Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

एनसेलका ग्राहक लगातार घट्दै

न्युज कारोबार काठमाडौं मंसिर १, २०७७       

एनसेलका ग्राहक लगातार घट्दै
कुनै समयमा आक्रामक बजारीकरण गरेर नेपालको दूरसञ्चार बजारमा उदाएको संयुक्त लगानीको एनसेलले लगातार ग्राहक गुमाउन थालेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ । विगत एक वर्षमा मात्रै एनसेलका ग्राहक संख्यामा १४ लाख ६९ हजारले कमी आएको छ । एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद-बिक्री हुँदा भएको लाभकर छली विवादपछि यसका ग्राहकहरूमा लगातार कमी आउन थालेको हो । त्यसपछि पनि सो कम्पनीको खस्केको साख माथि उठ्न नसक्दा नयाँ ग्राहक थपिने क्रममा कमी आएको प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार विगत एक वर्षका अवधिमा नेपाल टेलिकमले ३२ लाख ५९ हजार ग्राहक गुमाएको छ भने एनसेलले १४ लाख ६९ हजार ग्राहक गुमाएका छन् । विगतमा दूरसञ्चार सेवा प्रदायकहरूले बेचेको सिमकार्डका आधारमा ग्राहक संख्या गणना हुने भए पनि प्राधिकरणको नयाँ व्यवस्थाअनुसार ६ महिनासम्म नचलेका सिमकार्ड निष्क्रिय गरी त्यो नम्बर नयाँ ग्राहकलाई बिक्री गरिँदा ग्राहक संख्यामा कमी आएको देखिएको हो । दूरसञ्चार प्राधिकरणका अनुसार २०७६ असोजमा नेपाल टेलिकमका ग्राहक २ करोड ३४ लाख ८ हजार ५६० जना भएकोमा २०७७ भदौमा यो संख्या २ करोड १ लाख ४९ हजार २०५ जनामा झरेको छ ।
यस्तै, २०७६ असोजमा एनसेलका ग्राहक १ करोड ६८ लाख १ हजार ४१ जना रहेकोमा २०७७ भदौमा यो संख्या १ करोड ५३ लाख ३१ हजार ८९० जनामा झरेको छ ।  यो एक वर्षका अवधिमा स्मार्ट टेलिकमले भने आफ्ना ग्राहकको संख्यामा ८५ हजारले वृद्घि गरेको छ । लकडाउनपछि चैतदेखि भदौसम्म टेलिकमका ग्राहक ५ लाख ४३ लाखले बढेको छ भने एनसेलका ग्राहक ९ लाख ६० हजारले घटेको प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार गत चैतमा टेलिकमका ग्राहक १ करोड ९६ लाख ५ हजार ९१० भएकोमा भदौमा २ करोड १ लाख ४९ हजार २०५ पुगेको छ भने एनसेलका ग्राहक गत चैतमा १ करोड ६९ लाख ६१ हजार ९८ जना रहेकोमा भदौमा १ करोड ५३ लाख ३१ हजार ८९० जनामा झरेको छ । फोनका ग्राहक पौने चार करोड
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालभरिको जनसंख्या भरखर ३ करोड १ लाख ४९ हजार पुगेको छ, यीमध्ये वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा करिब ४० लाख नेपाली लामो समयदेखि देश बाहिर रहेको अनुमान छ । तर, देशमा दूरसञ्चार सेवा प्रदान गर्दै आएका सेवाप्रदायकहरूले भदौ मसान्तसम्म ३ करोड ७६ लाख ४३ हजार ७५५ वटा सीम/फोन लाइन बेचिसकेका नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यो गत भदौ मसान्तसम्मको तथ्यांक हो । प्राधिकरणको तथ्यांकअनुसार कुल २ करोड १ लाख ४९ हजार ग्राहकसहित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) पहिलो स्थानमा छ भने १ करोड ५३ लाख ३१ हजार ८९० ग्राहकसहित निजी क्षेत्रको एनसेल नेपाल दोस्रो स्थानमा छ । टेलिकमले कुल बजार हिस्साको ५३.५३ प्रतिशत र एनसेलले ४०.७३ प्रतिशत बजार हिस्सा ओगटेका छन् । दूरसञ्चार बजारमा तेस्रो प्लेयरका रूपमा रहेको स्मार्ट टेलिकमका २१ लाख ५९ हजार ७७५ जनामात्रै ग्राहक छन् । युटिएल, हेलो नेपाल, सीजी टेलिकम (नेपाल स्याटेलाइट टेलिकम)जस्ता कम्पनीहरू प्राधिकरणलाई नवीकरण शुल्क नै नबुझाएका कारण अस्तित्वविहीन भएका छन् ।

सम्बन्धित खबरहरु