Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

प्रदेश २ मा भ्रष्टाचारका धेरै उजुरी, कर्णालीमा कम

न्युज कारोबार काठमाडौं माघ ५, २०७७       

प्रदेश २ मा भ्रष्टाचारका धेरै उजुरी, कर्णालीमा कम
देशका सात प्रदेशमध्ये प्रदेश २ नेपालमै सर्वाधिक धेरै भ्रष्टाचारको उजुरी पर्ने प्रदेशका रूपमा देखिएको छ भने कर्णाली सबैभन्दा कम भ्रष्टाचारका उजुरी परेको प्रदेश बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशभरिका कुल भ्रष्टाचारका उजुरीमध्ये प्रदेश २ बाट मात्र झन्डै एक चौथाइ उजुरी पर्ने गरेका छन् भने प्रदेश तथा स्थानीय तहसम्बन्धी उजुरी (एक तिहाइभन्दा बढी) पनि प्रदेश नं २ नै अगाडि देखिएको छ । यसले प्रदेश २ मा भ्रष्टाचार बढेको इंगित गर्छ । अख्तियारको वार्षिक प्रतिवेदन-२०७७ अनुसार आर्थिक वर्ष २०७६/७७ मा १६ हजार ५९४ भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएकोमा प्रदेश २ का मात्र सरकारी सार्वजनिक निकायसँग सम्बन्धित उजुरी परेका थिए । प्रदेश तथा स्थानीय सरकारमातहत भएका भ्रष्टाचारसम्बन्धमा कुल ९ हजार २१० वटा उजुरी परेकोमा प्रदेश २ र त्यहाँका स्थानीय सरकार र मातहतका भ्रष्टाचारसँग सम्बन्धित उजुरीमात्रै ३ हजार ३० वटा थिए । अघिल्ला आर्थिक वर्षहरूबाट जिम्मेवारी सरेका उजुरीसमेत जोड्दा केन्द्रीय/संघ सरकार मातहतका सरकारी निकायसँग सम्बन्धित कुल २५ हजार ११२ उजुरीमध्ये प्रदेश २ मा रहेका त्यस्ता कार्यालयको भ्रष्टाचारसँग सम्बन्धित उजुरीमात्र ६ हजार ५ वटा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यसैगरी, प्रदेश तथा स्थानीय सरकारमातहतका कुल १३ हजार १३१ मुद्दामध्ये प्रदेश २ सँग सम्बन्धित मुद्दामात्रै ४ हजार ४४९ वटा छन् । प्रदेश २ पछि बागमती सर्वाधिक भ्रष्टाचार हुने दोस्रो प्रदेशमा परेको छ । संघ सरकार मातहतका कुल उजुरीमध्ये करिब २० प्रतिशत बागमती प्रदेशका सरकारी कार्यालयसँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा परेका उजुरीमध्ये बागमतीमा सरकारी कार्यालयसँग सम्बन्धित उजुरी ३ हजार ७०२ वटा छन् भने प्रदेश र स्थानीय सरकारसँग सम्बन्धित १ हजार २७७ वटा रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, भ्रष्टाचारको धेरै उजुरी परेका अन्य प्रदेशमा लुम्बिनीमा संघ सरकारमातहतका कार्यालयअन्तर्गतका उजुरी १ हजार ९७१, प्रदेश र स्थानीय सरकारसँग सम्बन्धित उजुरी १ हजार २६९ वटा छन् भने प्रदेश १ मा संघ सरकारमातहतका कार्यालयअन्तर्गतका उजुरी १ हजार ६७१, प्रदेश र स्थानीय सरकारसँग सम्बन्धित उजुरी १ हजार २२ वटा छन् । यस्तै, गण्डकीमा गत आर्थिक वर्षमा सरकारी निकायका भ्रष्टाचारबारे १ हजार १० उजुरी दर्ता भएका थिए भने , प्रदेश र स्थानीय सरकारसँग सम्बन्धित उजुरी ६८८ वटा उजुरी परेको अख्तियारले जनाएको छ । कर्णालीमा सरकारी निकायमातहत सबैभन्दा कम संघीय निकायका १ हजार १८ वटा तथा प्रदेश र स्थानीय सरकारसँग सम्बन्धित ७६५ भ्रष्टाचारका उजुरी परेको अख्तियारको प्रतिवेदनमा छ । सुदूरपश्चिममा भने गत आर्थिक वर्षमा संघीय निकायका १ हजार ४४२ प्रदेश र स्थानीय सरकारसँग सम्बन्धित १ हजार १७९ वटा उजुरी परेका छन् ।

सम्बन्धित खबरहरु