Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

नेपाल बैँकको नाफा घट्यो

न्युज कारोबार काठमाडौं माघ १५, २०७७       

नेपाल बैँकको नाफा घट्यो
नेपाल बैँकको खुद नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैँकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १९ लाख ७३ हजार रुपैयाँ कम हो । गत वर्ष ६ महिनामा बैँकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैँकको खुद ब्याज आम्दानी ८.२ प्रतिशत बढेर २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १७.९६ प्रतिशत बढेर २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा १५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ छ । बैँकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्षको पुससम्ममा २७.५७ रुपैयाँ रहेको बैँकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा घटेर २१.३७ रुपैयाँमा सीमित भएको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २५३.१८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १७.१२ गुणा छ । बैँकको निक्षेप ६ महिनामा १ खर्ब ४१ अर्बबाट बढेर १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै बैँकको निष्क्रिय कर्जा अनुपात २.६६ प्रतिशतबाट बढेर २.८८ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैँकको आधार दर ७.८२ प्रतिशतबाट ६.१९ प्रतिशत र स्प्रेड दर ४.४४ प्रतिशतबाट ४.३९ प्रतिशतमा झरेको छ ।

सम्बन्धित खबरहरु