गृहपृष्ठ २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय
२९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले यसै मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी रुपमा प्रदर्शन गर्ने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांगेसले सरकारले देश र जनताको हित विपरित काम गरेको भन्दै विरोध स्वरुप प्रदर्शन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार वर्तमान कम्युनिष्ट सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड १९ को अव्यवस्थापनको पर्यायवाची बनेको छ । यी विषयहरुमा नेपाली कांग्रेसले निरन्तर रुपमा सरकारलाई खबरदारी गर्दै आएको छ । यसका वावजुद देशमा यी प्रवृत्तिहरु घट्नुको साटो बढ्दो छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस एकातर्फ कम्युनिष्ट सरकारको अधिनायकवादी चिन्तन र ब्यवहारका विरुद्ध संघर्षरत छ भने अर्कातर्फ प्रतिगमनका आकांक्षाहरु र सबै खाले भ्रष्टाचार एवं बेथिति विरुद्धमा एक ढिक्का रहेर सडक देखि संसदसम्म प्रस्तुत हुन लाग्दैछ । बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेकोे तथ्यमा हामी प्रष्ट छौं ।’
यसै सन्दर्भमा नेपाली कांग्रेसको बैठकले दुई निर्णय सार्वजनिक गरेको छ । तनहुँ जिल्लामा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड-१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकन भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध यहि मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने र राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने जनाएको छ ।
प्रकाशित समय २०:१३ बजे