Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

जिप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

न्युज कारोबार काठमाडौं माघ ४, २०७७       

जिप दुर्घटनामा दुईको मृत्यु, सात घाइते
पोखरा-बागलुङ राजमार्गमा शनिबार साँझ भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका १० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जिपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए । पोखरा २५ हेमजाबाट पोखरा बजारतर्फ आउँदै गरेको बा. २ च ७४१० नम्बरको जिप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जिप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको छ । दुर्घटनामा एक जनाको मृत्यु सुनसरीको इटहरी उपमहानगरपालिका १ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको को. ३२ प ६७१६ नम्बरको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को. १ ख ५५२७ नम्बरको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । मोटरसाइकलमै सवार धरान १० का साइल तुलाधर घाइते भएका छन् । (रासस)

सम्बन्धित खबरहरु