Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

न्युज कारोबार काठमाडौं कार्तिक २७, २०७७       

मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना
मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । ती खेलाडीको अवस्था सामान्य रहेको छ । कोरोना देखिएपछि उनले बंगलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार बंगलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले अर्को खेल आगामी मंसिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो । त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । बंगलादेश उड्नु अघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बंगलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले सन् २०१८ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लोपटक बंगलादेशसँग खेलेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई पराजित गरेको थियो । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल ढाकामा रहेका छन् ।

सम्बन्धित खबरहरु