fbpx
corona information

गृहपृष्ठ प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह

प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न नेपाली कांग्रेसले आग्रह गरेको छ । ‘वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली कांग्रेसले व्यक्त गरिआएको समीक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले पुष्टि गरेको नेपाली छ,’ कांग्रेसद्वारा शनिबार जारी विज्ञप्ति उल्लेख छ ।

‘पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद त छ नै भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेको स्थिति देशकै लागि लज्जास्पदसमेत छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अत्यन्तै अनिवार्य भएको छ,’ कांग्रेसको माग छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भनेर अभिव्यक्ति दिने अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउंछ भन्ने मान्यतालाई पुष्टि गर्न तर्फ लाग्ने अनि भ्रष्टाचार विरुद्ध उठेका आवाजलाई पुर्वाग्रहपूर्ण देख्ने यस्तो प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिन्छ ।’

‘वाइडबडी, बालुवाटार, यतिदेखि सेक्युरिटी प्रिन्टिङ प्रेस हुँदै स्वास्थ सामग्री खरिदसम्ममा भएको भ्रष्टाचार प्रकरणउपर निष्पक्ष छानबिन र कडा कार्वाहीका लागि नेपाली कांग्रेसले विगतदेखि नै संस्थागत निर्णयहरुका साथ माग राख्दै आएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनले हाम्रा ती माग तथ्यपूर्ण रहेकोे पुष्टि गरेको छ,’ कांग्रेसको दाबी  छ ।

स्वदेशी लगानीमा निर्माण गर्न सकिने अध्ययन कार्यदलको निष्कर्षका आधारमा अघिल्लो सरकारले निश्चित गरेको बुढी गण्डकी जलविद्युत परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पन वर्तमान सरकारले तारतम्य मिलाएको आरोप लगाउँदै कांग्रेसले पछिल्तिरको अपारदर्शीता र अनियमितता अब गम्भीर छानबिनको दायरामा ल्याइनुपर्ने टड्कारो आवश्यकता देखिएको औंल्याएको छ ।

प्रतिपक्ष ,आम सञ्चार माध्यमदेखि ट्रान्सपरेन्सी इन्टरनेशनल सम्मले मात्रै नभएर पछिल्लो एक वर्षमा भ्रष्टाचार व्यापक वृद्धि भएको बुँदागत तथ्य स्वयं नेकपाभित्रै समेत लिखित रुपमै प्रस्तुत भइसकेको स्थितिमा भ्रष्टाचारका विरुद्ध अझ प्रखर आवाज उठ्न, उठाउन र तीव्र दबाब सृजना गर्न जरुरी रहेकाले सालिन ढंगले जारी नेपाली कांग्रेसकाे प्रस्तुतिलाई क्रमशः सशक्त बनाउँदै अघि बढ्न पार्टी दृढ प्रतिबद्ध रहेको प्रवक्ता एवंसूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु