Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

प्राइम कमर्सियल बैँकको नाफामा ४० प्रतिशत वृद्धि

न्युज कारोबार काठमाडौं माघ १५, २०७७       

प्राइम कमर्सियल बैँकको नाफामा ४० प्रतिशत वृद्धि
प्राइम कमर्शियल बैँकले चालू आर्थिक वर्षको ६ महिनामा प्रतिकूल परिस्थितिका बाबजुद करिब ४० प्रतिशत नाफा बढाएको छ । बिहीबार सार्वजनिक दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैँकले १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५१ करोड २५ लाख रुपैयाँ अर्थात् ३९.४० प्रतिशत बढी हो । गत वर्षको पुससम्ममा बैँकले १ अर्ब ३० करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैँकको खुद ब्याज आम्दानी ७५ करोड ४ लाख रुपैयाँ बढेर २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सञ्चालन नाफा ७३ करोड ९३ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ सञ्चित छ । खुद नाफा बढे पनि बैँकको प्रतिसेयर आम्दानी भने बढ्न सकेन । गत वर्षको पुस मसान्तसम्ममा २३.१५ रुपैयाँ रहेको बैँकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा २२.५५ रुपैयाँमा झरेको छ । बैँकको प्रतिसेयर नेटवर्थ १३९.३३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १९.६० गुणा छ । बैँकको निक्षेप १ खर्ब १९ अर्ब ४४ करोडबाट बढेर १ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब १० अर्ब ४३ करोडबाट बढेर १ खर्ब १९ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैँकको आधार दर ९.४५ प्रतिशतबाट ७.८५ प्रतिशतमा र स्प्रेड दर ५.११ प्रतिशतबाट ४.२७ प्रतिशतमा झरेको छ ।

सम्बन्धित खबरहरु