fbpx
corona information

गृहपृष्ठ कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन एक महिनाभित्रै : मुख्यमन्त्री शाही

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन एक महिनाभित्रै : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशको मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुने भएको छ । रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयसहित प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रस्तरमै विभाजन आएपछि अन्य प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेका बेला कर्णालीमा समेत मन्त्रिमण्डल हेरफेर हुन लागेको हो । आगामी एक महिनाभित्रै मन्त्रिपरिषद पुनर्गठन हुने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

नेकपामा अहिले प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड-नेपाल पक्ष गरी दुई खेमामा विभाजित छ । कर्णालीमा भने केन्द्रमा भन्दा पहिल्यै ओली पक्ष र प्रचण्ड-नेपाल पक्षको कित्ताकाँट भइसकेको थियो । केही सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै नेकपामा दुई पक्षबीच दुरी बढेको थियो । अविश्वासको प्रस्तावबाट पूर्व एमालेका तर्फबाट निर्वाचित माधव नेपाल पक्षका सातजना सांसदले हस्ताक्षर फिर्ता लिएसँगै कर्णालीमा मुख्यमन्त्री बहुमतमा थिए । अहिले केन्द्रको विवादले कर्णालीको मन्त्रिपरिषद् पुनर्गठनमा झनै सहजता ल्याएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री शाहीले दुईवटा मन्त्रालय आफूले सम्हाल्नुपरेको भन्दै तत्काल मन्त्रिपरिषद् पुनर्गठनको आवश्यकता रहेको बताए । ‘कर्णालीमा बहुमतको सरकार छ । अब हामी तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्छौं,’ उनले भने । अहिले नै कसलाई झिक्ने र कसलाई राख्ने भन्ने विषयमा टुंगो लागिनसकेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पनि यसलाई पुनस्र्थापनाका लागि आफूहरुले विभिन्न समयमा संघर्ष गरिरहेको पनि मुख्यमन्त्री शाहीले जानकारी गराए । ओलीको कदम देशका लागि घातक भएको भन्दै मुख्यमन्त्री शाहीले भने, ‘न्यायालयले देशलाई ठुलो दुर्घटना हुनबाट बचाउने विश्वास छ ।’

वैधानिक रुपमा नेकपा विभाजन नभएको समेत उनले बताए । आगामी वैशाखमा प्रधानमन्त्री ओलीले तोकेको निर्वाचनप्रति लक्षित गर्दै मुख्यमन्त्री शाहीले चुनावप्रति जनताको विश्वास नभएको बताए । ‘पार्टी एक भएर जानुपर्छ । पार्टी विभाजन भए स्पष्ट बहुमत कसैको पनि आउँदैन,’ उनले थपे । उनले कर्णालीमा बहुमतको सरकार भए पनि अल्पमतको सरकार चलाउनु परेको दुखेसो पोखे । नेकपा स्थायी कमिटी सदस्य तथा पार्टीका कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले पनि सोमबार एक कार्यक्रममा बोल्दै तत्काल कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । उनले कर्णालीको मन्त्रिपरिषद असमावेशी भएको पनि उल्लेख गरेका थिए ।

कर्णालीमा प्रचण्ड-नेपाल समूहको स्पष्ट बहुमत छ । प्रदेशसभाका ४०सांसदमध्ये २२ जना प्रचण्ड-नेपाल पक्षनिकट छन् । बाँकी १८ जना मध्ये ६ जना प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र एकजना राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद हुन् । प्रदेश सभामुख राजबहादुर शाहीसहित ११ जना सांसद भने ओली पक्षधर छन् । ओली पक्षधर सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढा भने नेपाल पक्षमा प्रवेश गरेका छन् ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु