनालिसिस अफ एन अब्जेक्ट एज्युम्ड टु कन्टेन रेड मर्करी’ शीर्षकमा प्रकाशित भएको थियो । उक्त शोधको निष्कर्षमा पनि प्राप्त नमुनामा रेड मर्करी भन्ने पदार्थ नपाइएको जनाइएको थियो । बेलायतस्थित एसआरएम नामक जोखिम मुल्यांकन र गुप्त सूचनाको क्षेत्रमा कार्यरत संस्थाका अनुसार अमेरिकी भौतिकशास्त्री स्यामुअल कोहेनजस्ता केहीले यसको अस्तित्व दाबी गरेपनि यसको चर्चा षड्यन्त्र सिद्धान्त फैलाउनेहरु माझ मात्र सीमित रहेको छ । नेपालीमा पारो भनिने मर्करी आणविक हतियार बनाउन प्रयोग हुने पदार्थ हो । लेदोजस्तो यो पदार्थले ठूलो मात्रामा ताप धान्न सक्छ । औषधोपचारका लागि पनि यसको प्रयोग गरिन्छ । गत सेप्टेम्बर महिनादेखि भारतमा यसबारे भ्रामक सूचना फैलिएको थियो । हिन्दी भाषामा सामाजिक सञ्जाल र युट्युबमा यसबारे विभिन्न सामग्री प्रकाशित गर्दै यसको मुल्य लाखौं पर्ने दाबी गरिएको थियो । भारतको फ्याक्टली नामक तथ्य जाँच गर्ने वेबसाइटले उक्त अफवाहको तथ्य जाँच गरेकाे छ । नेपालमा ‘नेपाली पुरानो पैसा’ नामक ५७ हजारभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुक ग्रुपमा यसबारे चर्चा गरिएको छ । पुराना सिक्का र नोटबारे पोष्ट शेयर गरिने उक्त फेसबुक ग्रुपमा रेड मर्करी भन्दै सानो बोतलमा रातो झोल भएको तस्बिर शेयर गरिएको छ । विभिन्न प्रयोगकर्ताले आफूसँग त्यो भएको वा किन्न इच्छुक भएको बताएका छन् । “रेड मर्करी नामक कुनै रसायन वा पदार्थ अस्तित्वमा छैन,” काठमाडौ इन्स्टिच्युट अफ एप्लाइड साइन्ससँग आबद्ध वैज्ञानिक बसन्त गिरीले साउथ एसिया चेकलाई बताए । “त्यो रातो रंगको तरल पदार्थ रेड डाई वा मर्करीको कुनै कम्पाउण्ड हुनसक्छ । तर यसको कुनै विशेष मुल्य छैन । बरु मर्करी मिसिएको पदार्थ विषालु हुनसक्छ ।” उनले थपे, “पुराना रेडियो वा टिभी जस्ता विद्युतीय सामानमा लिड (शिशा) जस्ता भारी सामग्री हुनसक्छन् । त्यस्ता विषालु सामग्रीलाई रिसाइकल गर्न सकिन्छ । तर ती बहुमुल्य होइनन् ।” (साभारः साउथ एसिया चेक/पानस साउथ एसिया)  

सम्बन्धित खबरहरु