Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

धितोपत्रको दोस्रो बजारलाई पूर्ण अनलाइन प्रणालीमा लगिने

न्युज कारोबार काठमाडौं जेठ १५, २०७७       

धितोपत्रको दोस्रो बजारलाई पूर्ण अनलाइन प्रणालीमा लगिने
सरकारले दोस्रो धितोपत्र बजारलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने भएको छ । करिब २ वर्षअघि उद्घाटन गरेर पनि अनलाइन प्रणालीमा जान नसकेको बजार कोरोनाभाइरस फैलिन नदिन गरिएको लकडाउनका कारण कारोबार बन्द गर्नुपरेपछि सरकारले पूर्ण अनलाइन प्रणालीको मन्त्रोच्चारण गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदका दुवै सदनमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै लकडाउनका लागि बन्द रहेको धितोपत्र बजारलाई यथासक्य चाँडो खुला गरी पूर्ण अनलाइन प्रणालीमा लैजाने बताएका हुन् । करिब २ वर्षअघि उनैले पाँचतारे होटलमा भव्यरूपमा उद्घाटन गरेको अनलाइन प्रणाली अझै स्वचालित रूपमा सञ्चालनमा आउन सकेको छैन । बजार पूर्ण अनलाइन प्रणालीमा सञ्चालन हुन नसकेका कारण बीचमा खोलिएको बजार दुई दिनमै बन्द गर्नुपरेको थियो । चैत ९ गतेदेखि बन्द भएको बजार वैशाख ३० र ३१ गते खोलेर बन्द गरिएको छ । त्यसयता धितोपत्र बोर्ड र नेप्सेले लगानीकर्तालाई बजारका विषयमा कुनै जानकारी दिएका छैनन् । लकडाउनका कारण ५० दिनपछि खुलेको सेयर बजारको पहिलो दिन एक घण्टा २६ मिनेटमा र दोस्रो दिन ३९ मिनेटमा नेगेटिभ सर्किट लागेको थियो । धितोपत्र बजार २ प्रतिशत वृद्धि वा ह्रास भएमा सर्किट लगाउने व्यवस्थासहित नियमित सञ्चालनमा ल्याइएकोमा सोही व्यवस्थाअनुसार दुवै दिनको कारोबार स्थगन गरिएको थियो । दुवै दिनमा कुनै पनि लगानीकर्ताले एक रुपैयाँ पनि कमाउन सकेका थिएनन् ।

सम्बन्धित खबरहरु