Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

उपत्यकाका अधिकांश खुला स्थान अतिक्रमित

न्युज कारोबार काठमाडौं माघ १४, २०७७       

उपत्यकाका अधिकांश खुला स्थान अतिक्रमित
२०७२ सालको भूकम्पका बेला अधिकांस मानिस घरबाट बाहिर निस्के, कोही नजिकको खुला चौरमा, कोही सडक पेटीमा, त कोही नदी किनारका खुला स्थानमा बसे । त्यसपछि सुरु भयो- खुला स्थानको बहस । २०७३ सालमा सरकारले उपत्यकका ८३ स्थानलाई खुला स्थानसमेत घोषणा गर्‍यो, तर रात बितेपछि बिर्सने नेपाली प्रवृत्तिको अनुशरण गर्दै उपत्यका अधिकांश खुला स्थान अतिक्रमणको सिकार भएका छन् । संयुक्त राष्ट्र संघीय आप्रवसान संगठन (आईओएम)का लागि गरिएको काठमाडौं उपत्यकामा मानवीय उद्देश्यका लागि पहिचान गरिएका ८३ खुला स्थानसम्बन्धि अद्यावधिक प्रतिवेदनले ४५ भन्दा अधिक खुला स्थान अतिक्रमण भएको देखाएको हो । खुला स्थानका रूपमा यसअघि सूचिकृत १० स्थानलाई त सूचीबाटै हटाइएको छ । २०७३ सालमा खुला स्थानका रूपमा पहिचान गरिएको समाज कल्याण परिषद्को लैनचौरस्थित कार्यालयलाई अहिले उपराष्ट्र निवास बनाएर सर्वसाधारणको पहुँचविहीन बनाइएको छ भने गौरचणस्थित गल्फ क्लबमा नेपाली सेनाले भवनसहितका अन्य पूर्वाधार बनाएर सर्वसाधारणका लागि पहुँचविहीन तुल्याइएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, यसअघि खुला स्थानका रूपमा पहिचान गरिएको चोभारस्थित हिमाल सिमेन्ट कारखानामा अहिले सुक्खा बन्दरगाह बनाउन थालिएको कारण त्यहाँ विपदका बेला उपयोग गर्न नसकिने अवस्था आएको छ । यस्तै, टुँडिखेलको खुला स्थलमा नेपाली सेनाले भवनसहितका अन्य पूर्वाधार बनाएका कारण खुला स्थान खुम्चिएको छ भने रत्नपार्क-खुलामञ्चमा अस्थायी र स्थायी दुवै किसिमका संरचनाले खुला स्थान खुम्च्याएको छ । प्रतिवेदनअनुसार चक्रपथ विस्तार भएर त्यसका ग्रिनबेल्ट, पेटीलगायतका क्षेत्रमा पूर्वाधार बनेका कारण यसअघि खुला स्थानका रूपमा पहिचान गरिएका चक्रपथका चारै स्थानलाई अब खुला स्थानबाट हटाइएको छ । यसरी नै पशुपतिस्थित खुला स्थानमा २० वटा जति स्थायी र अस्थायी भवन, संरचना, शवदाह गृह, पार्कजन्य संरचनालगायतका पूर्वाधार बनाएका कारण खुला स्थान खुम्चिएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, दशरथ रंगशाला, एन्फा परिसर, प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय सभागृह, भृकुटीमण्डपलगायतका खुला स्थान पनि भवनसहितका अन्य संरचना बनाएका कारण खुम्चिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार वितेको ५ वर्षभित्रमा अधिकांस खुला स्थान धेरै वा आंशिक रूपमा अतिक्रमणमा परेका छन् । स्कुल, क्याम्पस, विश्वविद्यालयलगायतका निकायले आफ्नो खुला स्थानमा नयाँ भवन र अन्य संरचना बनाएको पाइएको छ भने बागमती नदी किनार (करिडोर), पार्क (शंखपार्क, रत्नपार्क, नारायण चौर आदि)मा पनि स्थायी/अस्थायी भवनलगायतका संरचना बनाइ खुला स्थान कम गर्दै लगेका छन् ।  यसले आगामी दिनमा कुनै पनि विपदका घटना आइलागेमा आश्रय लिने खुला स्थानको संकट पर्ने देखिन्छ ।

सम्बन्धित खबरहरु