Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

तराजुमा जोख्ने हो भने ओली र प्रचण्ड दुवै बराबर : वामदेव गौतम

न्युज कारोबार काठमाडौं माघ १४, २०७७       

तराजुमा जोख्ने हो भने ओली र प्रचण्ड दुवै बराबर : वामदेव गौतम
नेपाल कम्युष्टि पार्टी (नेकपा)को विभाजनपछि दुवै पक्षमा नलागेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । उनले बुधबार काठमाडौंको एक पार्टी प्यालेसमा अभियानको घोषणा कार्यक्रम आयोजना गरी पार्टी एकताको अवधारणासमेत सार्वजनिक गरे । नेकपा व्यवहारिक रुपमा विभाजन भइसकेको बताउँदै गौतमले पार्टीको यस्तो अवस्था आउनुमा अध्यक्षद्वय नै बराबर दोषी रहेको आरोप लगाए । ‘पार्टी विभाजनको विषयमा तराजुमा हालेर जोख्ने हो भने दुवै अध्यक्ष बराबर हुन् । उहाँहरुको दोषमा कुनै घटीबढी छैन,’ उनले भने । पार्टीको हितका लागि आफ्नो भावना पनि दबाउनु पर्नेमा ओली र प्रचण्डले त्यस्तो त्याग गर्न नसकेको उनको भनाइ थियो । ‘प्रचण्ड र माधव नेपाल पक्षले पनि पार्टी फुटे फुटोस् भनेर अविश्वासको प्रस्ताव तयार गरेको हुन्,’ गौतमले भने, ‘पार्टीमा अल्पमतमा परेपछि ओलीले पनि राजीनामा दिनुपर्थ्यो । उहाँले पनि पार्टी फुटे फुटोस् भनेरै संसद विघटन गर्नुभयो ।’ अहिले पार्टीकै साथीहरुबीच सँगै बस्ने अवस्थासमेत नरहेको गौतमले बताए । नेकपाका कारण संसारभरका कम्युष्टिहरु रोएको उनको भनाइ थियो । अहिलेकै अवस्थामा चुनाव भए ओली र प्रचण्डले नेतृत्व गरेका दुवै समूह पराजित हुने गौतमले बताए । पार्टी विभाजनसँगै मत पनि बाँडिने भएकाले अबको चुनावमा ओली र प्रचण्डले नराम्ररी हार खाने उनको तर्क थियो । गौतमले गएको निर्वाचनमा दुई पार्टी मिलेर ठूलो जनलहरका साथ चुनाव लड्दासमेत नेपाली कांग्रेसले उल्लेख्य मत ल्याएको स्मरण गराए । ‘हामीले ४३ लाख मत प्राप्त गरेका थियौं । कांग्रेसले ३० लाख मत ल्याएको थियो,’ गौतमले भने, ‘अब हाम्रो मत बाँडियो भने साढे २१ लाख हुन्छ । कांग्रेस वा अर्को कुनै पार्टीले २२ लाखको अनुपातमा मात्र मत ल्यायो भने पनि हामी स्वतः पछाडि पर्छौं ।’

सम्बन्धित खबरहरु